राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला अदालत काठमाडौंमा आइतबार बयान लिइएको छ।
बयान सकेपछि थुनछेक बहस सुरू गर्ने भनिए पनि सरकारी वकिलले समय माग गरेकोले आइतबार थुनछेक बहस नहुने भएको हो।
सरकारी वकिल चन्द्र सन्जेलले बयानको अध्ययनका लागि थप समय माग गरेका हुन्। त्यसकारण आइतबार थुनछेक बहस नहुने भएको हो।
लामिछानेमाथि काठमाडौंको स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको मुद्दा छ।
रास्वपा सभापति लामिछाने आइतबार बिहान काठमाडौं अदालत हाजिर भएका थिए।
लामिछानेले भने आफू अदालत हाजिर भएकोले थुनछेक बहस नहुने हो भने परिवारको जिम्मा लगाउन माग गरेका छन्।
लामिछानेका तर्फबाट वकिलहरू रमण श्रेष्ठ र सुशील पन्तले पनि परिवार वा वकिलको जिम्मा लगाउन माग गरेका छन्।
लामिछानेलाई प्रहरी हिरासत पठाउने कि परिवारको जिम्मा लगाउने भन्नेबारे आइतबार नै आदेश आउनेछ।
काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरूपयोग आरोपमा लामिछानेसहित ३९ जनाविरूद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दर्ता भएको थियो।
रास्वपा सभापति लामिछानेलाई सुर्यदर्शन सहकारी पोखराको मुद्दामा जिल्ला अदालत कास्कीले यसअघि ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।
यो पनि: काठमाडौंको स्वर्णलक्ष्मी सहकारी बचत दुरूपयोग आरोपमा ३९ जनाविरूद्ध मुद्दा दर्ता