प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन २०८७ सालमा हुने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको मंगलबारको बैठकमा बोल्दै उनले तत्काल संविधान संशोधन नहुने बताएका हुन्।
‘अहिले राष्ट्रिय सभामा एमालेको बहुमत छैन, २०८७ सालमा एमालेको बहुमत पुग्छ अनि त्यतिबेला संविधान संशोधन गर्नेछौं,’ ओलीले भने।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले २०८७ मा संविधान संशोधन हुन्छ भन्ने अभिव्यक्ति दिएपछि केही केन्द्रीय सदस्यले उठेर २०८३ होला नि भनेका थिए।
‘अध्यक्षज्यू झुक्किनुभयो जस्तो छ, २०८३ भन्न खोज्नु भएको होला नि!,’ एक केन्द्रीय सदस्यले भनेका थिए। जबाफमा अध्यक्ष ओलीले २०८७ सालमै हो भनेका हुन्।
गत असार १७ मा कांग्रेस र एमालेबीच ७ बुँदे सहमति भएको थियो। त्यसमा संविधान संशोधनलगायत विषय पनि छन्। संविधान संशोधन गर्न कांग्रेस-एमालेले कार्यदल तयारी गरिरहेका छन् भने विभिन्न दलहरूले यसबारे सुझाव दिन समिति पनि गठन गरिसकेको अवस्था छ।
केन्द्रीय कमिटीमा पोलिटब्युरो र स्थायी कमिटी सदस्यहरूले ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेका थिए।
यस्तै, ओलीले पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई गरिएको कारबाही फिर्ता नहुने बताएका छन्।
बैठकमा केही सदस्यले उनीहरूमाथि गरिएको कारबाही फिर्ता लिन माग गरेका थिए। अध्यक्ष ओलीले भने,‘बरू समय केही लम्बिन सक्छ तर कारबाही फिर्ता हुँदैन।’
गत मंसिर १० गते एमाले सचिवालय बैठकले रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो। पार्टीको संस्थागत निर्णयविरूद्ध धारणा राखेको भन्दै पाण्डे र तिम्सेनालाई ६ महिना जिम्मेवारीबाट मुक्त राख्ने निर्णय गरेको थियो।
आइतबारबाट सुरू भएको बैठकमा सदस्यहरूले धारणा राख्नुपूर्व नै उनीहरूलाई कारबाही गर्ने निर्णय पारित गरिएको थियो।
आइतबारदेखि सुरू भएको बैठक आज सकिएको छ।