राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन संसद भवनको अवलोकन गरेका छन्।
सोमबार दिउँसो सिंहदरबार पुगेर राष्ट्रपति पौडेलले निर्माणाधीन संसद भवनको अवलोकन गरेका हुन्।
राष्ट्रपति पौडेलसँगै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल पनि अवलोकनका लागि पुगेका थिए।
राष्ट्रपति पौडेलले निर्माण पक्षसँग भवन निर्माणको प्रगतिबारे बुझेका थिए।
सिंहदरबारको पुतली बगैंचा रहेको ठाउँमा १७३ रोपनी क्षेत्रमा संघीय संसद भवन निर्माणको काम भइरहेको छ।
यो भवन ६ अर्बभन्दा बढी रकम खर्च गरेर निर्माण भइरहेको छ।
संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको भव्य संरचना निर्माण भइरहेको छ।
भवन निर्माणको ठेक्का तुँदी सेक ज्वाइन्ट भेन्चरले पाएको थियो। भवन निर्माणको काम तीव्र गतिमा अघि बढेको छैन। त्यसकारण पटक-पटक म्याद थप गरिँदै आइएको छ।
यो भवन शिलान्यास २०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।
संघीय संसद भवन नहुँदा २०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संघीय संसद भवनको रूपमा प्रयोग गर्दै आएको छ।
तस्बिरहरूः