नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) भित्र पछिल्लो समय विवाद देखा परेको छ।
संस्थापन पक्ष र संस्थापनइतर पक्षबीच सदस्यता वितरणलगायत सहजीकरण गर्न केन्द्रीय प्रतिनिधि तोक्ने विषयले विवादको रूप लिँदा नेता शेखर कोइरालानिकट नेविसंघ केन्द्रीय प्रेमिका राना मगरको नेतृत्वमा समानान्तर गतिविधि भइरहेका छन्।
कांग्रेसले नेविसंघलगायत भ्रातृ संस्थालाई चैतभित्र महाधिवेशन सक्न निर्देशन दिँदै निर्देशन समिति पनि गठन गरेको छ। तर नेविसंघभित्र समानान्तर गतिविधि देखिए पनि समाधानका लागि ठोस पहल गरेको देखिँदैन।
नेविसंघभित्र समानान्तर गतिविधि बढ्दै जाँदा चैतभित्र १२ औं महाधिवेशन नहुने हो कि भन्ने आशंका पैदा हुन थालेका छन्। महाधिवेशन गर्न दुजाङ शेर्पा नेतृत्वमा ७५६ सदस्यीय नेविसंघ तदर्थ समिति छ, यसमा पदाधिकारी छैनन्।
नेविसंघमा देखा परेका विवाद र समानान्तर गतिविधिलगायत विषयमा केन्द्रित रहेर प्रवक्ता सुरज सेजुवालसँग सेतोपाटीले गरेको अन्तर्वार्ताको सम्पादित अंश;
नेविसंघले चैतभित्र महाधिवेशन गर्ने भनेको छ, विधान परिमार्जन र सदस्यतालगायत तयारी कहाँ पुग्यो?
मातृ पार्टी नेपाली कांग्रेसले गत असोज १६ गते नेविसंघको १२ औं महाधिवेशन चैत्र मसान्तसम्म अनिवार्य रूपमा सम्पन्न गर्न संघकै पूर्वअध्यक्षसमेत रहनुभएका पार्टी सहमहामन्त्री किशोरसिंह राठौरको संयोजकत्वमा तीन सदस्यीय निर्देशन समिति गठन गर्यो।
गत मंसिर ९ गते निर्देशन समितिले नेविसंघ केन्द्रीय समितिसँग पार्टी केन्द्रीय कार्यालय सानेपामा अन्तर्क्रिया गरेर १२ औं महाधिवेशन केन्द्रित राष्ट्रव्यापी सदस्यता वितरणमा केन्द्रित हुन निर्देशन दियो। त्यसअनुसार निर्देशन समितिबाट प्राप्त कार्यादेश कार्यान्वयन गर्न संघले आफ्नो केन्द्रीय कार्यालयमा केन्द्रीय सदस्यहरूसँग प्रदेश स्तरीय छलफल कार्यक्रम राखी राष्ट्रव्यापी सदस्यता वितरणमा एवं सुझाव संकलन अभियान २०८१ सञ्चालन गरेको छ।
हाल देशैभरिका आफ्ना मातहतका निकाय परिचालन गरी जिल्ला, गाउँ, नगर, उपमहानगर र महानगरपालिका, विद्यालय, क्याम्पस, प्रतिष्ठान, शिक्षालय र विश्वविद्यालयका केन्द्रीय क्याम्पसमा अनलाइन र भौतिक दुवै माध्यमबाट सदस्यता वितरण जारी छ। विधान समितिले विधान संशोधन एवं परिमार्जनको कार्य सम्पन्न गरी केही दिनमै पार्टीलाई अनुमोदनका लागि पेस गर्दैछ।
तर यसमा केही साथीहरू सहभागी भएका छैनन्। नेता शेखर कोइराला समूहका नेविसंघ केन्द्रीय सदस्यहरू सहभागी हुनु भएन। हामीले पटक-पटक औपचारिक र अनौपचारिक रूपमा यसबारे कोइराला समूहका साथीहरूलाई छलफलमा बोलाउँदा भागबन्डा नमिलेसम्म कुनै पनि छलफलमा सहभागी नहुने कुरा राख्ने गर्नुभयो।
नेविसंघभित्र समानान्तर गतिविधि भइरहेको छ, किन हो?
विडम्बनाका साथ भन्नैपर्छ, यो बार्गेनिङको अभ्यास हो। नेविसंघका नियमित एवं महत्वपूर्ण कार्यक्रम अवरोध गरे आफूले संस्थापन पक्षबाट समिति, विभाग, जिल्ला र अन्य निकायहरूमा खोजेको र रोजेको भाग पाउने मनसायले समानान्तर गतिविधि भइरहेको छ, यो संघको हितमा छैन ।
कांग्रेसभित्र हुने विचार समूहको अभ्यासको प्रभाव नेविसंघ मा पर्ने गरेको छ। वर्तमान केन्द्रीय कार्यसमिति विस्तार हुँदा पार्टीभित्र एक कित्तामा उभिएको नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहसँग जोडिएका केन्द्रीय सदस्यहरूबीच संस्थापन पक्षबाट प्राप्त गर्नुपर्ने राजनीतिक अवसरका लागि अन्तरद्वन्द्व उत्कर्षमा पुगेको थियो। फलस्वरूप नेविसंघभित्र शेखर-गगन समूह फुट्यो।
नेविसंघका निकाय, समिति र विभागमा ४० प्रतिशत भाग पाउनुपर्ने शेखर कोइराला समूहको दाबी छ भने गगन थापा समूह आफूलाई शेखर पक्षले ४० प्रतिशत लिँदा स्वीकार्य नहुने र संस्थापन पक्षले शेखर-गगन पक्षलाई २०-२० प्रतिशत हुने गरी भाग लगाइदिनु पर्ने भन्ने दाबी गर्दैआइरहेको छ जसकारण संघभित्र शेखर-गगन समूहको अन्तरसङ्घर्ष र फुटले एकताको वातावरण बिथोलेको हो।
दुई पक्षले जिल्ला अध्यक्ष तोक्ने, केन्द्रीय प्रतिनिधि तोक्ने र सदस्यता बाँडेको देखिन्छ, आधिकारिक कुन हो?
नेविसंघको विधान २०२७ संशोधन सहितको धारा १३ (ज) लगायत अन्य प्रावधानबमोजिम अध्यक्ष बाहेकले तोकेको जिल्ला अध्यक्ष वा केन्द्रीय प्रतिनिधिको कुनै वैधानिकता हुँदैन। अध्यक्षको हस्ताक्षर भएको सदस्यता र अध्यक्षले तोकेको प्रतिनिधि नै आधिकारिक हुन्छ।
दुवै पक्षले पार्टी अनुशासन समिति गुहारेका छन्, किन यो अवस्था आयो?
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले बोलाएको छलफलमा सहभागी नहुने, नेविसंघका कार्यक्रमहरूमा सहयोग नगर्ने, अध्यक्षको कुरा चित्त नबुझेको अवस्थामा पार्टीमा सम्बधित विद्यार्थी विभाग छ, त्यहाँ जान सकिन्छ।
नेविसंघको १२ औं महाधिवेशन गराउन केन्द्रीय निर्देशन समिति छ, त्यहाँ गएर आफ्नो कुरा राख्न सकिन्छ। तर सार्वजनिक कार्यक्रमहरूमा र सञ्चारमाध्यममा संघको अध्यक्षमाथि बिना प्रमाण झुटा आरोप, आर्थिक अपचलनको लाञ्छना लगाई व्यतिगत चरित्र हत्या गरी संघको छविसमेत धुमिल गर्ने संगठनको विधि र पद्धति समेतको धज्जी उडाउने, विद्यार्थी आन्दोलनमाथि चौतर्फी आक्रमण भइरहेको यस्तो गम्भीर परिस्थितिलाई आत्मसात गरी विद्यार्थी आन्दोलनलाई नयाँ ढङ्गबाट परिभाषित गर्न अहोरात्र लागिरहेको अवस्थामा सञ्चालन गरिएका र लोकप्रिय बन्दै गइहेका 'मेरो शिक्षा मेरो प्रश्न' जस्ता अभियानलाई बदनाम गर्ने, संघद्वारा आयोजना हुँदै गरेको अन्तर्राष्ट्रिय अन्तरविश्वविद्यालय टि २० क्रिकेट प्रतियोगितालाई समेत जोडेर अनर्गल प्रचार गरेका कारण आफूमाथि लागेका आरोपको निष्पक्षर छानबिन होस् भनेर अध्यक्षज्यूले पार्टीको अनुशासन समितिलाई निवेदन दिनुभएको हो।
मुख्य-मुख्य विवाद के हो? समाधान गर्न के प्रयास भएको छ?
कांग्रेसभित्र वैचारिक समूहकोहरूको अन्तरसंघर्ष चलिनै रहन्छ, जसको प्रभाव नेविसंघमा पर्ने गरेको छ। यसलाई धेरै ठूलो कुरा पनि मान्न हुँदैन। नेविसंघभित्र देखिएको मुख्य विवाद भनेकै भागबन्डा हो, यसलाई हामी गलत अर्थमा बुझेका छैनौं तर संवादमा आउनुपर्यो। मिडियामा गएर व्यक्तिगत तवरमा झुटा आरोप लगाउनु भएन।
विवाद गर्ने साथीहरू जस्तै अन्य धेरै साथीहरूको समेत चित्त बुझाउनु पर्ने हुन्छ, संगठन साझा र सामिप्यताको भावनाले चल्नुपर्छ, आफूले बढी पाउँदा अरूको अधिकार खोसिन सक्छ भन्ने हेक्का राख्नुपर्छ, हामीलाई त सबैलाई समान अवसर दिनुपर्ने बाध्यता छ।
असन्तुष्ट साथीहरूलाई संवादमा आउन हामीले आग्रह गरेका छौं। पार्टीको विद्यार्थी विभाग र १२ औं महाधिवेशन निर्देशन समितिसँग छलफल भइरहेको छ, मलाई लाग्छ- हामी छिट्टै समाधानमा पुग्नेछौं।
अध्यक्षमाथि केन्द्रीय सदस्य प्रेमिका राना मगरले चन्दा आतंक, आर्थिक हिनामिना र गैरसांगठानिक गतिविधिको आरोप लगाएको देखिन्छ, कुरा के हो, छानबिनको लागि तपाईंहरू तयार हो?
अध्यक्ष दुजाङ शेर्पामाथि लागेका आरोप निराधार र गैरराजनीतिक हो। कांग्रेस र कांग्रेसका नेताहरूको सहयोगले पनि नेविसंघ चल्ने गरेको छ, यसको नियमित आर्थिक स्रोत हुँदैन।
आफूमाथि लागेका आरोपको निष्पक्ष छानबिन होस् र दोषी देखिए कारबाही होस् भनेर अध्यक्ष स्वयंले पार्टीको अनुशासन समिति र निर्देशन समितिलाई निवेदन नै दिइसक्नुभएको अवस्थामा छानबिनका लागि तयार नरहेको भन्ने प्रश्न नै उठ्दैन।
प्रश्न उठेपछि छानबिन होस् भन्ने हाम्रो पनि माग हो। तर आरोप पुष्टि नभए आरोपका लागि मात्रै आरोप लगाउने र संघको छवि बिगार्ने जोसुकै माथि अनुशासनको कारबाही हुनुपर्छ।
यस्ता विवादमा अल्झेको नेविसंघले शैक्षिकलगायत मुद्दामा ध्यान दियो? नेविसंघ के गर्दैछ?
हाम्रो मूल उदेश्य भनेकै नेपालको शिक्षा प्रणालीको गुणात्मक विकास होस् भन्ने हो। नेविसंघले सञ्चालन गरेको 'मेरो शिक्षा मेरो प्रश्न' अभियानमार्फत् मात्रै विद्यालय रक्याम्पसले शिक्षा ऐन विपरीत हजारौं विद्यार्थीबाट असुलेको लाखौं रकम फिर्ता भएको छ।
विद्यालय शिक्षा विधयेक तत्काल जारी गर्न र विश्वविद्यालय छाता ऐन संसदमा दर्ता गर्न सम्बधित संसदीय समिति र मन्त्रालायलाई पटक-पटक ध्यानाकर्षण गराएका छौं।
'पेड इन्टर्नसीप' अभियानमार्फत् हजारौं विद्यार्थीहरू पारिश्रमिक साहितको इन्टर्नसीप कार्यक्रामबाट लाभान्वित भएका छन्। यस्ता गतिविधिले नेविसंघ शैक्षिक मुद्दामा केन्द्रित छ भन्ने देखाउँछ।
साथै नवप्रवर्तन, उद्यमशीलतासँग जोडिएका कार्यक्रम गर्दै आइरहेको छ। हाल जलवायु परिवर्तनविरूद्ध सचेतना फैलाउने मूल नाराका साथ अन्तर्राष्ट्रिय अन्तरविश्वविद्यालय जय नेपाल टी २० क्रिकेट प्रतियोगिता आयोजना गरेको छ, जसमा ६ वटा देशबाट सहभागी हुनेछन्।
पार्टीमा भन्दा पनि धेरै गुटको अभ्यास र झगडा हुने नेविसंघको औचित्य के छ अब? पार्टीले भ्रातृ संस्था खारेजी जस्ता एजेन्डामा छलफल गर्दैछ भनिन्छ, नेविसंघले कसरी प्रतिरक्षा गर्छ?
पार्टीअन्तर्गत गठन भएका भ्रातृ संघ, संस्थाहरूले कांग्रेसले अंगीकार गरेको सैद्धान्तिक मूल्यमान्यता अनुशरण गर्नुपर्ने विषयमा दुइमत छैन।
कांग्रेसभित्र व्याप्त अन्तरसंघर्ष र वैचारिक समूहहरूबीच भएका अन्तरद्वन्द्वले भ्रातृ संस्थामा पनि प्रत्यक्ष असर पर्ने गरेको छ।
जसलाई कम गर्न भ्रातृ संस्थाहरूलाई स्वायत्त बनाउँदै भ्रातृ संघसंस्थाको अधिवेशनको सम्पूर्ण प्रक्रियालाई स्वचालित प्रणालीमा ढाल्न स्पष्ट वैधानिक व्यवस्था गरे धेरै समस्या समाधान हुन्छ भन्ने लाग्छ।
भ्रातृ संस्था खारेजी गर्ने वा नगर्ने विषयलाई नेविसंघको दृष्टिकोणले हेर्दा हामीले सर्वप्रथम नेविसंघको इतिहास, राष्ट्रनिर्माणका लागि यसले दिएको बलिदानी बुझ्नु पर्ने हुन्छ र आजको दिनमा पार्टीको संरचना हेर्ने हो भने पार्टी सभापति शेरबहादुर देउवादेखि अधिकांश पदाधिकारी हिजोको दिनमा नेविसंघको अध्यक्ष, पदाधिकारी लगायत जिम्मेवारीमा हुनुहुन्थ्यो।
जुन संगठनले उहाँहरूलाई राष्ट्र र पार्टीको नेतृत्वमा आउन मद्दत पुर्यायो, त्यसैलाई उहाँहरूले खारेज गर्नु हुँदैन भन्ने विश्वास छ। अहिलेको नेतृत्व नेविसंघ खारेजीको पक्षमा उभिन्छ भन्ने विश्वास हामीलाई छैन। तर केही नेताहरूले खारेजी गरे पनि हुन्छ भन्ने खालका अभिव्यक्ति दिएकोले त्यसो हुने देखियो भने हामी प्रतिवादमा उत्रन्छौं।