अमेरिका र चीनबीच आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रतिस्पर्धा एक्कासि तीव्र भएको छ। महँगा र अत्याधुनिक चिप्सको अभावमा चीन एआई विकासमा पछि पर्ने अमेरिकाको आकलन एकाएक तोडिएको छ।
यो तोड्ने काम एआईको दुनियाँमा नामै नसुनिएको चिनियाँ स्टार्टअप कम्पनी 'डिपसिक' ले गरेको हो। डिपसिकको उदयसँगै एआईमा अमेरिकाको वर्चस्व कायम रहने हो वा होइन भन्नेमै प्रश्न खडा भएको छ। अमेरिका र चीनबीच लामो समयदेखि चलिआएको प्रतिस्पर्धा झनै तीव्र भएको छ।
अमेरिकाले प्रतिबन्ध लगाएर चीनलाई उच्च गुणस्तरका चिप्स किन्न दिएको थिएन। तर अर्बौं डलर खर्च गरेका प्रतिद्वन्द्वीकै क्षमताको एआई मोडल चीनले ल्याइदिएपछि अमेरिकामा चिन्ता छाएको छ। डिपसिकको उदयलाई विश्लेषकहरूले तत्कालीन सोभियत संघले सन् १९५७ मा स्पुतनिक भू-उपग्रह अन्तरिक्षमा पठाएर अन्तरिक्ष-दौडमा अग्रता हासिल गरेको घटनासँग तुलना गरेका छन्।
डिपसिकको सफलताबाट अमेरिकाको राष्ट्रिय सुरक्षामा पर्न सक्ने प्रभावलाई अमेरिकी सरकारको राष्ट्रिय सुरक्षा परिषदले नियालिरहेको ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केरोलाइन लेभिटले बताएकी छन्।
डिपसिकले अमेरिकालाई सन्देश दिन राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहणको अवसर पारेर जनवरी २० मा सोचेर उत्तर दिने लार्ज ल्यांग्वेज मोडल (एलएलएम), आर-१ जारी गरेको थियो। निःशुल्क प्रयोग गर्न मिल्ने आर-१ अमेरिकी प्रतिद्वन्द्वीहरू ओपनएआई र मेटाका एआई जत्तिकै लोकप्रिय भएको छ। अमेरिका, चीन र कतिपय युरोपेली देशमा एप्पल एपस्टोरबाट सबभन्दा धेरै डाउनलोड गरिएको निःशुल्क एपको सूचीमा डिपसिकले ओपनएआईको च्याट जिपिटीलाई पनि जितेको छ।
तानाशाही कम्युनिस्ट व्यवस्थामा गोपनीयता र मानव अधिकारका कडा प्रावधान नभएकाले चिनियाँ कम्पनीहरू अनुहार चिन्ने एआई प्रविधि (फेसियल रिकग्निसन) मा अब्बल मानिन्छन्। तर डिपसिकले सोचेर उत्तर दिने सक्षम एलएलएम ल्याएपछि सबैलाई आश्चर्यमा पारेको हो।
डिपसिकको सफलताले अमेरिकी सेयर बजारमा पनि तहल्का मच्चिएको छ। एआई प्रविधिमा काम गर्ने ठूला अमेरिकी कम्पनीको सेयर मूल्य सोमबार एक दिनमै झन्डै १० खर्ब डलरले घटेको थियो। एआई प्रविधिका लागि उच्च गुणस्तरको चिप्स बनाउने अमेरिकी कम्पनी एनभिडियाको सेयर मूल्य एक दिनमै ५ खर्ब ८९ अर्ब डलर (लगभग १७ प्रतिशत) घटेको थियो। यो कुनै पनि कम्पनीका लागि एक दिनमा आएको अहिलेसम्मकै ठूलो गिरावट हो।
सुरूआती दिनमा एनभिडियाले भिडिओ गेमका लागि चिप्स बनाउँथ्यो। जब यसका चिप्स एआई प्रविधि विकासमा प्रयोग हुन र अब्बल मानिन थाले, तब यसको सेयर भाउ पनि बढ्न थाल्यो। विगत पाँच वर्षमा दस गुणाभन्दा धेरैले बढेको छ। त्यसैले उसले अहिलेको यो नोक्सानी बेहोर्न सक्छ। तर लामो समय सेयर मूल्य घटिरहने हो कि भन्ने डर बढाएको छ।
अब करा गरौं, डिपसिकले कसरी यस्तो सफलता हासिल गर्यो? सो सफलताले किन यस्तो हलचल ल्यायो? र, यसले विश्वमा पार्न सक्ने प्रभाव के हुन्?
चीनले अमेरिकाको जति नै ठूलो नभए पनि पछिल्ला वर्षमा एआई क्षेत्रमा धेरै लगानी गरेको छ। धेरैले चिनियाँ कम्पनी अलिबाबा, बाइडु, टेन्सेन्ट, हुवावे वा शाओमीले अमेरिकालाई टक्कर दिने अपेक्षा गरेका थिए। तर कम खर्चमा डिपसिकले अमेरिकी मात्र होइन, चिनियाँ प्रतिस्पर्धीलाई समेत पछि पारेको हो।
फाइनान्सियल टाइम्सका एक स्तम्भकारले यसलाई तत्कालीन सोभियत संघसँगको अन्तरिक्ष-दौडका बेला अमेरिकाले जिरो ग्र्याभिटीमा चल्ने बलपेन (डटपेन) बनाउन दसौं लाख डलर खर्चेको मिथकसँग तुलना गरेका छन्। हिन्दी फिल्म 'थ्री इडियट्स' हेर्नुभएको छ भने त्यसमा बोमन इरानीले त्यस्तै बलपेन देखाएको दृश्य याद होला। अमेरिकाले दसौं लाख डलर खर्चेर बलपेन बनाउँदा सोभियत संघले भने आमिर खानले सल्लाह दिए जस्तो पेन्सिलले काम चलाएको थियो।
अहिले भएको यस्तै हो — अमेरिकीले धेरै खर्च गरेर बनाएको एआईले जत्तिकै काम गर्ने मोडल डिपसिकले पेन्सिलको भाउ जस्तै सस्तोमा बनाइदियो!
डिपसिकलाई देखेर चिनियाँ कम्पनी समेत दबाबमा परेका छन्। अलिबाबाले चिनियाँ नयाँ वर्षको दिन अवसर पारेर 'क्वेन २.५' एआई म्याक्स मोडल सार्वजनिक गर्यो। यसले डिपसिकको भी ३ मोडल, च्याट जिपिटी- ४ ओ लगायत सबैलाई पछि पारेको दाबी गरेको छ। डिपसिकको आर १ मोडलभन्दा राम्रो कि नराम्रो भनेर चाहिँ खुलाएको छैन।
डिपसिकले गत मेमा भी-२ मोडल सार्वजनिक गर्दै यसका प्रयोगकर्ता कम्पनीलाई ज्यादै कम शुल्क घोषणा गरेको थियो। यसपछि चिनियाँ कम्पनीबीच मूल्य घटाउने युद्ध चल्यो। सस्तोमा तयार भएको डिपसिकसँग प्रतिस्पर्धा गर्न त्यति बेला अलिबाबाले आफ्नो मूल्य ९७ प्रतिशत घटाउनुपरेको थियो।
४० वर्षीय हेज फन्ड उद्यमी लियांग वेनफेंगले सन् २०२३ मा डिपसिक स्थापना गरेका हुन्। बेलायती पत्रिका द गार्डियनका अनुसार गणितमा अब्बल लियांगले चीनको प्रतिष्ठित झेजियाङ विश्वविद्यालयमा इलेक्ट्रोनिक-इनफर्मेसन इन्जिनियरिङ पढेका हुन्।
पढाइ अनुसार उनले सफ्टवेयर कम्पनीहरूमा प्रोग्रामरको जागिर गर्न सक्थे, तर एआईमा ध्यान केन्द्रित गरे। सन् २०१५ मा कलेजका दुई साथीसँग मिलेर हाई-फ्लायर क्यापिटल नामक हेज फन्ड खोले। एआई प्रयोग गरेर सेयर बजारको व्यवहार विश्लेषण गरे। त्यसै अनुसार लगानी गरी पैसा कमाए। त्यही पैसाले उनले डिपसिक कम्पनी खोलेका हुन्।
डिपसिकको सफलताको एक कारण यो व्यावसायिक र नाफा केन्द्रित नभएर अनुसन्धान केन्द्रित संस्थाका रूपमा विकास हुनु हो। अनि यति चर्चा पाउनुको कारण थोरै लगानी र थोरै संख्यामा उच्च गुणस्तरको चिप्स प्रयोग हुनु हो। यसको एआई मोडलबारे तालिम गर्न ६० लाख डलरभन्दा कम खर्च गरिएको थियो। यसमा करिब दुई हजार वटा एनभिडियाको उच्च गुणस्तरका चिप्स छन्। जबकि अमेरिकी कम्पनीका मोडल तालिम गर्न दसौं गुणा धेरै खर्च र कम्तीमा १६ हजार वटा चिप्स लाग्छ।
फरेन पोलिसी पत्रिकाले डिपसिकको प्रेस विज्ञप्ति औंल्याउँदै त्यति पैसा मोडलको तालिममा मात्रै खर्च गरिएको र अनुसन्धान, उपकरण, कर्मचारीको तलब लगायत खर्च नजोडिएको बताएको छ। तर सबै जोड्दा पनि डिपसिकको लगानी प्रतिस्पर्धी कम्पनीको भन्दा धेरै कम रहेको विश्लेषकहरू दाबी गर्छन्।
अर्कातिर, डिपसिकले त्यति थोरै चिप्सबाट त्यति सक्षम एआई मोडल कसरी बनायो भनेर सबै चकित छन्। चिप्सको भरपुर उपयोग हुने तरिका अपनायो भन्ने अनुमान गरे पनि ठ्याक्कै के गर्यो भन्ने खुलेको छैन।
अमेरिकाको वाल स्ट्रिट जर्नल पत्रिकाले यसमा थप अनुमान गरेको छ।
उसले उदाहरण दिँदै च्याट जिपिटीलाई पुस्तकालयका सबै किताब पढेको लाइब्रेरियन भनेको छ। त्यसैले प्रश्न सोध्दा यसले पढेका धेरै किताबका आधारमा सही जबाफ दिन्छ। तर यो प्रक्रियामा धेरै समय र पैसा खपत हुन्छ। ती किताब पढ्न बिजुली धेरै खाने धेरै चिप्स लाग्छन्।
डिपसिकले भने सबै किताब पढेको छैन। तर प्रश्न सोधेपछि सही जबाफका लागि कुन किताब खोज्ने भनेर उसलाई तालिम दिइएको छ। सबैथोक जान्ने एउटा लाइब्रेरियनलाई तालिम दिनुभन्दा उसले निश्चित क्षेत्रका विज्ञको समूह बनाएको छ। यी विज्ञलाई छुट्टाछुट्टै तालिम दिँदा खर्च र कम्प्युटरको काम दुवै कम हुन्छ। अनि प्रश्नको जबाफ चाहिँ च्याट जिपिटीको जस्तै सही दिन्छ।
यसरी मितव्ययी तरिकाले काम गर्ने मोडल बनाउन लियांगले एकदमै आकर्षक तलब दिएर भर्खर पढाइ सकेका वा अन्त धेरै काम नगरेका अब्बल इन्जिनियर भेला पारेका छन्। अनुभवी मान्छे राख्यो भने उसले कुनै काम यसरी गर्नुपर्छ भनेर फ्याट्ट आफ्नो कुरा राख्छ। लियांगलाई भने सबै काम नयाँ, अझ प्रभावकारी र किफायती रूपमा गर्नु थियो। इन्जिनियर मात्रै नभएर आफ्नो मोडलले राम्रो काम गरोस् भनेर उनले अब्बल साहित्यकार र अरू क्षेत्रका ज्ञाता पनि भर्ना गरेका थिए।
अहिले अर्को प्रश्न पनि उठेको छ — अमेरिकाले गुणस्तरीय चिप्स नबेचे पनि डिपसिकले कसरी आफ्नो मोडललाई प्रशिक्षण दिने चिप्स पायो?
द वाल स्ट्रिट जर्नलका अनुसार एआईका सोखिन लियांगले तत्कालीन राष्ट्रपति जो बाइडेनले सन् २०२२ मा प्रतिबन्ध नलगाउँदै महँगा चिप्स किनिसकेका थिए। त्यो बेलासम्म उनको हाई-फ्लायर कम्पनीले धेरै पैसा कमाइसकेको थियो। त्यसैले खास नचाहिने भए पनि एनभिडियाका १० हजार वटा महँगा चिप्स सन् २०२१ मै किनेको उनको दाबी छ। धेरै पैसा हुने मान्छेले घरमा पियानो किन्छन् भन्ने उदाहरण दिँदै उनले पैसा र चिप्स 'बजाएर संगीत निकाल्न' आतुर इन्जिनियर भएकाले किनेको जिकिर गरेका छन्।
अमेरिकी मिडियाहरूले भने एनभिडियाले व्यापारिक लाभका लागि प्रतिबन्ध राम्ररी लागू नगरेकाले डिपसिक लगायत चिनियाँ कम्पनीलाई एआई मोडल विकास गर्न सजिलो भएको भनेका छन्।
अमेरिकाले सुरूमा शक्तिशाली एच-१०० चिप्समा प्रतिबन्ध लगाएको थियो। एनभिडियाले प्रतिबन्ध मापदण्ड उल्लंघन नगर्ने गरी चीनलाई बेच्न झन्डै त्यति नै शक्तिशाली एच-८०० चिप्स बनायो। सन् २०२३ मा यो चिप्समा पनि अमेरिकाले प्रतिबन्ध लगायो। प्रतिबन्ध लाग्न सक्ने ठानेरै चिनियाँ कम्पनीले सो चिप्स किनेर जम्मा पारेका हुन सक्छन्। वा प्रतिबन्ध लागेपछि पनि छलेर किनेका हुन सक्छन्।
डिपसिकले आफ्नो मोडलमा २ हजार ४८ वटा एच-८०० चिप्स प्रयोग गरेको दाबी गरेको छ। कतिपयले भने उसले आफ्नो मोडलबारे सबै कुरा नखुलाई ढाँटेको हुन सक्ने भनेका छन्।
अर्कातिर डिपसिकले ओपनएआईको डाटा अनधिकृत रूपमा पाएको र प्रयोग गरेको हो कि भनेर ओपनएआई र उसको सबभन्दा ठूलो लगानीकर्ता माइक्रोसफ्टले छानबिन थालेको ब्लुम्बर्गले लेखेको छ।
गत वर्ष केही व्यक्तिले ओपनएआईको एप प्रोग्रामिङ इन्टरफेस प्रयोग गरेर ठूलो मात्रामा डेटा पठाएको माइक्रोसफ्टका सुरक्षा अनुसन्धानकर्ताले देखेका थिए। त्यसबारे ओपनएआईलाई खबर पनि गरिएको थियो। तिनै व्यक्ति डिपसिकसँग सम्बन्धित छन् कि भनेर ओपनएआई र माइक्रोसफ्टले छानबिन थालेका ब्लुमवर्गले जनाएका छन्।
फाइनान्सियल टाइम्सका अनुसार ब्लुमबर्गको समाचारपछि ओपनएआईका अधिकारीले आफ्नो डेटा डिपसिकले अनधिकृत प्रयोग गरेको प्रमाण नै भएको दाबी गरेका छन्। आफ्नो मोडलको डेटाको 'डिस्टिलेसन' गरेको आरोप ओपनएआईले लगाएको छ। एआई विज्ञहरूका अनुसार डिस्टिलेसन भनेको सक्षम मोडल प्रयोग गरेर साना मोडललाई प्रशिक्षण गर्नु हो। यसको अर्थ, डिपसिकले आफ्नो मोडललाई प्रशिक्षण गर्ने क्रममा उसले दिने उत्तर सही छ कि छैन भनेर जाँच्न ओपनएआईको मोडल प्रयोग गर्यो। यो क्रममा ओपनएआईको मोडलले जानेका सबै कुरा डिपसिकले पनि सिक्यो।
ओपनएआईले यस विषयमा छानबिनका लागि अमेरिकी सरकारसँग पनि सहकार्य गर्ने बताएको छ। अमेरिकी सरकारले पनि आफ्नो देशको बौद्धिक सम्पत्ति चोरी भएकाले गम्भीर छानबिन गर्ने बताएको छ।
तर यस्तो छानबिन त्यति सजिलो नहुने जानकारहरू बताउँछन्। उनीहरूका अनुसार कुनै पनि समयमा च्याट जिपिटीजस्ता ठूला मोडल एकै पटक करोडौंले प्रयोग गरिरहेको हुन सक्छन्। त्यसैले कसले डिस्टिलेसन गरेको भनेर पक्रिन गार्हो हुन्छ। कतिले भने एआई क्षेत्रमा डिस्टिलेसनलाई सामान्य प्रक्रिया भन्छन्। कार वा अरू मेसिनरी बनाउने कम्पनीले प्रतिस्पर्धीहरूको उत्पादन किनेर, खोलेर इन्जिन, मेसिन कस्तो रहेछ भनेर हेरेर सिके जस्तै हो भन्छन्।
डिस्टिलेसन प्रयोग सामान्य र वैध मानिन्छ। ओपनएआईले भने आफ्नो मोडल प्रयोग गरेर प्रतिस्पर्धी मोडल बनाउन वर्जित गरेको छ।
हुन त ओपनएआईले अनुमति नलिई आफ्नो मोडलको प्रशिक्षणका लागि पत्रपत्रिका र किताब प्रयोग गरेको छ। त्यसैले द न्यूयोर्क टाइम्स लगायत मिडियाले आफ्नो 'कन्टेन्ट' अनधिकृत रूपमा प्रयोग गरेको भनेर ओपनएआईलाई मुद्दा नै हालेका छन्।
अब डिपसिकको सफलताको भूराजनीतिक पाटोका बारेमा चर्चा गरौं।
क्रान्तिकारी प्रविधिको आविस्कारले कुनै पनि समयमा धेरै नै महत्त्व राख्छ। मानव जातिले आगो बाल्न सिकेपछि खानेकुरामा विविधता र सहजता त भयो नै, नरभक्षी जनावर धपाउन पनि सजिलो भयो। त्यस्तै ढुंगाका धारिला हतियार बनाउन थालेपछि अरू पशुको शिकार गर्न सजिलो भयो। यसरी आगो, हतियार, चक्का लगायत सामग्री आविस्कार हुँदै गएपछि पृथ्वीमा मानव जातिको वर्चस्व कायम भयो।
बिस्तारै समाज र देश बन्दै गयो। पछि पनि नयाँ आविस्कार गर्ने समाज र देशलाई धेरै फाइदा भयो। बन्दुक र तोपजस्ता हतियारको सुरूमा प्रयोग गर्ने देश धेरै शक्तिशाली भए। अरू देशका भूमि कब्जा गर्न थाले। १८ औं शताब्दीमा बेलायती जेम्स वाटले स्टिम इन्जिन आविस्कार गरे। यसपछि बेलायती साम्राज्य झन् शक्तिशाली भयो। त्यसको मद्दतले सुरू भएको औद्योगिक क्रान्तिका कारण सबैजसो पश्चिमा राष्ट्रले विकासको फड्को मारे। भारत र चीनजस्ता पूर्वीय देशलाई धेरै पछि पारे।
अहिलेको समयमा एआईले १८ औं शताब्दीको स्टिम इन्जिनले भन्दा ठूलो क्रान्ति ल्याउँछ भन्ने अनुमान गरिन्छ। यस्तो बेलामा जसले एआईको क्षेत्रमा वर्चस्व हासिल गर्यो, उसले अरूलाई धेरै पछि पार्न सक्छ। एआईको प्रयोग हरेक क्षेत्रमा गर्न सकिने भएकाले सैन्य शक्ति लगायत सबै कुरामा उत्कृष्टता हासिल गर्न सक्छ। त्यसैले यो दौडलाई अमेरिका र चीनले 'विनर-टेक्स-अल', अर्थात् 'जित्नेले सबै लैजाने' का रूपमा लिएका छन्।
दोस्रो विश्व युद्धपछि केही समय तत्कालीन सोभियत संघले टक्कर दिएको बेलाबाहेक अमेरिका लगातार सबभन्दा शक्तिशाली राष्ट्र बनेको छ। अमेरिकाको शक्तिका धेरै आयाम छन् र उसले त्यसको हरतरिकाले फाइदा उठाइरहेको छ।
झन्डै अढाइ दशकसम्म द न्यूयोर्क टाइम्सका स्तम्भकार रहेका र सन् २००८ मा अर्थशास्त्रमा नोबेल पुरस्कार जितेका पल क्रुगमेनले करिब एक वर्षअघि फरेन अफेयर्स पत्रिकामा लामो लेख लेखेका थिए। त्यसमा उनले थोरैलाई थाहा भएको एउटा डरलाग्दो उदाहरण दिएका थिए।
उनका अनुसार इन्टरनेटका लागि प्रयोग हुने संसारभरका प्रायः सबै फाइबर-अप्टिक्स केबल अमेरिका हुँदै विस्तार गरिन्छन्। अमेरिकी भूमिमा रहेका यी केबलबाट के के डेटा र सन्देश सञ्चार भइरहेको छ भनेर अमेरिकाले सबै हेर्न सक्छ।
यसको मतलब, अमेरिकाले संसारका लगभग हरेक देश र कम्पनीले के गरिरहेका छन् भनेर सजिलै जासुसी गर्न सक्छ। यो क्रम सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा अल कायदाले गरेको आतंककारी हमलापछि झन् बढेको उनले लेखेका छन्।
अमेरिका आफ्नो यस्तो हैसियत कायम राख्न चाहन्छ। अर्कोतर्फ, आर्थिक विकाससँगै सैन्य शक्ति सञ्चय गरेर अमेरिकालाई खुला टक्कर दिने हैसियत बनाएको चीन पनि एआईको दौड जितेर सबभन्दा शक्तिशाली बन्न चाहन्छ। त्यसैले यी दुई देशबीच प्रतिस्पर्धा तीव्र भएको हो।
पछिल्ला वर्षमा चीनले धेरै क्षमता विस्तार गरेको छ। चीनले तुलनात्मक रूपमा प्रायः सबै सामान राम्रो, छिटो र सस्तो बनाउन सक्छ भनेर अमेरिकाले नै स्वीकार गर्छ। अत्याधुनिक हतियार र एआई क्षेत्रमा मात्रै अमेरिका चीनभन्दा अगाडि भएको मानिन्छ। हाल अनुसन्धान क्रममै रहेको अर्को महत्त्वपूर्ण क्षेत्र 'क्वान्टम कम्प्युटिङ' मा पनि अमेरिका अघि छ भनिन्छ। यही अग्रताका भरमा अमेरिका आफ्नो वर्चस्व कायम राख्न चाहन्छ।
यस्तो समयमा डिपसिकको उदय भएपछि चीन आफू हाराहारी आएको भनेर अमेरिकीहरू चिन्तित छन्।
विज्ञ, राजनीतिज्ञले पनि यसलाई तत्कालीन सोभियत संघले स्पुतनिक भू-उपग्रह प्रक्षेपण गरेर अन्तरिक्ष-दौडमा अमेरिकाभन्दा अघि लागेको घटनासँग तुलना गरेका छन्। तर अमेरिकीहरूले त्यो घटनासँग तुलना गर्नुको खास कारण छ। सोभियत संघ भू-उपग्रह अन्तरिक्षमा पठाउने पहिलो राष्ट्र बने पनि पछि सन् १९६९ मा चन्द्रमामा पहिलो पटक मानव ओरालेर अमेरिकाले अन्ततः अन्तरिक्ष होड जितेको थियो। त्यसरी नै अहिले चीनको अप्रत्याशित सफलताले तिलमिलाए पनि अन्ततः एआईको होड अमेरिकाले जित्ला भन्ने उनीहरूको आशा हुन सक्छ।
त्यसैले ट्रम्पले यसलाई अमेरिकालाई सचेत पार्ने 'वेक-अप कल' भनेका छन्। ओपनएआईका प्रमुख कार्यकारी अधिकृतले डिपसिक राम्रो भए पनि आफूले झन् राम्रा मोडल ल्याउने आश्वासन दिएका छन्। मेटाका संस्थापक मार्क जकरबर्गले पनि यो वर्ष सबैभन्दा अब्बल एआई मोडल ल्याउने दृढता व्यक्त गरेका छन्।
अर्कातिर डिपसिकले पछिल्लो समय दुराशयपूर्ण आक्रमण भएको भनेर नयाँ प्रयोगकर्ता दर्ता रोकेको छ। चिनियाँ कम्युनिस्ट पार्टीको अंग्रेजी मुखपत्र ग्लोबल टाइम्सले सो आक्रमण मुख्यतः अमेरिका, सिंगापुर, नेदरल्यान्ड्स, जर्मनी र चीनभित्रैबाट भएको लेखेको छ। चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले त झन् अमेरिकालाई नै दोष लाउने गरी समाचार बनाएको भनेर हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।
सिसिटिभीका अनुसार डिपसिक माथि आक्रमण जनवरी ३ देखि नै सुरू भएको थियो। यसले अमेरिकामा हलचल मच्चाएपछि सोमबार र मंगलबार भने झन् धेरै र शक्तिशाली हमला भएको छ। सोमबारदेखि डिपसिकका प्राविधिकको युजरनेम र पासवर्ड ह्याक गर्ने गरी आक्रमण भएको छ। यसले कसरी काम गर्छ भनेर थाहा पाउन गरिएका त्यस्ता आक्रमण सबै अमेरिकाको आइपी (इन्टरनेट ठेगाना) बाट गरिएको सिसिटिभीको दाबी छ।
यसरी एकाएक उदाएको डिपसिकले एआईमा सबैको पहुँचलाई सहज बनाएको छ। ठूलो खर्च गरेर आफ्नै मोडल बनाउन नसक्ने देशलाई थोरै खर्चमा बनाउन सकिने रहेछ भनेर हौसला मिलेको छ। साना-साना कम्पनीले उसको मोडल प्रयोग गरेर आ-आफ्नो क्षेत्रमा एआईको व्यावसायिक प्रयोग गर्न पाउने छन्।
अर्कोतर्फ, डिपसिकले कसरी कम खर्च र थोरै चिप्सबाट त्यति सक्षम मोडल बनायो भन्ने पनि ढिलोचाँडो थाहा भइहाल्छ। उसकै उपाय अपनाएर झन् धेरै चिप्स प्रयोग गरियो भने, ती मोडल अझ सक्षम हुनेछन्। डिपसिकले अनधिकृत रूपमा अमेरिकी प्रविधि प्रयोग गरेको हो भने पनि यो क्रान्तिकारी सफलता भएको द इकोनोमिस्ट पत्रिकाले लेखेको छ। अब झन् प्रभावकारी मोडल बनायो भने एआई क्षेत्रमा प्रतिस्पर्धा बढाउँछ।
एआईको दुनियाँमा कडा र तीव्र प्रतिस्पर्धा गरिरहेका चीन र अमेरिकाले थप विकास गर्ने सम्भावना छ। यसबाट अहिलेको भन्दा लाखौं गुणा शक्तिशाली कम्प्युटर बनाउन सकिने 'क्वान्टम कम्प्युटिङ' विकासमा पनि योगदान मिल्नेछ। एआई र क्वान्टम कम्प्युटिङ परिपूरक भएर मानव जातिका लागि अनन्त सम्भावनाको ढोका खोल्नेछन्।
***
(प्रेम ढकाल सेतोपाटी अंग्रेजी संस्करणका सम्पादक हुन्।)