इसराइल-हमासबीच युद्धविराम घोषणा भएसँगै आइतबार तीन इसराइली बन्धकमुक्त हुने भएका छन्।
अघिल्लो वर्षको अक्टोबर ७ मा हमासले इसराइलमा आक्रमण गरी त्यहाँबाट २४९ जनालाई बन्धक बनाएर गजा पुर्याएको थियो। तीमध्ये झन्डै ९८ जना अझै हमासको बन्धकमा छन्। अरू बन्धकहरु यसअघि युद्धविराम हुँदा बन्धकमुक्त भएका थिए।
४२ दिनसम्म हुने युद्धविरामको पहिलो दिन तीन महिलालाई हमासले बन्धकमुक्त गर्ने भएको छ।
बन्धकमुक्त हुनेमा २४ वर्षीय रोमी गोनेन, ३१ वर्षीया डोरन स्टेनब्रिचर र २८ वर्षीया इमिली दमारी छन्।
सिएनएनका अनुसार रोमीलाई नोभा म्युजिक फेस्टिभल भइरहेको ठाउँबाट हमासले बन्धक बनाएर गजा पुर्याएको थियो। उनी बन्धकमुक्त हुने बारेमा इसराइली अधिकारीहरूले रोमीको परिवारलाई जानकारी गराइसकेका छन्।
स्टेनब्रिचर भेटेनरी नर्स हुन्। इसराइल र गजाको सिमानाको किब्बुज केफर अजासस्थित उनकै अपार्टमेन्टबाट उनलाई हमासले बन्धक बनाएर लगेको थियो। गत जनवरीमा उनी हमासको बन्धकमा रहेको एउटा भिडिओ सार्वजनिक भएको थियो।
२८ वर्षीय दमारीलाई पनि काफरको अजास्थित उनकै घरबाट हमासले नियन्त्रणमा लिएर गजा पुर्याएको थियो। उनकी आमा म्यान्डी दमारीलेले छोरीलाई हातमा गोली लागेको, खुट्टामा गोलीको छर्रा लागेको थियो। हमासले आँखामा पट्टी बाँधेर कारमा बाँधेर गजा लगेको म्यान्डीले बताएकी थिइन्।
तीनै जनाको परिवारलाई उनीहरूको रिहाबारे जानकारी गराइएको इसराइली अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
तीन जनाको बदलामा इसराइलले आफ्ना देशमा रहेका प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ।
अबको एक सातापछि चार बन्धक छाड्नेछ। त्यसपछि प्रत्येक सातमा हमासले बन्धक रिहा गर्दै जानेछ र सोही अनुसार इसराइलले पनि कैदी रिहा गर्नेछ।