धरानका मेयर हर्क साम्पाङले मुलुकको संवैधानिक अंग अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उल्टै उसैको काम सम्झाउँदै र आफूले गरिरहेको कामको हिसाब नखोज्न भन्दै पत्र पठाएका छन्।
मेयर साम्पाङको नेतृत्वमा धरानमा जारी विभिन्न योजनाहरुमा आर्थिक अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियारले उनलाई सोधपुछका लागि भन्दै पत्राचार गरेको थियो।
शुक्रबार आफूले पत्र पाएको बताउँदै मेयर साम्पाङले आफूले गरिरहेको काममा राज्यको पैसा खर्च नभएका कारण अख्तियारले हिसाब खोज्न नहुने जबाफ पठाएका हुन्।
मेयर साम्पाङविरूद्ध श्रम संस्कृति पार्क निर्माण, खानेपानी आयोजना निर्माण र सुम्निमा पारुहाङको मूर्ति निर्माणमा अख्तियारको दुरुपयोग गरेको तथा आर्थिक अनियमितता गरेको आरोपसहितको उजुरी अख्तियारमा परेको थियो।
अख्तियारको पत्र प्राप्त हुनेबित्तिकै मेयर साम्पाङले सामाजिक सन्जाल फेसबुकमार्फत आक्रोशित प्रतिक्रिया दिएका थिए। उनले शुक्रबार फेसबुकमै लेखेका थिए, ‘श्रमदान किन गरेको भन्दै अख्तियारले प्रश्न सोधेको छ। उत्तर पठाउँदैछु।’
अख्तियारले हर्कलाई श्रमदान किन गरेको भनेरै प्रश्न सोधेको थियो त?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले पत्रमा उल्लेख भएको व्यहोराबारे खुलाएनन्। तर, ‘सार्वजनिक जिम्मेवारीमा रहेको व्यक्तिविरुद्ध उजुरी आएपछि त्यो विषयमा के कसो भएको हो भनेर कागजात र जवाफ माग्दै पत्राचार गर्नु अख्तियारको नियमित काम भएको’ उनको भनाइ थियो।
प्रवक्ता घिमिरेले अख्तियारले दैनिक सयौं पत्र तयार पारेर सम्बन्धित व्यक्तिहरुलाई पठाउने काम गरिरहने भएकाले यो नियमित काम भएको उल्लेख गरे। साम्पाङले पठाएको पत्र अख्तियारले प्राप्त गरे–नगरेकोबारे आफूले आइतबार मात्रै भन्न सक्ने उनको भनाइ थियो।
इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक कर्मचारीले भने धरानका मेयर साम्पाङले अख्तियारको पत्रबारे भ्रम फैलाउन खोजेको बताए।
‘उहाँलाई श्रमदान किन गरेको भनेर आयोगले सोधेको छैन,' ती कर्मचारीले भने ‘श्रमदान अभियानमा व्यापक आर्थिक अनियमितता भएको उजुरीबारे सोधिएको हो, श्रमदान किन गरिएको भनेर सोधेको होइन।’
अख्तियारको पत्र प्राप्त हुनासाथ सोध्दै नसोधेको प्रश्न सोधेको भन्दै फेसबुकमा प्रचार गरेका मेयर साम्पाङले अख्तियारलाई पठाउने पत्र पनि फेसबुकमै सार्वजनिक गरेका छन्।
अरुबेला जस्तै अख्तियारलाई पठाएको जबाफी पत्रमा पनि साम्पाङले आफ्नै लवज प्रयोग गरेका छन्। अख्तियारलाई पठाइएको भनिएको पत्रमा प्रयोग भएको भाषाले संवैधानिक अंगको मर्यादा नराखेको भन्दै धरानकै जनप्रतिनिधिहरुले असन्तोष पोखेका छन्।
आफूतिर उठ्ने प्रश्नलाई सधैं लोकप्रियतावाद र भावुकताले टार्नु मेयरको विशेषता नै रहेको धरानकै एक वडाध्यक्ष बताउँछन्।
‘अरु धेरै विषयमा उनका समर्थकबाट सन्जालमा गाली भेटिएको छ, अब यो मामिलामा पनि गाली खान मन छैन,' ती वडाध्यक्ष्यले सेतोपाटीसँग भने ‘अख्तियारलाई लेखेको पत्रमा मेयरले चरम दम्भ त प्रदर्शन गरेका छन् नै, संवैधानिक अंगको मर्यादासमेत राखेका छैनन्। धरानमा पत्रकार र आलोचकलाई थर्काए जसरी पत्र लेखेका छन्।’
ती वडाध्यक्षले त्यही पत्र अख्तियारलाई पठाएको हो होइन भन्नेबारेमा शंका रहेको बताए।
‘हाम्रा मेयर सिपालु कलाकार हुन्, सन्जालमा के बिक्छ उनलाई राम्रो थाहा छ’ उनले थपे ‘फेसबुकमा त्यस्तो पत्र हालेर अख्तियारमा चाहिँ अर्कै पठाएका हुनसक्छन्।’
हर्कले अख्तियारलाई पठाएको भनेको पत्रमा धरानमा ऐन विपरीत कुनै किसिमको योजना नगरिएको बताएका छन्।
उनले भनेका छन् ‘ श्रम संस्कृति पार्क भनेको फोहोरै फोहोर रहेको गुहेघारी बगरलाई फूलैफूल र विरुवाले भरिएर फलफूल फुलाइएको फलाइएको बगैचाको रुपमा परिणत गरिएको पार्क हो। देशभरका श्रमदाताहरुले पसिना बगाएर, विरुवा रोपेर, ढुङ्गा बोकेर, वर्षौंसम्म श्रमदान गरेर बनाइएको पार्क हो। जहाँ युके, हङकङ, अमेरिका लगायतका देशहरुमा रगत पसिना बगाएर जीउ पाल्न बाध्य भएका नेपालीहरुले अरु कसैले बाध्य नबनाई स्वेच्छाले दान गरेर आफ्नो पितृको नाममा फलैचाहरु निर्माण गरिदिएका छन। अहिले सबैको मन तान्न सफल श्रम संस्कृति पार्कले काम गर्नु पर्छ, हावामा हल्लेर हिंडनु हुँदैन, काम गरे बजेटबिनै पनि पार्कहरु निर्माण गरी देश विकासमा योगदान दिन सकिन्छ भन्ने सन्देश दिएको छ।’
मेयरले अख्तियारसँग ‘सन्देश दिएको’ दाबी गरेको श्रम संस्कृति पार्कबारे भने धरानमा धेरै प्रश्न र विवाद छन्।
धरानका दुईवटा वडाहरु २० र १३ नम्बरमा पर्ने यो पार्क सर्दु खोला किनारमै स्थापित छ। धरान उपमहानगरका जनप्रतिनिधि र कर्मचारीहरु स्वयम् श्रम संस्कृति पार्क ऐन नियम मिचेर जबरजस्ती बनाइएको बताउँछन्।
‘यो पार्क बनाउँदा कार्यपालिकामा छलफलसम्म भएको छैन’, धरान १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले भने, ‘छलफलसमेत नभएको पार्क बनाउँदा वातावरणीय प्रभाव मूल्यांकनबारे अध्ययन भयो होला भन्ने कुनै निश्चतता छैन।’
यस विषयमा हर्कका निकट सहयोगी एवम् श्रमदान अभियानको सम्पूर्ण हिसाबकिताब राख्ने व्यक्ति दत्तकुमार लिम्बूले यसअघि नै जनताले बनाएको पार्कका लागि के को छलफल र अध्ययन भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए।
लिम्बू तिनै व्यक्ति हुन्, जो हर्क स्वतन्त्र रुपमा मेयरको उम्मेद्वार बन्दा उपमेयरमा उठेका थिए। श्रमदानका क्रममा सबैतिरबाट आउने पैसा बुझ्नेदेखि हिसाब राख्नेसम्मको सबै जिम्मा लिएका दत्तकुमारले यसअघि नै पार्कको हिसाब खोज्ने पत्रकारहरुलाई हर्ककै शैलीमा थर्काएका थिए।
‘खोलाको पैसा खोलैमा गयो, बग्यो’ भन्दै उनी हिसाब खोज्नेहरुलाई मेयरले जस्तै जबाफ दिन्थे र प्रश्न गर्नेहरूलाई ‘विकासविरोधी, श्रमदान विरोधी’भनिदिन्थे।
उपमहानगरका प्राविधिक कर्मचारीहरुले दिएको जानकारी अनुसार मेयरले आफ्नै ठूलो फोटो र आफ्नै भनाइ लेखिएको बोर्ड राख्न लगाएर खडा गरेको पार्क जलाधार र वन क्षेत्रमा पर्छ। जलाधार र वन क्षेत्रमा यस्तो संरचना बनाउन कानुनले दिँदैन।
तर, मेयर साम्पाङले आफू स्थानीय सरकार प्रमुख भएकाले धरानमा अरुले लगाउने नियम कानुन नमान्ने, आफै कानुन बनाउने अभिव्यक्ति बारम्बार दिँदै आएका छन्। वनको जमिनमा संरचनाहरु नबनाउन अनुरोध गर्ने वनका कर्मचारीहरुलाई समर्थकहरुकै सामुमा हर्कले थर्काएर पठाएका भिडियोहरु यसअघि नै ‘भाइरल’ भइसकेका छन्।
त्यसो त केही समयअघि आफू बेलायत जाँदा ‘शुभयात्रा नभनेको’ भन्दै उपमेयरलाई कार्यवाहक नदिएको बताउँदा पनि भाइरल नै भएका हर्कले ‘धरानलाई चाहिने कानुन आफै बनाउने’ बताएका थिए।
आफूले अख्तियारलाई पठाएको भनेको पत्रमा मेयरले दलहरुप्रतिको आफ्नो सदाबहार आक्रोश लुकाएका छैनन्। सँगै अख्तियारले कसका पछि लाग्नु ठीक हुन्छ भनेर उल्टै अख्तियारलाई नै सम्झाएका पनि छन्।
‘भाषणवीर नेताहरुका लागि पार्क सन्देशसमेत भएको’ उल्लेख गरेका उनले राज्यकोषको रकम नपरेका कारण अख्तियारले हिसाब खोज्नै नमिल्ने तर्कसमेत गरेका छन्।
उनले भनेका छन् ‘ यो पार्क कुनै बजेटको योजना नभएर जनताको श्रम प्रतिको सम्मान र श्रमदान अनि योगदानको इतिहास हो। बजेटको काम नभएकोले सार्वजनिक खरिद गर्न नपरेको जानकारी गराउँदछु। जे गर्दैछन् जनताले आफ्नै खर्चले गर्दैछन्। सरकारी पैसा प्रयोग भएको छैन। दाताले खाना खानु भनेर दिएको पैसाको खाना खाको कुरा सरकारले खोज्नु हुन्न। नेताहरुले विदेश भ्रमणमा कति खाए, कार्यकर्ताले सभा सम्मेलनमा कति खाए राज्यको कोष कसरी दुरुपयोग भयो र हुँदैछ त्यसतर्फ ध्यान दिनु उचित हुन्छ।’
धरानमा लगातार उठिरहेको हिसाबकिताब पारदर्शी बनाउनुपर्छ भन्ने मागलाई सधैं बेवास्ता गर्दै आएका मेयरले बेला–बेला आर्थिक संयोजक उनै दत्तकुमार लिम्बूलाई मुखैले हिसाब सुनाउन लगाउने गरेका छन्। पछिल्लो समय कोकाहा खानेपानीको हिसाब मुखैमा सार्वजनिक गर्दै लिम्बूले ७ करोडभन्दा बढीको कारोबार भएको सुनाएका थिए। यसरी करोडौं रकमको कारोबार भइरहेको ‘श्रमदान अभियान’को हिसाबकिताब लेखाको प्रचलित मान्यता अनुसारको नभएको गुनासो धरानमा उच्च छ। जनप्रतिनिधिहरुले नै यसबारे बारम्बार आवाज उठाउँदै आएका छन्।
पछिल्लो समय आर्थिक संकलनमा हर्कले जोड दिइरहेको अर्को अभियान पारुहाङ र सुम्निमाको प्रतिमा बनाउने अभियान हो। यसैका लागि उनी बेलायतसम्म पुगे। कलाकारहरु बोलाएर धरानमा कन्सर्टहरु पनि गर्दै आएका उनलाई यसबारे पनि अख्तियारले सोधेको साम्पाङको जवाफी पत्रले देखाउँछ।
उनले पत्रमा भनेका छन् ‘पारुहाङ र सुम्निमाको प्रतिमा बनाउने कार्य निकट भविष्यमा शुरु हुनेछ। नेपालीहरुको प्राचीन सभ्यता, किराँतहरुको आदिम पूर्खाको प्रतिमासहितको साँस्कृतिक सम्पदा निर्माण गरिछाड्ने हाम्रो अठोट छ। यसमा पनि एक पैसा पनि सरकारी बजेट प्रयोग भएको छैन। जग्गा समेत नीजि जग्गा किनेर बनाउने हो। यो हाम्रो आस्थासँग पनि जोडिएको विषय भएकोले समुदाय र जनताले आफैले लागत जोहो गर्नेछन् । राज्यको कोष प्रयोग नगरिने भएको हुँदा सार्वजनिक ऐनको कुरा आकर्षित हुँदैन यहाँ। काम शुरु भएको छैन । भए पछि हेर्न आउँदा हुन्छ सबै।’
उनले यसमा पशुपतिनाथको प्रसंगसमेत झिकेर आफूलाई राज्यले सम्मान गर्नुपर्ने भन्दै अख्तियारलाई हाँक दिएका छन्। उनी लेख्छन् ‘पशुपतिनाथ कसरी निर्माण भयो भन्ने कुरा अख्तियारले खोज्न पाउला नपाउला थाहा भएन तर राज्यको एकै पैसा पनि नलिई सुम्निमा पारुहाङको मूर्ती बनाउन लाग्छ राज्यले सम्मान गरोस् मलाई र हाम्लाई ।’
कोकाहा खानेपानी आयोजनाबारे जवाफ दिने क्रममा पनि साम्पाङले आफ्नै लवजमा ‘विदेशीले मेरो हुनर चिन्यो तर नेपालले चिनेन’ भन्दै दुखेको प्रकट गरेका छन्।
मेयर साम्पाङ अगाडि लेख्छन् ‘धरानमा ५६ करोड ऋण बोकाएर एडिबीको को आयोजनाले पानी खुवाउन सकेन आयोजना फेल भयो भनेर छानबीन गरिपाऊँ भनी मैले नै अभियन्ता हुँदा उजुरी लगाएँ। अख्तियारले सुनेन पत्याएन। अब आएर धरानमा पानीको दुःख नहोस भनेर निर्वाचित भए देखि नै खोलाखोली जोडेर धरानेलाई पानी खुवाएको छु। त्यो देखि नसहेर खोई कसले बारम्बर पिचृक पिचृक उजुरी हालिरहन्छ। श्रमदानबाट ल्याइएको पानी हो। पानी थप्ने भएकोले पानीको नियमानुसार गरिएको छ।’
उनले कुनैबेला आफूलाई मुद्दा हाल्नेहरुविरुद्ध अदालत परिसरमै बरु सिंगल–सिंगल भिडौं भनेर भनेका थिए। यसपटक उनले अख्तियारले आफूलाई नचिनेको भन्दै गुनासो गरेका छन्।
‘विदेशीले हाम्रो हुनर चिन्यो तर नेपाल सरकार र यसका अंग अख्तियारले मलाई मुद्दा लाको लाकै लाको लाकै लाको लाकै लाको लाकै गर्छ। छक्क पर्छ। यो देशमा राम्रो काम गर्नेलाई किन खेदेको ? विकास गर्नु अपराध हो त ? श्रमदान गर्नु र श्रमदान बाट बिकास गर्नु अपराध हो त ?’ उनले अख्तियारलाई सोधेका छन् ‘ठेक्कै लाउनु पर्ने ? ठेकेदारलाई पोषाउनै पर्ने हो त ?’
उनले ‘जनतालाई श्रमदान गराएर कत्रो कत्रो काम गरिएको छ’ भन्दै ‘ यो किन देखि नसहेको ?’ भनेरसमेत सोधेका छन्।
पत्रको अन्त्यमा उनले अख्तियारलाई गम्भीर आरोपसमेत लगाएका छन्। राज्यको अर्बौ रकम हिनामिना हुँदा अख्तियार मौन रहेको उनले बताएका छन्।
‘राज्यकोषको अरबौं खरबौं रकम दुरुपयोग र हिनामिना हुँदा मौन रहने अख्तियारले जनता स्वस्फुर्त आएर गर्ने श्रमदान र जनता आफैले स्वेच्छाले आर्थिक सहयोग गरी गर्न लागेको श्रमदानका योजनाहरु पछि लागेको देख्दा अचम्म लाग्छ,' उनले पत्रमा भनेका छन्।