मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित तीन जनाविरूद्ध संगठित रूपमा आपराधिक लाभ लिएको आरोपमा मुद्दा दायर भएको छ।
बुधबार दिउँसो सरकारी वकिलको कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्।
साधारण तारेखमा रहेका दुर्गा प्रसाई र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को हिरासतमा रहेका हरिचन्द्र फुयाललाई प्रतिवादी बनाएर मुद्दा दायर भएको हो।
अर्का प्रतिवादी तेह्रथुम घर भई झापाको बिर्तामोड बस्ने ४२ वर्षीय रामचन्द्र मैनालीविरूद्ध पनि मुद्दा दायर भएको जिल्ला न्यायाधिवक्ता कटुवालले बताए। मैनाली भने फरार छन्।
प्रसाईंले हरिचन्द्र र रामचन्द्रलाई परिचालन गरी भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी तथा व्यवसायीहरूलाई रकम असुलीका लागि धम्क्याएको आरोप छ।
उनीहरूविरूद्ध सरकारी वकिलको कार्यालयले आपराधिक लाभ लिन नहुने कसुर गरेको भन्दै सात वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्मको जरिवाना मागदाबी गरेको छ। त्यस्तै संगठित तर्फबाट थप ५० प्रतिशत सजाय माग गरी मुद्दा दर्ता भएको छ।
हरिचन्द्र झापाको मेचिनगर नगरपालिका-१३ का बासिन्दा हुन्। उनले पाँचथर र इलामबाट घिउ संकलन गरी भारतको आसाम, मणिपुर लगायत ठाउँमा बिक्री गर्ने काम गर्दै आएको बयानमा बताएका छन्।
उनले झापाकै बिर्तामोडमा रहेको रोयल कोल्ड स्टोरमा काम गर्ने रामचन्द्र मैनालीसँग चिनजान गरेपछि दुर्गा प्रसाईंका मानिसहरूको सम्पर्कमा पुगेको बताएका छन्। गत कात्तिकमा रामचन्द्रमार्फत राकेश मैनाली नाम गरेका र अन्य केही व्यक्तिहरूले भारतको पानीट्यांकीमा भेटेका थिए। उनीहरूले आफू दुर्गा प्रसाईंको मानिस रहेको भन्दै धम्क्याउने जिम्मा दिएको पनि हरिचन्द्रले बताएका छन्।
यसबापत उनलाई तीन लाख रूपैयाँ दिने भनिएको थियो।
'गत मंसिर ७ गते कुरा हुँदा तीन लाख रूपैयाँ दिन्छौं भने। अनि मैले पनि केही हुँदैन होला, पैसा पनि पाइने रहेछ भन्ठानेँ। मेरो भारतीय आधारकार्डबाट सिमकार्ड किनेर राकेशलाई दिएँ,' हरिचन्द्रले भनेका छन्।
राकेशले केही दिनपछि उनलाई फेरि भेटे। सुरूमा व्यवसायी दीपेन्द्र अग्रवाललाई हिन्दी भाषामा धम्क्याउन लगाए।
'हिन्दीमा गाली गर्नुपर्ने छ, म सिकाउँछु, त्यसरी नै गर्नू भनेका थिए,' हरिचन्द्रले भनेका छन्, 'अनि दीपेन्द्रलाई फोन गरेर प्रसाईंको मार्ने के लिए पप्पु यादवको क्यूँ सुपारी दिया भनेर मैले धम्क्याएको हो।'
यो कामवापत् तीन लाख रूपैयाँ दिने भनेको विषयमा आफूले दुर्गा प्रसाईंसँग फोनमा कुराकानी गरेको पनि उनले बताएका छन्।
'प्रसाईंसँग तीन लाखबारे कुराकानी भएको हो। उनले पैसा पठाएको तर कसको खातामा पठाएको बुझ्नुपर्छ भन्ने जबाफ दिएका थिए। मैले पैसा पाउन बाँकी छ,' उनले भनेका छन्, 'गुलाम भन्ने व्यक्तिको खातामा म समेतलाई दिने भनेर पाँच लाख रूपैयाँ जम्मा गरेको भौचर मेरो मोबाइलमा पठाएका छन्।'
दुर्गा प्रसाईंले भने हरिचन्द्रसँग कुनै पनि कुराकानी नभएको बताएका छन्। हरिचन्द्रसँग सो बेला भएको कुराकानीको आवाज समेत आफ्नो नभएको दाबी गरेका छन्। उनले आफूले कसैलाई नधम्क्याएको र धम्क्याउन नलगाएको पनि बताएका छन्।
'मैले निवेदकहरूलाई धम्क्याएको छैन र कसैलाई धम्क्याउन निर्देशन दिएको छैन। मैले नेपाल राष्ट्र बैंकका गभर्नर, व्यवसायी दीपेन्द्र अग्रवाल र पवनकुमार गोल्यानलाई कुनै किसिमको धम्की दिएको छैन,' उनले भनेका छन्।
तर प्रहरीले अनुसन्धानका क्रममा हरिचन्द्रको मोबाइलबाट बरामद भएको अडिओ प्रमाण पेस गरेको छ।
दुर्गा प्रसाईंले आफू बच्नका लागि सो अडिओमा बोलेको आवाज आफ्नो होइन भनेर ढाँटेको हुनसक्ने हरिचन्द्रले बताएका छन्।
यो प्रकरणमा संलग्न भनिएका राकेश मैनाली, विराटनगरका अन्य दुई व्यक्ति भनिएकाको पहिचान खुलाएर पक्राउ गरी अनुसन्धान गर्न जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले प्रहरीलाई निर्देशन समेत दिएका छन्।
दुर्गा प्रसाईंलाई सिआइबीले सुरूमा मंसिर ४ गते विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरेको थियो।
जिल्ला अदालत काठमाडौंले उनलाई उक्त कसुरमा ४० हजार रूपैयाँ धरौटी माग गर्दै छाड्न आदेश दिएको थियो। उनले उक्त रकम बुझाएर छुटे पनि सिआइबीले आपराधिक लाभ र संगठित अपराध कसुरमा अनुसन्धानका लागि भनेर पुनः पक्राउ गरेको थियो। त्यसविरूद्ध उनका छोरा निराजनले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। त्यसमा सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासले पुस ५ गते हिरासत मुक्त गरी तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।
सम्बन्धित समाचारः