नव-निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहणमा चिनियाँ समकक्षी सी चिनफिङ आफू नगएर उपराष्ट्रपति हान झेङ्गलाई पठाउने भएका छन्।
गत नोभेम्बरमा अमेरिकी राष्ट्रपति निर्वाचित हुनेबित्तिकै ट्रम्पले चिनियाँ समकक्षी सीलाई जनवरी २० मा हुने आफ्नो शपथ ग्रहण समारोहमा निमन्त्रणा दिएको खुलेको थियो।
चुनाव प्रचारका क्रममा आफू राष्ट्रपति भएपछि सबै चिनियाँ उत्पादनमा ६० प्रतिशत भन्सार लगाउने धम्की दिएका ट्रम्पले सीलाई पदभार ग्रहण समारोहमा निमन्त्रणा दिएपछि सी निम्तो मान्न जान्छन् कि जाँदैनन् भनेर विश्वभरि नै चर्चा थियो।
चीनको क्षेत्रीय प्रतिद्वन्दी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पको निम्तो पाउन भरमग्दुर प्रयास गरेपनि सफल नभएको भनेर मोदीकै पार्टीका नेताले उडाइरहेको बेलामा सीले भने निम्तो पाए पनि आफ्ना उपराष्ट्रपति हानलाई पठाउने भएका हुन्।
ट्रम्पको शपथ ग्रहण समारोहमा हान सहभागी हुने खुलासा गर्दै आफूले अमेरिकासँग स्थिर, स्वस्थ र दीगो सम्बन्ध चाहेको चीनले जनाएको छ।
साथै दुई राष्ट्र झगडा नगरिकनै अघि बढ्ने सही मार्ग पहिल्याउन नयाँ अमेरिकी सरकारसँग काम गर्न चीन तयार रहेको भनेको छ।
अमेरिकाले राष्ट्रपतिको शपथ ग्रहण समारोहमा विदेशी राष्ट्र वा सरकार प्रमुखलाई निमन्त्रणा दिने चलन यसअघि थिएन। अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण समारोहमा अमेरिकामा रहेका राजदूतहरू सहभागी हुने गर्थे। चार वर्ष अघि भएको जो बाइडेनको शपथ ग्रहण समारोहमा अमेरिकाका लागि चीनका राजदूत सुइ तियान्काइ उपस्थित भएका थिए।
सन् १८७४ देखि उपलब्ध अभिलेख अनुसार अमेरिकाले राष्ट्रपतिको शपथ ग्रहण समारोहमा विदेशी राष्ट्रप्रमुखलाई बोलाएको छैन भनेर हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोष्टले केही हप्ता अघि लेखेको थियो। तर ट्रम्पले भने आफ्ना मित्र राष्ट्रका सरकार प्रमुखलाई मात्रै नभएर अहिलेको विश्वमा अमेरिकाको सबैभन्दा ठूलो प्रतिद्वन्दी चीनका राष्ट्रप्रमुखलाई निमन्त्रणा दिएका थिए।
सन् २०१४ मा पहिलोपटक भारतका प्रधानमन्त्री निर्वाचित हुँदा नरेन्द्र मोदीले पनि भारतको चीर प्रतिद्वन्द्वी पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज शरिफलाई आफ्नो शपथ ग्रहण समारोहमा निमन्त्रणा दिएका थिए।
‘नेवरहुड फर्स्ट’ नीति घोषणा गरेका मोदीको सो शपथ ग्रहण समारोहमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइराला पनि उपस्थित थिए।
आफ्नो पहिलो कार्यकालमा चीनसँग व्यापार युद्ध सुरू गरेका र त्यसलाई निरन्तरता दिँदै दोस्रो कार्यकालमा सबै चिनियाँ उत्पादनमा ६० प्रतिशत भन्सार लगाउने धम्की दिँदै आएका ट्रम्पले परम्परा तोड्दै सीलाई शपथ ग्रहण समारोहका लागि निमन्त्रणा दिएपछि प्राय: सबै अचम्ममा परेका थिए।
तर उनको व्यापारिक जीवन र राष्ट्रपतिको रूपमा पहिलो कार्यकाललाई नियालेर हेर्ने हो भने खासमा उनले जे गरे पनि अचम्म मान्नु पर्दैन।
ट्रम्पले जीवनमा जहिले पनि सौदावाजीलाई सबैभन्दा धेरै महत्व दिएका छन् र उनले आफूलाई अब्बल सौदागर भएको दाबी गर्छन्। त्यसैले त उनले पहिलो कार्यकालमा उत्तर कोरियाका तानाशाही नेता किम जोङ उनसँग सौदाबाजी गर्नका लागि शिखर वार्ता गरे। यद्यपि ट्रम्प र किमले दुई चरणको शिखर वार्ता गरे पनि कुनै सम्झौता भएन।
कतिले इरानका सर्वोच्च नेता अयोतोल्लाह अलि खमेनीले उनीसँग शिखर वार्ता गर्न रूचि नदेखाएका कारणले उनीभन्दा अघिका राष्ट्रपति बाराक ओबामाको पहलमा इरानको आणविक कार्यक्रम रोक्न भएको सम्झौता तोडेको दाबी गर्छन्। दोस्रो कार्यकालमा पनि उनले सौदाबाजीका लागि अचम्म पार्ने खालका शिखर वार्ता गर्न सक्ने उनीहरूको जिकिर छ।
खासमा ट्रम्पले आफ्ना विरोधी र मित्र राष्ट्रलाई समेत दिने उट्पट्याङ जस्तो सुनिने धम्की उनीहरूलाई सौदाका लागि वार्तामा बस्न बाध्य बनाउन दिन्छन् भनेर लगभग सबै सहमत छन्। त्यसै अनुसार दोस्रो पटक राष्ट्रपति निर्वाचित हुनेबित्तिकै सीसँग कुरा गरेर शपथ ग्रहण समारोहमा निमन्त्रणा दिएका हुनसक्छन्।
तर सीले चाहे पनि निमन्त्रणा स्वीकार गर्ने सम्भावना भने धेरै कम मानिन्थ्यो। चीनका राष्ट्रपतिको अमेरिका भ्रमणका लागि धेरै लामो तयारी हुन्छ। दुई देशका अधिकारीले महिनौं लगाएर धेरै चरणमा छलफल गरेपछि मात्रै भ्रमण हुन्छ। सुरक्षा लगायतको यस्तो तयारी गर्न धेरै समय बाँकी नरहेकाले जनवरी २० मा हुने ट्रम्पको शपथ ग्रहण समारोहमा सी उपस्थित हुने सम्भावना कम थियो। त्यसैले सीले ट्रम्पको निम्तो अस्वीकार गरेको भन्दा पनि भ्रमण तयारीका लागि पर्याप्त समय नभएकाले नगएका हुनसक्छन्।
चीनमा आर्थिक समस्यासँग जुधिरहेका रहेका सीका लागि अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको कसरी अमेरिका सँगको व्यापार युद्धले पार्ने क्षतिलाई कम गर्ने हो। यस्तोमा ट्रम्पको निमन्त्रणा स्वीकार नगरे पनि अमेरिकासँग सम्बन्ध सुधार गर्न तयार रहेको सन्देशसहित सीले उपराष्ट्रपति हानलाई पठाएका हुनसक्छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)