नेकपा एमालेका पोलिटब्युरो सदस्यद्वय खिमलाल भट्टराई र ठाकुर गैरले विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको कारबाही फुकुवा माग गरेका छन्।
सोमबार केन्द्रीय कमिटीको बैठका बोल्दै उनीहरूले स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सेनालाई ६ महिना पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय पार्टी हितमा नरहेको र तत्काल फुकुवा गर्नुपर्ने बताएको एक सदस्यले बताए।
'पोलिटब्युरोद्वय खिमलाल भट्टराई र ठाकुर गैरेले विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको कारबाहीले राम्रो सन्देश नगएको बताउनुभयो। उहाँहरूको निलम्बन फुकुवा गर्नु नै पार्टी हितमा रहेको बताउनुभयो,' एक केन्द्रीय सदस्यले बताए।
त्यस्तै केन्द्रीय सदस्य पेम्बा लामाले पनि निलम्बन फुकुवाको माग गरेकी थिइन्।
पोलिटब्युरो सदस्य गैरेले अध्यक्षको राजनीति प्रतिवेदनमा एमाले र कांग्रेसबीच भिन्नता नछुट्टिएको बताएका थिए। अहिले सत्ता साझेदारी गरिरहे पनि एमाले र कांग्रेस प्रतिस्पर्धी पार्टी भएकाले उनीहरूबीचको भिन्नता अध्यक्षको राजनीतिक प्रतिवेदनमा किटान गरिनुपर्ने उनले बताएका थिए।
त्यस्तै उनले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले निराशा चिर्ने र आशा जगाउने कुरा प्रतिवेदनमा उल्लेख गरे पनि जनताका एजेन्डा मूर्त रूपमा उल्लेख गर्नुपर्ने बताएको एक केन्द्रीय सदस्यले बताए।
उनले पार्टीभित्र अनुशासन र दण्डका लागि एकीकृत मापदण्ड तय गरिनुपर्ने र सबैलाई समान ढंगले लागू गर्नुपर्ने समेत बताएका थिए।
केन्द्रीय सदस्य परशुराम अधिकारीले माओवादी छाडेर एमालेमा आएकाहरू अहिले अन्यायमा पर्न थालेको बताएका थिए। उनी रामबहादुर थापा 'बादल' सँगै नेकपाको निरन्तरता एमाले हो भन्दै एमालेमै रहेका थिए।
'माओवादीबाट एमालेमा आएकाहरू अन्यायमा परेका छन्। कमिटी आकार पनि सानो बन्न थाल्यो, सानो कमिटी पनि गुटमा बाँडियो। अध्यक्ष ओलीनिकट गुट छ, संस्थापनइतर पनि छन्। माओवादी छाडेर एमालेमा आएकाहरू कुनै गुटमा छैनन्,' उनले भने, 'जिम्मेवारी पनि पाएका छैनन्।'
माओवादीबाट एमालेमा आएकाहरूलाई पार्टीले जिम्मेवारी पनि नदिएको उनको भनाइ थियो, 'त्यसैले पनि होला साथीहरू फेरि माओवादीमै फर्किन थालेका छन्।'
साथै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण थुनामुक्त भएको तर एमालेका नेता टोपबहादुर रायमाझी पुर्पक्षका लागि थुनामै रहेको विषय पनि उठाएका थिए।
'कांग्रेसले खाणलाई छुटायो, एमालेले टोपबहादुर रायमाझीलाई छुटाउन सकेन भनेर माओवादीले यो कुरा उठाउँदै साथीहरू माओवादीमै फर्काउन थालेको छ,' उनले भने, 'रायमाझी दोषी हो भने जेलमा, निर्दोष भए छुट्नुपर्यो। यसबारे सत्यतथ्य के हो सार्वजनिक गरियोस्।'
आइतबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा हालसम्म ९८ जना केन्द्रीय एवम् पोलिटब्युरो सदस्यले धारणा राखेका छन्।
बैठकमा बोल्ने केन्द्रीय सदस्यको धारणा विश्लेषण गर्दा ६ समान धारणा देखिएको एक केन्द्रीय सदस्यले बताए।
पहिलो, अध्यक्ष ओलीको ४७ पृष्ठको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै अधिकांश केन्द्रीय सदस्यहरूले नेपाली कांग्रेससँग अहिले सत्तामा सहकार्य रहेको चुनावमा प्रतिस्पर्धा हुने कुरालाई बुझाएर जानुपर्ने बताएका छन्
'कांग्रेससँग सरकारमा सहकार्य र चुनावमा प्रतिस्पर्धा हुने कुरालाई आम कार्यकर्ता र नागरिकलाई पनि बुझाउनुपर्छ भन्ने धारणा मूल रूपमा आएको छ,' ती केन्द्रीय सदस्यले भने।
दोस्रो, चीनसँग भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) सम्झौताप्रति सरकारलाई धन्यवाद दिँदै यसको कार्यान्वयनमा अधिकांश सदस्यले जोड दिएका छन्।
तेस्रो, अध्यक्ष ओलीको प्रतिवेदनमाथि बोल्ने अधिकांश केन्द्रीय सदस्यले युवाकेन्द्रित नीति, कार्यक्रम ल्याउन जोड दिएका छन्। देशबाट युवा बाहिरिइरहेका प्रति पार्टी र सरकार गम्भीर हुनुपर्ने उनीहरूको साझा निष्कर्ष छ।
चौथो, आइतबार र सोमबार धारणा राख्ने केन्द्रीय एवं पोलिटब्युरो सदस्यले स-साना उत्पादनमा जोड दिँदै आत्मनिर्भर बन्नुपर्ने आवश्यकता औंल्याएका छन्। ठूलो उद्योग धन्दाको स्थापना र रोजगारी सिर्जना गर्न हाम्रो अर्थतन्त्रको आकार बाधक हुने बताउँदै उनीहरूले स-साना उत्पादन, रोजगारी सिर्जना हुँदै आत्मनिर्भरताको बाटो समात्नुपर्नेमा जोड दिएका हुन्।
पाँचौं, एमालेबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधि मनमौजी हुन थालेकाप्रति पनि केन्द्रीय सदस्यले चिन्ता व्यक्त गरेका छन्। पार्टी बलमा जित्ने तर जितेपछि पार्टीको नीति, सिद्धान्तभन्दा पर रहेर कार्यसम्पादन गर्ने, घोषणापत्र अनुरूप नचलेको उनीहरूको गुनासो थियो।
गएको स्थानीय तह उपनिर्वाचनमा यसअघि जितेका ठाउँमा विजय हासिल गर्न नसक्नुको मूल कारण पनि यही भएको उनीहरूको निकर्ष थियो। मंसिर १६ गतेको स्थानीय तह उपनिर्वाचनमा एमालेले एक ठाउँबाहेक अन्यत्र कतै पनि जित जोगाउन सकेको थिएन।
छैटौं, एमालेभित्र गुटबन्दी हुर्किँदै गएकाप्रति अधिकांश सदस्यहरूले चिन्ता व्यक्त गरेका छन्। पार्टीमा देखापरेको गुटको सम्बन्ध माथिसम्म नभए पनि तलतल स्थानीय अन्तरविरोध देखा पर्न थालेको उनीहरूको साझा धारणा छ।
'स्थानीय अन्तरविरोधका कारण तलतल गुटबन्दी देखापरेको छ। यो समाधान गर्नै नसकिने खालको छैन। यसलाई झाँगिन दिनु हुँदैन भन्ने नै उहाँहरूको मत छ,' अर्का केन्द्रीय सदस्यले बताए।
केन्द्रीय कमिटी बैठकको बहस नोटमा रहेका विष्णु रिजालले बैठक रचनात्मक ढंगले अघि बढिरहेको बताए।
'पार्टीमा रचनात्मक छलफल भइरहेको छ। पार्टी बन्छ, बनाउन सकिन्छ र २०८४ सालको निर्वाचनमा एमालेलाई बहुमत ल्याउन सक्ने बनाउन सकिन्छ,' उनले भने, 'कुनै पनि कुरा समस्या रहित हुँदैन। त्यसलाई समाधान गर्न सकिन्छ। एमालेभित्र देखा परेका समस्या समाधान गर्न सकिन्छ र पार्टीलाई थप बलियो बनाउन सकिन्छ भन्ने आत्मविश्वास यो केन्द्रीय कमिटी बैठकले दिएको छ। सदस्यहरूले त्यसैगरी धारणा राखिरहनुभएको छ।'
त्यस्तै बहस नोटमै रहेका अर्का केन्द्रीय सदस्य नीरज आचार्यले पनि बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले अध्यक्षको राजनीतिक प्रतिवेदन र महासचिवको संगठनात्मक प्रस्ताव ठीक ढंगले आएको र यसलाई कार्यान्वयन गरेर जानुपर्ने धारणा राखेको बताए।
एमालेको केन्द्रीय कमिटीको आठौं बैठक मंगलबार पनि जारी रहनेछ।
भोलि पोलिटब्युरो र स्थायी कमिटी सदस्यहरूले धारणा राखिसकेपछि अध्यक्ष ओलीले उठेका प्रश्नको जबाफ दिनेछन्।