इसराइल हमास लडाईंको १४ महिनापछि गजामा युद्धविराम हुने लगभग निश्चित भएको छ।
गजामा युद्धविरामको पहल गरिरहेका दुवैतर्फका वार्तकारहरु मंगलबार राति कतारको दोहामा अन्तिम सम्झौताका लागि भेट्ने तय भएको छ।
मध्यस्तकर्ताहरूले सोमबार इसराइल र हमासलाई सम्झौताको अन्तिम मस्यौदा बुझाइ सकेका छन्। यसलाई इसराइल-गजा युद्धबिरामको ‘ब्रेक थ्रु’ भनिएको छ।
मध्यरातमा भएको ब्रेकथ्रुमा हमास, इसराइल, अमेरिकी राष्ट्रपति जो बाइडेन र जनवरी २० देखि राष्ट्रपति पद सम्हाल्न लागेका डोनाल्ड ट्रम्पका प्रतिनिधिहरू पनि थिए भनेर समाचार संस्था रोयटर्सले लेखेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार एक कार्यक्रममा उक्त सम्झौतापछि गजामा युद्ध रोकिने बताएका थिए।
‘यो सम्झौताले बन्धकहरूलाई मुक्त गर्नेछ र लडाई रोक्नेछ। यसले इसराइललाई सुरक्षा प्रदान र हमासले सुरू गरेको युद्धमा पीडित भएका प्यालेस्टिनीहरूलाई मानवीय सहायता पुर्याउन सहज हुनेछ,’ बाइडेनले भनेका थिए।
बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभनले पनि सोमबार संवाददाताहरूसँग इसराइल र हमास युद्धविरामको नजिक रहेको बताएका छन्।
अक्टोबर ७ मा हमासले इसराइलमा आक्रमण गरेयता इसराइलले लगातार गजामा हमासलक्षित आक्रमण गर्दै आइरहेको छ।
त्यतिबेला इसराइलमा १ हजार २ सय जना मारिएका थिए। मारिनेमा १० जना नेपालीसमेत थिए। हमासले २४० जनालाई इसराइलबाट बन्धक बनाएर गजा पुर्याएको थियो।
बन्धकमा नेपालका विपिन जोशीसमेत छन्। गजामा हुन लागेको ब्रेकथ्रुले विपिन जोशीको रिहाइको आशा प्रबल बनाएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का हुन् विपिन । उनी सुदूरपश्चिम विश्वविद्यालयको कृषि तथा विज्ञान संकायमा अध्ययनकै क्रममा 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत अघिल्लो वर्षको भदौमा इसराइल गएका थिए।
त्यतिबेला विश्वविद्यालयबाट ४९ जना विद्यार्थी इसराइल पुगेका थिए। विपिनलगायत १७ जना एउटै फार्ममा काम गर्थे। असोज २० गते शनिबार हमासको आक्रमणमा उनीहरूमध्ये १० मारिए।
हमासले गोली बर्साउन थालेपछि विपिन साथीहरूसँग बंकरभित्र लुकेर बसेका थिए। विपिनले बंकरमा हमासले हानेको ग्रिनेड मान्छे नभएकातिर फ्याँकिदिएको भनेर नेपाल फर्किएकाहरूले बताएका थिए।
पछि हमासले बंकरभित्रै पुगेर गोली चलाई विपिनलाई तानेर लगेको उनीहरूले बताएका छन्।
त्यसयता मंसिर ३ गते इसराइली सैनिकले सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्वीटर) मा भिडिओ सार्वजनिक गरेको थियो। त्यसमा दुई जना बन्धकलाई हमासका लडाकुले उपचार कक्षमा लैजाँदै गरेको दृश्य थियो।
आइडिएफले ती दुईमध्ये एक नेपाली रहेको भनेको थियो। आइडिएफको दाबी सत्य भए तीमध्ये एकजना विपिन् रहेको आकलन गरिएको थियो।
युद्धको ४८ दिनपछि गजामा केही दिन युद्धविराम भएको थियो। त्यतिबेला एक सय भन्दा बढी इसराइली बन्धकहरू रिहा भएका थिए। इसराइलले युद्धविरामको समयमा पनि आक्रमण गरेको बताएर हमासले बन्धक नछाडेपछि इसराइलले गजामा सेना नै पठाएर आक्रमण सुरू गरेको थियो।
इसराइली आक्रमणमा ठूलो संख्यामा प्यालेस्टिनी नागरिकहरु मारिएको भन्दै अन्तर्राष्ट्रिय शक्तिहरूले युद्धविराम गर्नुपर्न विषयलाई जोडतोडका साथ उठाएका थिए। पछिल्लो समय युद्धविरामको पहल कतारले गरिरहेको भनेर पनि रोयटर्सले लेखेको छ।
दुई पक्ष युद्धविरामको नजिक पुग्दा नेपालका विपिन जोशी फर्केर आउने आश बढेको छ।
सोमबार संसदीय समितिको बैठकमा परराष्ट्र मन्त्री आरजु राणा देउवाले विपिन जोशी जिवित रहेको र चाँडै नेपाल फर्कने बताएकी थिइन्।