प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा परराष्ट्र मन्त्री आरजु राणा देउवाले भारत र चीन भ्रमणका बेला त्यहाँका विदेश मन्त्रीहरूसँग भएका कुराकानी ब्रिफिङ गरिन्। सांसदहरुले राणालाई सार्क सम्मेलनको आयोजना हुन नसकेको र चीनसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्ने विषयमा प्रश्न सोधेका थिए। जवाफ दिने क्रममा राणाले भारत र चीनका समकक्षीसँग भएका कुराकानी उल्लेख गरिन्।
गत भदौ ३ गते भारत भ्रमणका क्रममा परराष्ट्र मन्त्री देउवाले समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन्।
उक्त प्रसंग उप्काउँदै परराष्ट्र मन्त्री राणाले सार्क बैठक आयोजनाबारे आफूले जयशंकरसँग कुरा उठाएको बताइन्।
‘भारत भ्रमणका क्रममा मैले सार्क राष्ट्रका प्रमुखहरुको बैठकबारे एस जयशंकरसँग कुरा उठाएको थिएँ। जयशंकरले त्यसबेला भन्नुभएको थियो-तिम्रो देशमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो? त्यसपछि मैले केही भन्ने अवस्था नै रहेन।’
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, भुटान, माल्दिभ्स र श्रीलंका छन्।
सन् २०१४ मा नेपालमा १८ औं सार्क शिखर सम्मेलन भएको थियो। १९ औं सार्क शिखर सम्मेलन पाकिस्तानले आयोजना गर्ने भए पनि सार्कको नेतृत्व हस्तान्तरण भएको छैन।
भारतले सन् २०१६ मा आफ्ना सैनिकहरूमाथि आक्रमण भएको र त्यसमा पाकिस्तानको हात रहेको बताउँदै सार्क शिखर सम्मेलन गर्न चासो नदिएको आरोप छ।
परराष्ट्र मन्त्री देउवासँगको भेटमा पनि आफ्ना सैनिकहरू मारिएको प्रसंग भारतीय विदेश मन्त्री जयशंकरले निकालेका थिए।
‘नेपालले सार्कको नजरअन्दाज गरेको छैन, हामीले सार्क बैठकका लागि पहल गरेका छौं,’ परराष्ट्र मन्त्री राणाले समिति बैठकमा भनिन्, ‘संयुक्त राष्ट्रसंघ महासभाका क्रममा साइडलाइन बैठक पनि गर्न हामीले पहल गरेकै हो।’
सार्क सम्मेलनबारे भारतका केही फरक मत रहेको उल्लेख गरेकी परराष्ट्र मन्त्री राणाले बिम्स्टेक बैठक गर्न सबै सहमत रहेको बताइन्।
‘बिम्स्टेक बैठक गर्न सबै सहमत छन् तर सार्क शिखर सम्मेलनका कुरा हाम्रो कन्ट्रोलमा छैन,’ उनले भनिन्। बिम्स्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, थाइल्याण्ड, म्यानमार, श्रीलंका छन्।
सार्क शिखर सम्मेलनको आयोजनाबारे राणालाई नेकपा एमालेकी सांसद सुनिता बरालले प्रश्न सोधेकी थिइन्।
त्यसपछि राणाले चिनियाँ विदेशमन्त्रीसँगको भेटबारे बताइन्।
कांग्रेसका सांसद विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको प्रसंग निकाल्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणलाई अनुदानमा बदल्नेबारे कुनै प्रस्ताव गरियो कि गरिएन भनेर सोधेका थिए।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणलाई अनुदानमा बदल्ने प्रस्ताव चीनमा गएको भनेर सुनिएको थियो, प्रधानमन्त्रीको चीन भ्रमणका बेला यो कुरा उठ्यो कि उठेन? हामीले यसबारे प्रस्ताव गरियो कि गरिएन?’ परराष्ट्र मन्त्री देउवालाई लक्ष्य गर्दै निधिले सोधे।
जबाफ दिँदै परराष्ट्र मन्त्री राणाले प्रधानमन्त्रीको चीन भ्रमणका बेला पोखरा अन्तर्राष्ट्रिय विमास्थलबारे कुरा नउठेको बताइन्।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे हाम्रो मन्त्रालयबाट कुनै प्रस्ताव नै गएको छैन, प्रधानमन्त्रीको चीन भ्रमणका बेला पनि यो कुरा त्यहाँ उठेन,’ उनले भनिन्।
प्रधानमन्त्रीको भ्रमणअघि आफ्नो चीन भ्रमणमा भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे कुरा उठेको उनले सुनाइन्। परराष्ट्र मन्त्री देउवा गत मंसिर १३ गते चीन भ्रमणमा गएकी थिइन्।
मंसिर १४ गते चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेर भोलिपल्ट उनी स्वदेश फर्केकी थिइन् भने मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उनी पनि चीन भ्रमणमा गएकी थिइन्।
प्रधानमन्त्रीको चीन भ्रमणअघि चिनियाँ विदेशमन्त्रीसँग आफूले गरेको कुराकानी सुनाउँदै परराष्ट्र मन्त्री देउवाले बिआरआई अन्तर्गत नेपालले ऋण लिन नसक्ने कुरा राखेको बताएकी हुन्।
‘चिनियाँ विदेशमन्त्रीले मसँगको भेटवार्तामा पोखरा विमानस्थल सञ्चालनमा र विमानस्थल थप चलायमान बनाउन सहयोग गर्छौं भन्नुभएको थियो,’ उनले भनिन्, ‘मैले त्यसबेला बिआरआईमा नेपालले ऋण लिन सक्दैन भनेको थिएँ। कुनै ऋण लिने नेपालको तयारी छैन भनेको थिएँ। चीन धनी देश हो, त्यसकारण हामी चीनको अनुदान स्वीकार गर्छौं भनेर मैले निर्लज्जताका साथ भनेको थिएँ। विदेशमन्त्री वाङ यी मभन्दा अनुभवी र सिनियर भएकोले पनि एउटा सानी बहिनीका रूपमा मैले त्यो भन्न सकेँजस्तो लाग्छ।’
उनले नेपालसँग गरिएको बिआरआई सम्झौतामा ऋण भन्ने शब्द नै नरहेको उल्लेख पनि गरेकी छन्।