ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काविरूद्ध परेका उजुरीमाथि छलफल गर्न बोलाइएको पूर्वाधार विकास समिति बैठक स्थगित भएको छ।
बुधबार बिहान ११ बजेका लागि बैठक राखे पनि गणपूरक संख्या नपुगेपछि सभापति दीपक सिंहले बैठक स्थगित गरेका हुन्।
गणपूरक संख्या पुग्छ कि भनेर मध्याह्न १२ बजेसम्म पर्खंदा पनि सांसदहरू नथपिएपछि बैठक स्थगित भएको हो।
बैठकका लागि मन्त्री खड्का र राज्यमन्त्री पूर्णबहादुर तामाङ समितिको सभाकक्षमा पुगेका थिए। तर सांसदहरूको कोरम नपुग्दा ऊर्जा मन्त्री र राज्यमन्त्री फर्केका थिए।
बैठकका लागि कांग्रेसका सांसद राजेन्द्र बजगाई र कल्पना चौधरी पुगेका थिए भने एमालेका सांसद ठाकुर गैरे, गोकर्ण विष्ट, प्रेमबहादुर महर्जन, दयालबहादुर शाही, निर्मला कोइराला पुगेका थिए।
माओवादी केन्द्रका सांसद माधव सापकोटा, सभापतिसमेत रहेका राप्रपा सांसद दीपक सिंह र बिना लामा, जसपाकी सुशीला श्रेष्ठ, नागरिक उन्मुक्तिका लालबीर चौधरी पनि पुगेका थिए।
बैठक बस्न कोरम पुग्न थप दुई जना सांसद आवश्यक थियो। तर बैठकमा उपस्थित कांग्रेस सांसद बजगाई र चौधरी बैठक कक्षबाट बाहिरिएका थिए। उनीहरू मन्त्री खड्का र राज्यमन्त्री तामाङ बैठक कक्षमा आउँदै गरेको सूचना पाएपछि बाहिर निस्केको आरोप छ।
बैठकका लागि माओवादी सांसद शक्तिबहादुर बस्नेत र रास्वपाकी सांसद निशा डाँगी पनि आउँदै थिए। उनीहरू बाटोमै रहँदा लामो समय कुर्न परेको भन्दै कोरम नपुगेको भनेर बैठक स्थगित भएको थियो।
बैठक सञ्चालन गर्न १४ जना सांसद आवश्यक पर्छ। तर १२ जनामात्रै उपस्थित भएपछि सभापति सिंहले बैठक स्थगित गरेका हुन्।
सभापति सिंहका अनुसार सहिद दिवस र सार्वजनिक बिदा भएको भन्दै कांग्रेसले सांसदहरू बाहिर जिल्ला जानुपर्ने कुरा गर्दै बैठक सार्न भनेको थियो। तर बोलाइसकेको बैठ स्थगित गर्न नसके पनि कोरम नै नपुगेको उनले बताए।
सभापति सिंहले कांग्रेसका दुई, एमालेका पाँच, माओवादीका एक, राप्रपाका दुई, जसपाका एक, रास्वपाका दुई जना सांसद बैठकमा उपस्थित नभएको बताए।
सभापति सिंहका अनुसार समितिको अर्को बैठक माघ २४ गते बिहान साढे ८ बजेका लागि बोलाइएको छ।
मन्त्री र राज्यमन्त्री बैठकमा उपस्थित भए पनि सत्तारूढ कांग्रेसका सांसद बाहिरिनुलाई कतिपयले ऊर्जामन्त्रीविरूद्धका उजुरीबारे छलफल नगराउने नियत रहेको दाबी गरेका छन्।
नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले पूर्वाधार समितिमा दुई ठूला जलविद्युत परियोजना मुगु कर्णाली र किमाथाङ्का अरुण परियोजना निजी क्षेत्रलाई दिने निर्णयका विरुद्ध परेको उजुरीका विषयमा मन्त्रालयको धारणा माग गर्नको लागि मन्त्रीलाई बोलाएको बताए।
उर्जामन्त्री खड्काले यी आयोजनाको ठेक्कामा अनियमितता गरेको आरोप सहितको उजुरी समितिमा परेको थियो।
समितिमा कोरम पुर्याउँदा पुग्ने अवस्था भए पनि कांग्रेस एक जना पनि सांसद बैठकमा उपस्थित नहुँदा बैठक स्थगित गर्नु परेको उनको भनाइ छ।
कांग्रेसका सांसद कल्पना चौधरी र राजेन्द्र बजगाई समितिमा आएर उपस्थित भएर मात्रै फर्किएका थिए।
कांग्रेस सांसदहरू एजेण्डा प्रस्तुत गर्ने समयमा बाहिर गइसकेका थिए।