नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा बोलेका केही नेताहरूले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीमाथि चौतर्फी रूपमा आक्रमण भइरहे पनि पदाधिकारीहरू प्रतिरक्षामा नउत्रिएको प्रसंग उठेको छ।
नेताहरू कर्ण थापा, खिमलाल भट्टराई, पार्वती रावल, निरूदेवी पाललगायतले अध्यक्ष ओलीमाथि आक्रमण भए पनि बचाउमा पदाधिकारी नउत्रिएको भन्दै आलोचना गरेका हुन्।
‘हाम्रा अध्यक्षमाथि पछिल्लो समय चौतर्फी आक्रमण भइरहेको छ,’ केन्द्रीय कमिटीमा धारणा राखेका ती नेताहरूको भनाइ थियो, ‘किन प्रतिरक्षा भइरहेको छैन?’
पदाधिकारीहरू अध्यक्ष ओलीको पक्षमा आवाज बुलंद गर्न नसकेको भन्दै उनीहरूले आलोचना गरेका हुन्। ‘पदाधिकारीहरू मौन रहनुको रहस्य के हो?,’ उनीहरूको प्रश्न छ।
अध्यक्ष ओलीले पनि पार्टीविरूद्ध मुलुकका प्रतिक्रियावादी शक्तिहरू लागेको अभिव्यक्ति दिएका थिए।
गत आइतबार केन्द्रीय कमिटीमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्ति मजबुद भएका कारण प्रतिक्रियावादी शक्तिहरू आतङ्कित भएको उल्लेख गरेका थिए।
प्रतिक्रियावादी शक्तिहरू निर्दयी र अमानवीयरूपमा एमालेविरुद्ध झुटो प्रचारमा लागेको उनको भनाइ थियो।
‘हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन। चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो। विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ,’ अध्यक्ष ओलीले भने, ‘हाम्रा सबै संगठन उत्साहित भएर व्यक्ति-व्यक्ति र घर घरमा पुग्नुपर्छ। वैचारिक कामलाई उत्तिकै महत्व दिनुपर्छ।’
यो पनि: संविधान संशोधन २०८७ सालमा हुन्छ: प्रधानमन्त्री ओली