नेपाली कांग्रेसले चार महिनाभित्र क्रियाशील सदस्यता नवीकरणको काम सक्न मातहत निकायलाई आग्रह गरेको छ।
चैतभित्र क्रियाशील सदस्यता नवीकरण गर्न कांग्रेसले समय दिएको हो। यो अवधिमा नवीकरण नगर्नेको नामावली छुट्ने चेतावनी कांग्रेसको छ।
साढे दुई वर्षअघि नै जिल्ला कार्यसमितिहरूमा क्रियाशील सदस्यता नवीकरण फारम पठाए पनि अहिलेसम्म कतिपय वडामा क्रियाशील नवीकरण फारम पुगेको छैन।
‘साढे दुई वर्षअघि क्रियाशील सदस्यता फारम पठाएको भर्खर वडामा पुगेको छ,’ महामन्त्री गगन थापाले भने, ‘आफ्नो निर्वाचन क्षेत्रमा काम भए वा नभएको नेताहरूले पनि हेर्नुपर्छ। जो-जो नेताले अब मञ्चमा अधिवेशनका धेरै कुरा गर्नुहुन्छ, त्यो-त्यो नेताको निर्वाचन क्षेत्रमा के भइरहेको छ सार्वजनिक गरिदिन्छु।’
महामन्त्री थापाको नेतृत्व र केन्द्रीय सदस्यहरू सीता गुरूङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य रहेको क्रियाशील सदस्यता व्यवस्थापन समिति छ। यो समितिले चैतभित्रै क्रियाशील नवीकरण गरिसक्न भनेको हो।
कांग्रेसले १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रका नेताहरूलाई क्रियाशील सदस्यता नवीकरण फारम जिल्ला-क्षेत्र-पालिका र वडामा पुगेको छ वा छैन, नवीकरणका काम भएको छ कि छैन सहजीकरणका काम गर्न पनि पटक-पटक आग्रह गर्दै आएको छ।
तर नेताहरूले ती कामप्रति ध्यान नदिएर मञ्च पायो कि अधिवेशनका कुरा गर्न थालेपछि चैतभित्र नवीकरणका काम सक्न केन्द्रबाटै निर्देशन दिनुपरेको नेताहरूको भनाइ छ।
‘चैतभित्र क्रियाशील सदस्यता नवीकरण सक्नुपर्नेछ, शुल्क दुई सय रुपैयाँ हो,’ थापाले भने।
उनकाअनुसार पार्टीले जिल्लालाई कार्यतालिका नै बनाएर पठाउँछ र त्यो क्यालेन्डरभित्र रहेर क्रियाशीलको काम गर्नुपर्ने हुन्छ। कुनै जिल्ला वा क्षेत्रले क्रियाशील फारम होल्ड गरेर मातहत समितिलाई नपठाएको पाइएमा त्यस्तो फारम नम्बर 'सिज' गरिदिने कांग्रेसको चेतावनी छ।
महामन्त्री थापाले पनि होल्ड गरेर राखेको भेटिएमा त्यस्ता फारम स्थगित गरेर नयाँ फारम मातहत समितिलाई उपलब्ध गराउने जानकारी दिए।
कांंग्रेसमा गुट नमिलेका जस्ता विभिन्न बहानामा माथिल्लो समितिले मातहत समितिलाई क्रियाशील फारम नदिई होल्ड गर्ने प्रवृत्ति छ।
माघ पहिलो साताभित्र विधान संशोधन मस्यौदा समिति गठन गर्ने र चार महिनाभित्र विधानको काम सक्ने पनि थापाले बताए। ‘विधान र क्रियाशील नवीकरणको काम सकिन्छ, त्यसपछि महासमितिबाट पारित गर्छौं,’ उनले भने।
उनले कांग्रेसका नेताहरू अहिलेदेखि नै अधिवेशनमै केन्द्रित हुनुनपर्ने बताएका छन्। जिम्मेवारीअनुसार पार्टीको काम गर्न पनि उनको आग्रह छ।
‘अरू कुनै काम नभए जसरी अधिवेशनदेखि अधिवेशनमा मात्र केन्द्रित हुन हुँदैन, अधिवेशनबाट हामीमध्ये नै जिम्मेवारीमा आउँछ, हामीमध्येबीच नै प्रतिस्पर्धा हुन्छ। साथीलाई हराएर साथी नै निर्वाचित हुन्छ। जित्ने र हार्ने मिलेर यो पार्टी चल्ने हो,’ उनले भने।
क्रियाशील सदस्यता नवीकरणका काम सकेपछि मात्र नयाँ वितरण सुरू हुनेछ।
पुस १९ गते बसेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले नयाँ क्रियाशील सदस्यता वितरणका लागि वैज्ञानिक प्रक्रिया अबलम्बन गर्न जातजाति, जनसंख्या, लिङ्ग, पार्टीले प्राप्त गरेको मतको प्रतिशत सन्तुलन हुने गरी प्राविधिक र विज्ञहरूको सहयोगमा समितिले अध्ययन गरी आवश्यक निर्णय लिने निर्णय गरेको थियो।
महाधिवेशनका लागि प्रारम्भिक काम क्रियाशील सदस्यता नवीकरणलाई तीब्रता दिइएको क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली 'स्नेही' को भनाइ छ।
उनकाअनुसार १०० दिने संगठन सुदृढीकरण अभियानका क्रममा पनि केन्द्रीय प्रतिनिधिहरूले आफू खटिएका ठाउँमा क्रियाशील सदस्यता नवीकरणबारे सहजीकरण गरेका थिए। दाङलगायत कतिपय जिल्लामा करिब ९० प्रतिशत क्रियाशीलले नवीकरण गरिसकेका छन्। विदेश रहेकाहरूको भने कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गरेको छैन।
क्रियाशील सदस्यता नवीकरणमा ढिलाइ भएकोले तीव्रता दिन कांग्रेसले नेताहरूलाई जिम्मेवारी पनि दिएको छ। मधेस र लुम्बिनी प्रदेशमा प्रकाश रसाइली (स्नेही), बागमती र गण्डकी सीता गुरूङ र कोशी, कर्णाली र सुदूरपश्चिम योगेन्द्र चौधरीलाई जिम्मेवारी दिइएको कांग्रेसले जनाएको छ।
कांग्रेसमा वडादेखि केन्द्रसम्म कुनै पनि कार्यसमितिमा रहन क्रियाशील सदस्यता अनिवार्य छ।
२०७८ मंसिरमा १४ औं महाधिवेशन भएकोले २०८२ मंसिरमा १५ औं महाधिवेशन गर्नुपर्ने हुन्छ। कांग्रेस विधानमा विशेष परिस्थितिमा सभापतिले थप एक वर्ष कार्यकाल लम्ब्याउन मिल्छ।
क्रियाशील सदस्यता वितरणलाई लिएर कांग्रेसमा हरेक महाधिवेशनमा विवाद हुने गरेको छ। १२ औं महाधिवेशनदेखि नै यस्ता विवाद देखिए पनि अहिलेसम्म सुल्झिएका छैनन्। १४ औं महाधिवेशनका बेला कांग्रेसमा ८ लाख ८२ हजार ८ सय १६ जना क्रियाशील सदस्य कायम गरिएको थियो।