नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका लागि पार्टीले ढोका नखोलेको बताएका छन्।
शुक्रबार एकीकृत समाजवादी प्रेस संगठन परित्याग गर्दै एमाले प्रवेश गरेका विश्वमणि सुवेदी सहितलाई स्वागत गर्दै महासचिव पोखरेलले अध्यक्ष नेपाल नै एमाले प्रवेश गर्न तयार रहेको तर एमालेले ढोका खुल्ला नगरेको दाबी गरे।
‘जसरी चौतारीले विश्वमणि सुवेदीजीहरूलाई सम्मान दिएको छ, त्यसरी एमालेले सम्मान दिने हो भने उहाँ (माधवकुमार नेपाल) नै आउनुहुन्छ, उहाँहरूलाई कारबाही गर्नुको के अर्थ छ तर उहाँले जे गल्ती गर्नुभएको छ त्योवापत एमाले उहाँलाई सम्मान गर्ने पक्षमा छैन तर उहाँले अरूलाई रोक्न खोज्नुभएको छ,’ उनले भने।
हाम्रो भविष्य के छ भनेर माधवकुमार नेपालले नजिकबाट बुझेको पनि महासचिव पोखरेलले बताएका छन्।
‘के गर्ने, इतिहासमा कहिलेकाहीँ यस्तो ब्लन्डर मिस्टेक हुन पुग्दछ। आफूले सोचेको ठाउँ प्राप्त गर्न सम्भव हुँदैन। त्यो ठाउँमा माधव नेपाल हुनुहुन्छ। त्यसको कोपभाजन समाजवादीमा भएका सबै साथीहरू हुनुभएको छ,’ उनले भने।
उनले माधव नेपाललाई साथ दिनेहरू सबै जिम्मेवार नहुने पनि बताए। ‘त्यसकारण बाँकी मानिसहरूलाई हामीले खुला ढंगले स्वागत गर्ने गरेका छौं,’ उनले भने।