राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायत बुधबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आफ्ना पार्टीका सांसदको व्यक्तिगत जीवनबारे अरू सांसदहरूले 'रक्सी खाएर' कुरा काटेको विषयमा झोक्किइन्।
समितिमै भएका सांसदहरूले पोखरामा अनुगमन जाँदा रक्सी खाएर आफ्नो पार्टीका सांसदहरूको व्यक्तिगत जीवनमाथि टीकाटिप्पणी गरेको आरोप कठायतको थियो।
'कुन माननीयले कति विवाह गर्यो, व्यक्तिगत जीवनमा सरोकारको विषय होइन,' कठायतले समितिमा भनिन्, 'सुमनाले कति जना विवाह गर्यो भन्ने तपाईंहरूको सरोकारको विषय हो? सोविता गौतमले के बोल्यो भन्ने तपाईंहरूको सरोकारको कुरा हो? यो समितिको अनुगमनमा भएको कुरा हो।'
कठायतले थप भनिन् - 'तपाईंहरूले निर्णय गर्ने हो सुमनालाई देश निकाला गर्ने भनेर? के गरेको छ देश निकाला गर्न, यो समितिको अनुगमनको विषय हो?
समिति बैठकमा कठायतले पोखरामा अनुगमनका क्रममा सांसदबीच भएको कुराकानीको विषय उठाएपछि सभापति कुसुमदेवी थापाले भने विषय मोड्न खोजिन्। उनले समिति बैठकमा विषयमा धारणा राख्न उनलाई सुझाइन्।
समितिले बुधबार डढेलो नियन्त्रणको विषयमा छलफलको कार्यसूची राखेको थियो।
'अनुगमनमा जाँदा त्यही मात्र कुरा हुन्छ भन्ने होइन,' सभापति थापाले भनिन्, 'तपाईंको मात्र कुरा सुन्नुपर्छ भन्ने होइन। विषयवस्तुमा प्रवेश गर्नुस्।'
तर कठायतले समितिमा भएको विषय आफूले उठाउने अडान लिइन्। उनले समितिको अनुगमनका क्रममा भएको विषयलाई समितिमै उठाउने बताइन्।
'कसलाई भन्न जानूँ मैले? सदनमा भन्नूँ?,' कठायतले भनिन्, 'समितिमा भएको कुरा समितिमा राख्न पाउनुपर्छ।'
त्यसपछि सभापति थापाले नै पुन: कठायतलाई पोखराकै प्रसंगमा तानिन्।
'तपाईंलाई त्यतिकै 'ह्यारेसमेन्ट' गर्न खोजे होलान्,' सभापति थापाले थप्दै भनिन्, 'तपाईंका कुरा छैनन्!'
त्यसपछि कठायत झन् कड्किइन्।
'त्यहाँ कुन हालतमा के बोल्नुभयो, राष्ट्रिय स्वत्नत्र पार्टीले के गर्यो भन्ने तपाईंहरूको सरोकारको कुरा हो,' कठायतले भनिन्, 'सभापतिज्यू, तपाईंको मुखबाट पनि दुई तीन वटा कुरा निस्किएका छन्। कांग्रेस र एमालेमा के भएको छ हामी फुक्दै हिँड्दैनौँ नि! कुन माननीयले कोसँग विवाह गर्यो। कोसँग लभ पार्यो कसैको सरोकारको कुरा होइन। रवि लामिछानले कोसँग विवाह गर्यो भनेर ह्यारेसमेन्ट गर्ने।'
समिति सभापति थापाले भने सांसद कठायतले मन्त्रिपरिषद्ले गरेको निर्णय उल्ट्याउने धारणा समितिमा राख्ने गरेको भन्दै उनलाई कार्यक्षेत्रबारे थाहै नभएको बताइन्।
'जे पायो त्यही बोल्नुहुन्छ यहाँ', सभापति थापाले रोक्न खोजिन्।
कठायतले आक्रोशित हुँदै भनिन्, 'पोखरामा भएको घटना जे पायो त्यही हो? तपाईंहरू एनजिओको पैसामा अनुगमनमा गएर रक्सी खाएर जे पायो त्यो बोल्ने?'
के भएको थियो घटना?
प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिले गत पुस १९ गते दाङ, प्यूठान जिल्लाको गुठी जग्गामा बसोबास गर्ने पीडित किसानहरूको समस्याका सम्बन्धमा गुठीयार र गुठीसँग सम्बन्धित किसानसँग छलफल र अन्तर्क्रिया गर्ने निर्णय गरेको थियो।
उक्त कार्यक्रममा सहभागी हुनुअघि सांसदहरूले ढोरपाटन शिकार आरक्ष आसपासका क्षेत्रमा रहेका जंगली जनावर बाघ, भालु, बाँदर लगायतका जनावरबाट परेका समस्या तथा पर्यावरण सम्बन्धमा सम्बन्धित निकायसँग छलफल गर्ने निर्णय गरेको थियो। समितिले काठमाडौं फर्कनुअघि कास्की जिल्लामा रहेको अन्नपूर्ण संरक्षण क्षेत्रका विषयमा पनि छलफल गर्ने गरी कार्यक्रम तय गरेको थियो।
यसरी ६ दिने भ्रमणमा निस्किएको संसदीय समितिमा समिति सभापति एवं कांग्रेस सांसद कुसुमदेवी थापा, राप्रपाकी अनिशा नेपाली, रास्वपाका अशोककुमार चौधरी, नेकपा माओवादी केन्द्रका रूपा सोशी चौधरी, कांग्रेसका वीरबहादुर बलायर, एमालेकी सरस्वती सुब्बा र एमालेकै सूर्यप्रसाद ढकाल सांसद थिए। सांसदसँगै संसद सचिवालयका उपसचिव शिवदत्त बराल पनि थिए। कठायत उक्त संसदीय टोलीमा थिइनन्। तर रास्वपाका सांसद अशोक चौधरीले आफू अन्य कार्यक्रम रहेको भन्दै पोखराको कार्यक्रममा सहभागी हुन नसक्ने भन्दै समितिकै रहेकी आफ्नो पार्टीकी सांसद विनिता कठायतलाई सहभागी गराउन आग्रह गरे।
त्यसपछि समितिका कर्मचारी बरालले कठायतलाई पोखराका बैठकमा सहभागी हुन आग्रह गरे। कठायत त्यतिबेला रास्वपा सभापति रवि लामिछानेको कास्की जिल्ला अदालतमा थुनछेक बहस चलिरहेकाले पोखरामै थिइन्। काठमाडौं फर्कने कार्यक्रम सार्दै उनले संसदीय समितिसँगै बस्न सहमति जनाइन्।
दिउँसो समितिले मुख्यमन्त्रीसहित अन्नपूर्ण संरक्षण क्षेत्रका प्रतिनिधिहरू, स्थानीय तहका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरूसँग छलफल गर्यो। सांसदहरूलाई बस्ने व्यवस्था भने विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले ल्याण्डमार्क होटलमा मिलाइदिएको थियो। तर खाना खान भने संसद सचिवालयको बजेटमा नै होटल नजिकैको अर्को रेष्टुरेन्टमा व्यवस्था गरिएको थियो।
सांसद कठायतका अनुसार खाना खान रेष्टुरेन्टमा उनी, माओवादी केन्द्रकी सांसद रूपा सोशी चौधरी र सरस्वती सुब्बा पुग्दा अन्य सांसद पुगिसकेका थिए। सांसदहरूले रक्सी खान थालिसकेका थिए। सांसदहरू कुराकानी गर्दै थिए।
खाना सुरू भएपछि सांसद कठायतले आफूलाई ग्यास्ट्रिक भएकाले एन्टिबायोटिक खाइरहेको भन्दै रूपा सोशी चौधरीसँग कुराकानी गरिन्।
'दिदी म त डाक्टरलाई नै ठगी राखेको छु, हेर्नु न मैले त मासु खाइरहेको छु भनेँ,' कठायतले त्यो दिनको घटना सम्झँदै भनिन्, 'वीरबहादुर बलायरले सिधै – 'पार्टी नै त ठगको हो भन्नुभयो।'
कांग्रेस सांसद बलायरसँग कठायतले तत्कालै प्रतिप्रश्न गरिन् – 'के भन्नुभयो?'
बलयारले कुरा मोडे – 'बिरामी भएको मान्छेले खानु हुँदैन।'
तर बलायरलाई एमाले सांसद सरस्वती सुब्बाले साथ दिइन्।
कठायतका अनुसार सांसद सुब्बा झ्याप भइसकेकी थिइन्।
'उहाँले सुमनाको औकात के हो, केपी ओलीसँग दाँज्ने, यसलाई देश निकाला गर्नुपर्छ, त्यो सोविताको औकात के हो, केपी ओली र शेरबहादुर देउवासँग दाँज्ने यिनीहरूको औकात छ भन्नुभयो,' कठायतले घटनाबारे भनिन्, 'मैले तपाईंहरूले देश निकाला गर्ने भन्न पाउनुहुन्छ? हामी यत्रो लड्यौं भन्नुभएको हैन। अनि देश निकाला गर्ने भन्नेँ, भनेँ।'
तर सांसद सुब्बा थप जंगिएको कठायतले दाबी गरिन्।
'उहाँले अँ हो देश निकाला गर्ने भनेर कराउन थाल्नुभयो,' कठायतले भनिन्, 'कांग्रेसका अन्य सांसदहरूले पनि स्वर्णिम वाग्लेले पनि विदेशीसँग विवाह गरेको छ। सुमनाले पनि पहिला एउटासँग र अहिले विदेशीसँग विवाह गरी भनेर होच्याउनुभयो।'
कठायतका अनुसार त्यसपछि ठूलो स्वरमा कांग्रेस र एमालेका सांसदहरूले 'यो देशका निम्ति हामीले आन्दोलन गरेका छौँ' भन्न थाले।
'मैले आन्दोलन गरेकोमा धन्यवाद तर देशको स्थिति एसियाकै गरिब देश बनाउनुभयो भनेँ,' कठायतले घटनाबारे भनिन्, 'तर सभापतिले सांसदहरूलाई चुप लगाउनुको साटो तपाईंको पार्टीको पनि दुई वर्षमा हविगत देखियो भन्नुभयो।'
सभापति थापाले सांसदहरूलाई उक्साउने काम गरेको कठायतको आरोप छ।
'रवि लामिछानेले दश जनासँग विवाह गर्यो भनेर कुरा गरे। म एक्लै थिएँ। उहाँहरूले मलाई ह्यारेसमेन्ट गरेको जस्तो महसुस भयो,' कठायतले भनिन्, 'उहाँहरू झ्याप हुनुहुन्थ्यो। बोलौँ भने पनि म एक्लै थिएँ। अनि म छिटो छिटो होटलमा निस्किएँ।'
रेष्टुरेन्टमा सांसदहरूसँग झगडा गर्दा आफ्नो टाउको नै दुखेको कठायतले बताइन्।
'मैले मेडिकल गएर औषधि किनेर खाएँ,' कठायतले भने, 'अनि म आफ्नै तालले ड्रेसअप गरेर आफ्नै तालले काठमाडौं आएँ।' तर त्यतिबेला नै आफूलाई समिति बैठकमा यो विषय उठाउनुपर्छ भन्ने लागेको उनले बताइन्।
'सांसदहरूले मात्र भनेको विषय भएको भए म सभापतिसँग कम्प्लेन गर्ने थिएँ। तर सभापतिले नै त्यस्तो क्रियाकलाप गरेपछि मैले समितिमा भन्ने बाहेक विकल्प भएन,' कठायतले भनिन्, 'हामी थाहा नभएको कुरा थाहा छैन भन्ने मान्छे हो। सिक्न तयार छौँ। तर सिकाउनु सट्टा व्यक्तिगत रूपमा गएर उहाँहरूले हस्तक्षेप गर्नुभयो। पब्लिक फिगर भन्दैमा जे पायो त्यही भन्न पाइँदैन। उसको पनि 'मेन्टल हेल्थ' महत्पूर्ण हुन्छ। परिवार हुन्छ। उनीहरूको बारे जे पायो त्यही बोलिदिनुहुन्न।'