राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेको तीन वर्ष पुग्न लागेका बेला राप्रपा नेपालका अध्यक्ष कमल थापा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूसँग संवादमा जुटेका छन्।
पृथ्वीजयन्ती नजिकिएका बेला अध्यक्ष थापाले राप्रपा अध्यक्ष लिङ्देनसहित नेताहरूसँग संवाद बढाएका हुन्।
सेतोपाटीसँग बुधबार बिहान कुराकानी गर्दै अध्यक्ष थापाले आफूले राप्रपा अध्यक्ष लिङ्देनसहित नेताहरूसँग संवाद गरेको बताएका हुन्।
अध्यक्ष थापाले पछिल्लो समय राप्रपा अध्यक्ष लिङ्देन, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, विक्रम पाण्डे, उद्धव पौडेल, मोहन श्रेष्ठलगायत नेताहरूसँग पार्टी एकतालगायत विषयमा कुराकानी गरेका हुन्।
‘मैले राजेन्द्र लिङ्देनजीलगायत नेताहरूलाई भेटेर पार्टी एकता गर्न ढिलो नगरौं, अहिले परिस्थिति अनुकूल भएको छ,’ अध्यक्ष थापाले सेतोपाटीसँग भने, ‘राष्ट्रवादी, राजावादी, हिन्दुवादी शक्तिहरू छरिएर रहँदा हाम्रो जनाधार कमजोर हुँदैछ, त्यसकारण एकताको पहल गरौं भनेर मैले कुराकानी गरेको हुँ।’
आफूले राप्रपा नेताहरूसँग पार्टी एकताबारे कुरा गर्दा जबाफ सकारात्मक आएको पनि थापाले जानकारी दिए। ‘कुराकानी सकारात्मक नै छन् तर उहाँहरूले स्पष्ट जबाफ दिनुभएको छैन,’ अध्यक्ष थापाले भने।
पार्टी एकताको दिशामा ठोस प्रयास गर्न भने बाँकी नै रहेको उनको भनाइ छ।
यसबारे राप्रपाका नेताहरूसँग कुराकानी गर्दा दुई पार्टीका नेताहरूबीच संवाद अघि जानकारी आएको छ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पनि अध्यक्ष लिङ्देनसहित नेताहरूसँग राप्रपा अध्यक्ष थापाले भेटवार्ता गरेको बताए।
‘विचार मिल्ने शक्ति राप्रपा नेपालमात्र होइन, अन्य समूह वा व्यक्तिहरूसँग पनि राप्रपाको संवाद भइरहेको छ,’ श्रेष्ठले भने, ‘राप्रपाको गत भदौकै केन्द्रीय समितिले विचार मिल्नेसँग एकता र सहकार्यको निर्णय गरिसकेको थियो।’
प्रवक्ता श्रेष्ठले पनि आफूहरू राष्ट्रवादी, राजावादी, हिन्दुवादी शक्तिहरूसँग मिल्दै अघि बढ्ने पक्षमा रहेको बताएका छन्।
२०७८ मंसिरमा भएको राप्रपा महाधिवेशनमा अध्यक्षमा थापा र लिङ्देनबीच प्रतिस्पर्धा हुँदा लिङ्देन विजयी भएका थिए।
अध्यक्षमा पराजित भएपछि २०७८ माघ २५ गते थापाले गृहजिल्ला मकवानपुर पुगेर 'अत्यन्त भारी मन र पीडाबोधका साथ राप्रपाबाट अलग हुने निर्णय गरेको' भन्दै पार्टी परित्यागको घोषणा गरेका थिए।
राप्रपा अध्यक्षमा पराजित हुनुमा थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिका देखाउँदै असन्तुष्टि जनाएका थिए। महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासले चलखेल गर्दा आफू पराजित भएको त्यसबेला थापाको भनाइ थियो।
त्यसको एक सातामै थापाले राप्रपा नेपाल पार्टी ब्युँत्याएर अध्यक्ष बने। त्यसबेला राप्रपा नेपालले राजसंस्था पुनर्स्थापनालाई पार्टीको कार्यनीति नै बनाएन।
२०७८ फागुन १ गते थापाले राप्रपा नेपाल ब्युँताउँदै राजसंस्थाको एजेन्डा छाडेर हिन्दुराष्ट, सुशासन र समृद्धिलाई पार्टीको मूल एजेन्डा घोषणा गरेका थिए।
तर यसबीचमा भएका स्थानीय, प्रदेश र संघीय चुनावमा राप्रपा नेपालले राम्रो मत ल्याउन सकेन। २०७९ मंसिरमा भएको संघीय चुनावमा देशैभरबाट समानुपातिकतर्फ राप्रपा नेपाललाई करिब ११ हजार मत मात्रै आएको थियो भने लिङ्देन नेतृत्वको राप्रपाले प्रतिनिधि सभामा १४ सिट ल्यायो।
राप्रपा र राप्रपा नेपालबीच नै चुनावी प्रतिस्पर्धासमेत भयो- हेटौंडामा।
नेकपा (एमाले) को चुनाव चिह्न सूर्य लिएर मकवानपुर क्षेत्र नम्बर १ मा उम्मेदवार भएका कमल थापालाई राप्रपाका उम्मेदवार दीपक सिंहले हराएका थिए। कुनै बेला सिंह थापासँग निकट थिए।
राप्रपा नेपालको चुनाव चिह्न तीर हो। पार्टीबाट टिकट पाएकाले तीर चिन्हमै चुनाव लडे पनि त्यसबेला अध्यक्ष थापाले सूर्य चिह्न लिएको भन्दै चुनावका बेला पार्टीभित्रै आलोचना पनि भएको थियो।
आफू एमालेको चिह्न लिएर एमालेकै समर्थनमा चुनाव लड्दासमेत जित्न नसकेकोलगायत कुराले पनि हुन सक्छ, राप्रपा नेपाल अध्यक्ष कमल थापा फेरि राजसंस्थाकै एजेन्डामा फर्किए।
पूर्वराजाको भूमिकामा प्रश्न गर्दै राप्रपा परित्याग गरेको करिब १८ महिनापछि राप्रपा नेपालका अध्यक्ष थापाले राजसंस्था एजेन्डालाई आत्मसात् गरेको अभिव्यक्ति दिए।
२०८० भदौ पहिलो साता काठमाडौंमा केन्द्रीय समिति बैठक राखेर अध्यक्ष थापाले अबदेखि पार्टीको विचार संवैधानिक राजसंस्था हुने निर्णय गराएका थिए।
‘राप्रपा नेपालको मुलभूत विचार संवैधानिक राजसंस्थासहित प्रजातन्त्र हुनेछ। राजसंस्था पुनर्स्थापना पार्टीको कार्यनीति हुनेछ,’ त्यसबेला राप्रपा नेपाल निर्णय थियो।
त्यसपछि २०८१ वैशाखमा भएको प्रतिनिधि सभा उपनिर्वाचन र मंसिर १६ को स्थानीय तह उपनिर्वाचनमा राप्रपा र राप्रपा नेपालले कतै जित्न सकेनन्, विगतको चुनावमा भन्दा मत पनि कम ल्याएका थिए।
यस्ता परिघटनालाई राप्रपा र राप्रपा नेपालले आफूहरूको जनाधार खस्किएको रूपमा लिँदै नेताहरू नजिकिएका हुन्। उनीहरूले पार्टी एकताको दिशामा अघि बढ्नुपर्ने बताए पनि त्यसबारे प्रष्ट चित्र भने देखिएको छैन।
राप्रपा नेपालका अध्यक्षसहित सिंगो पार्टी नै राप्रपासँग एकताका लागि सकारात्मक देखिए पनि राप्रपाभित्र भने फरक-फरक धारणा भएकोले निर्णयमा पुग्न सकेको छैन।
राप्रपाका एक पदाधिकारीका अनुसार विचार मिल्नेहरूसँग एकता गर्ने भए पनि नेता व्यवस्थापनलगायत विषय पेचिलो हुने देखिन्छ।
‘राप्रपाभित्र विचार मिल्ने पार्टीहरू वा समूहसँग एकता वा सहकार्यको ढोका जहिले पनि खुला छँदैछ, तर पार्टी एकताका नाममा नेताहरू व्यवस्थापनको विषय विगतका अभ्यास हेर्दा पेचिलो हुन्छ कि भन्ने धारणा पनि आएका छन् भने कतिपयले बुढा नेताहरूलाई स्पेस दिनुभन्दा नवीन राप्रपाका लागि युवालाई समेटेर जानुपर्ने धारणा राखिरहेका छन्,’ ती पदाधिकारीले भने, ‘पार्टी एकताको विषयमा सकारात्मक देखिए पनि यसलाई कसरी अघि बढाउने विषय टुंगो लागिसकेको छैन।’
नवीन राप्रपाका नाममा राप्रपाले ४० वर्ष उमेरमुनिका २० जनालाई गत असोज १ गते केन्द्रीय सदस्य मनोनीत गरेको थियो।
राजसंस्थावादी शक्तिहरू विगतमा पनि जुट्दै फुट्दै आएका छन्। विगतमा फरक-फरक पार्टीमा रहेका पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी अहिले लिङ्देनसँगै राप्रपामै छन् भने थापा मात्रै राप्रपा नेपालमा छन्।
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता संवाद सुरू भए पनि एकतामा पुग्न समय लाग्ने देखिन्छ। त्यसैले पनि होला, पृथ्वी जयन्तीका दिन पुस २७ मा राप्रपा र राप्रपा नेपालले फरक-फरक कार्यक्रम राखेका छन्।