सरकारले पश्चिम नेपालको भूकम्प तथा मनसुनजन्य क्षतिको पुनर्निर्माण दुई वर्षभित्र गरिसक्ने लक्ष्य अघि सारेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुई वर्षभित्र पुनर्निमार्ण सक्ने र त्यसका लागि करिब १ खर्ब रुपैयाँ लाग्ने गरी कार्ययोजना अघि सारेको हो।
यी विपदबाट १ लाख २० हजार ७ सय ३२ भौतिक संरचनामा क्षति पुगेको प्राधिकरणले बताएको छ।
२०७९ र २०८० मा पश्चिम नेपालमा गएको भूकम्पबाट क्षति भएका ९५ हजार ७८७ निजी आवास बनाउनुपर्ने प्राधिकरणले बताएको छ। जसमा ८० प्रतिशत पुनर्निर्माण गर्नुपर्ने र २० प्रतिशत घरहरूमा प्रबलीकरण गरे पुग्ने प्राधिकरणको भनाइ छ। जसका लागि ३२ अर्ब ५६ करोड ७५ लाख ८० हजार रुपैयाँ खर्च हुने प्राधिकरणले बताएको छ।
अघिल्लो आर्थिक वर्षमा ३० प्रतिशत काम भएको र चालू आर्थिक वर्षमा ४० प्रतिशत निर्माण पूरा गर्ने र बाँकी आगामी आर्थिक वर्षभित्र गरिसक्ने प्राधिकरणको लक्ष्य छ।
यस्तै २०८१ को मनसुनजन्य विपदबाट १९ हजार ७७१ निजी आवासमा क्षति पुगेको प्राधिकरणले बताएको छ। यस वर्षको मनसुनजन्य विपदबाट भएको क्षति पनि दुई वर्षभित्र नै गरिसक्ने प्राधिकरणको योजना छ। जसका लागि ६ अर्ब ७२ करोड२१ लाख ४० हजार रुपैयाँ खर्च हुने अनुमान छ।
भूकम्पबाट क्षतिग्रस्त निजी आवासको आकलनका लागि २८ करोड ५० लाख र पुनर्निर्माणको क्षमता विकासका लागि ३५ करोड खर्च हुने प्राधिकरणले प्रक्षेपण गरेको छ।
त्यस्तै पश्चिम नेपालको भूकम्पबाट ३२ वटा सडक तथा पुलमा क्षति पुगेको प्राधिकरणले जनाएको छ। जसबाट एक अर्ब ३५ करोड ९५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
मनसुनजन्य विपदबाट ३४९ वटा सडक तथा पुलमा क्षति पुगेको प्राधिकरणले जानकारी दिएको छ। मनसुनजन्य विपदबाट २६ अर्ब ८० करोड ५ लाख ९४ हजार रुपैयाँ बराबरको सडक तथा पुलमा क्षति पुगेको प्राधिकरणले बताएको छ।
यी संरचना पुनर्निर्माणका लागि २८ अर्ब १६ करोड, ९४ हजार रुपैयाँ लाग्ने पनि प्राधिकरणले जनाएको छ।
सरकारी भवन तथा सहरी पूर्वाधारतर्फ १७६ संरचनामा क्षति पुगेको छ। पश्चिम नेपालको भूकम्पबाट ९२ त्यस्ता संरचनामा क्षति पुगेको छ भने मनसुनजन्य विपदबाट ८४ वटा भवनमा क्षति पुगेको छ।
पश्चिम नेपालको भूकम्पबाट क्षति पुगेका सरकारी भवन तथा सहरी पूर्वाधार निर्माण गर्न ८८ करोड २४ लाख ६० हजार रुपैया लाग्ने अनुमान छ।
मनसुनजन्य विपदबाट क्षति पुगेका सरकारी भवनहरूको पुनर्निर्माण गर्न १ अर्ब ४२ करोड ८० लाख ८८ हजार रुपैयाँ लाग्ने अनुमान छ।
भूकम्प र मनसुनजन्य विपदमा ऊर्जा, जलस्रोत र सिँचाइतर्फ २ हजार ११९ संरचनामा क्षति पुगेकाले पुनर्निर्माणका लागि १७ अर्ब ३५ करोड ४० लाख ५ हजार रुपैयाँ लाग्ने अनुमान छ।
शिक्षातर्फ भूकम्प र मनसुनजन्य विपद्बाट १ हजार ५६२ पूर्वाधारमा क्षति पुगेकाले पुनर्निर्माणमा २ अर्ब २८ करोड ५२ लाख रुपैयाँ खर्च हुने आकलन छ।
स्वास्थ्यतर्फ ९० संरचनामा क्षति पुगेको छ। यी संरचना पुनर्निर्माण गर्न ७० करोड ७९ लाख २९ हजार खर्च हुने अनुमान छ।
खानेपानी, सरसफाइ तथा स्वच्छतातर्फ भूकम्प तथा मनसुनजन्य विपदबाट भएको क्षति पुनर्निर्माण गर्न ६ अर्ब ४८ करोड ६६ लाख ४७ हजार रुपैयाँ लाग्ने प्राधिकरणले बताएको छ।
यस्तै विपदबाट ३३ पुरातात्विक संरचनामा क्षतिपुगेकाले २४ करोड ९४ लाख रुपैयाँ खर्च हुने अनुमान छ।