नेकपा (एमाले) प्रवेश गर्न तम्तयार भएका नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका राष्ट्रिय सभा सांसद वामदेव गौतम रोकिएका छन्।
वामदेवलाई पार्टीमा भित्र्याएर दिने पद नै नभएको निष्कर्षसहित एमाले सचिवालय बैठकले उनी नेतृत्वको अभियानसँग सहकार्य मात्रै गर्ने निर्णय गरेको हो।
एमालेका एक सचिवालय सदस्यले सेतोपाटीलाई दिएको जानकारीअनुसार गत मंगलबार बेलुकी बालुवाटारमा भएको सचिवालय बैठकमा गौतमलाई पार्टीमा आउने बाटो खुला गरिदिने सन्दर्भलाई लिएर छलफल भएको थियो।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले नै वामदेवलाई पार्टीमा ल्याउने विषय प्रवेश गराएका थिए।
अध्यक्ष ओलीले गौतमसँग गत शुक्रबार र आइतबार कुराकानी गरेका थिए। त्यसबेला गौतमले एमाले आउन आफू इच्छुक रहेको बताएका थिए।
‘म एमालेमा जाने पक्कापक्की भइसकेको छ, पदबारे कुरा भएको छैन। अध्यक्षले त्यसमा सोचिहाल्नुहुन्छ नि!’ भन्दै उनले प्रतिक्रिया दिएका थिए। तर उनलाई पार्टीमा भित्र्याएर कुन पद दिने भनेर एमाले सचिवालय बैठकले निर्क्यौल गर्न सकेन।
सचिवालय बैठकमा अध्यक्ष ओलीनिकट नेताहरूले वामदेवलाई पद दिन पार्टीको विधान संशोधन गर्न नहुने बताएका थिए।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वामदेव गौतम एमालेमा आउने कुराकै विरोध गरे। वामदेवलाई ‘उपादेयताविहीन’ नेताको संज्ञा दिँदै आएका पोखरेलले उनलाई पार्टीमा भित्र्याउन नहुने बताएको एक सचिवालय सदस्यले बताए।
‘वामदेवलाई कुन पद दिने भनेर नै सचिवालय निष्कर्षमा पुग्न सकेन। त्यसपछि उनी नेतृत्वको एकता अभियानसँग सहकार्य गर्ने निर्णय गर्नुपरेको हो। उनलाई भित्र्याउन ओली त इच्छुक नै देखिएका छन्। तर उनले पद सिर्जना गर्न सकेनन्। वामदेवकै लागि विधान संशोधन गर्ने कुरा आएन। विधान संशोधन गरे पनि कसलाई हटाउनू! उनी दोस्रो वरीयता नदिई मान्दैनन्। दोस्रो वरीयता दिन ईश्वर पोखरेल हटाउनुपर्छ, अध्यक्ष ओलीले त्यसो गर्न सक्दैनन्,’ ती सचिवालय सदस्यले भने।
एमालेले यसअघि विधान संशोधन गरेर ७० वर्षे उमेर हद निष्क्रिय बनाएको थियो।
त्यतिबेला एकीकृत समाजवादी परित्याग गरी एमाले फर्कन लागेका मुकुन्द न्यौपानेलगायत नेतालाई जिम्मेवारी दिन उमेरहद फुकुवा गरेको एमालेले वामदेवकै लागि विधान संशोधन सक्ने पदाधिकारीकै बुझाइ छ।
‘तर पार्टी अध्यक्षनिकट नेताहरूकै असहमतिका बीच अध्यक्ष ओलीले पद सिर्जना गर्न सक्ने कुरा भएन। सहकार्य गर्ने निर्णयमै रोकिनुपर्यो,’ ती सचिवालय सदस्यले भने।
एमालेको त्यही बैठकले पार्टीको विधान सम्मेलन आगामी भदौ २०, २१ र २१ गते ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गर्ने निर्णय गरेको थियो।
आफूलाई एमालेमा ल्याउनेबारे सचिवालय बैठकले ठोस निर्णय नगरेपछि वामदेव पनि द्विविधामा छन्।
उनले एमालेलाई वैधानिक (विधानको) समस्या परेको प्रतिक्रिया दिए।
‘एमालेमा जान हामी त अहिले पनि तयार नै भएर बसेका छौं। तर एमालेलाई वैधानिक समस्या परेको भन्ने बुझेका छौं। उहाँहरूले मिलाउँदै हुनुहोला। मिलाएपछि खबर गर्नुहोला,’ गौतमले सेतोपाटीसँग भने।
एमालेकै आग्रहअनुसार आफू नेतृत्वको एकता अभियानले काम गरिरहेको उनले बताए।
‘कतिपय मानिसहरूले ठूलो तामझामसहित, भाषणभुषणसहित वामदेव एमाले प्रवेश गर्ने सोचेका थिए होला। त्यस्तोचाहिँ हुने भएन। कसरी हुन्छ भन्ने कुरा एमालेले नै भन्ला,’ नेता गौतमले भने।
एमालेले खबर गर्नासाथ पार्टी प्रवेशका लागि चाँजोपाँजो मिलाउनले उनले बताए।
एमाले सचिवालय बैठकले सहकार्य गर्दै जाने निर्णय गरेपछि नेता गौतमले असन्तुष्टि व्यक्त गरेका छन्।
उनले एकता अभियानका महासचिव डिबी कार्की सहितका नेतालाई सहकार्यका लागि एमाले केन्द्रीय कार्यालय च्यासल पठाएका थिए।
‘पार्टी एकताबारे अहिले केही पनि थाहा छैन। मैले पार्टीका महासचिव डिबी कार्की र अर्का एक जना नेतालाई सहकार्यका लागि च्यासल पठाएको छु,’ उनले भनेका थिए।
कतिञ्जेल सहकार्य गर्ने भनेर उनलाई सोधिएको प्रश्नमा जबाफ दिँदै उनले ‘एमाले कहिलेसम्म सहकार्य गरेर अघाउँदैनन्, त्यञ्जिेलसम्म सहकार्य गर्ने’ भनेका थिए।
नेता गौतम दोस्रो पटक एमाले फर्कन लागेका हुन्।
२०५४ सालमा एमाले फुटाएर नेकपा (माले) गठन गरेका नेता गौतमले २०५६ सालको आम निर्वाचनमा एक सिट पनि नल्याएपछि मालेको उपादेयता नरहेको भन्दै एमालेमा मिसाएका थिए।
एमाले फर्किएपछि ओलीनिकट बन्न पुगेका गौतम २०६५ को महाधिवेशनमा भने पार्टी अध्यक्ष जितेका झलनाथ खनालनिकट बनेका थिए।
२०७१ सालको महाधिवेशनमा पुनः ओलितिर लागेका वामदेव माओवादी केन्द्रसँगको एकता भएर नेकपा बनेदेखि नै ओलीसँग टसल गर्ने अवस्थामा पुगेका थिए।
ओलीलाई ‘एक व्यक्ति एक पद’को मान्यताअनुरूप पार्टी अध्यक्षको पूर्ण भूमिका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गर्न स्थायी कमिटीमा फरक मत नै राखेका थिए।
अध्यक्ष ओली प्रधानमन्त्री भएकाले सरकारतिरै उनको बढ्ता ध्यान हुनुपर्ने गौतमको मत थियो। तर नेकपा विवाद उत्कर्षमा पुगेका बेला प्रचण्डलाई साथ दिएनन्।
पछि एमाले र माओवादी केन्द्र अलग–अलग अस्तित्वमा फर्कंदा एमाले उपाध्यक्षबाट राजीनामा दिएर २०७८ भदौमा नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गरे।
बीचमा एमाले फर्कन उनले अध्यक्ष ओलीसँगै संवाद अघि बढाएका थिए। तर त्यतिबेला अध्यक्ष ओली नै इच्छुक देखिएका थिएनन्।
एमाले फर्कने वातावरण नबनेपछि उनी नेकपा (एकीकृत समाजवादी) मा जाने तयारी पनि गरेका थिए। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेता गौतमको निवासमै पुगेर छलफल गरे।
गौतम पनि छलफलका लागि एकीकृत समाजवादी केन्द्रीय कार्यालय आलोकनगर पुगेका थिए।
एकीकृत समाजवादी उनलाई तेस्रो वरीयता दिन तयार थियो। एकीकृत समाजवादीसँग पार्टी एकता नै हुनुपर्ने र आफूसँग रहेका नेताहरूको व्यवस्थापन हुनुपर्ने अडान राखेका गौतमले एमालेसँग भने शर्त राखेका छैनन्।