शैक्षिक क्षैत्र सुधारको माग गर्दै माइतीघरमा उभिएर धर्ना दिएका तनहुँका नेत्र चापागाईंले धर्ना तोडेका छन्।
९ दिनदेखि उभिएर धर्ना दिएका चापागाईंको अवस्था बुझ्न सोमबार शिक्षामन्त्री विद्या भट्टराई र प्रतिनिधि सभाको शिक्षा समितिका सभापति अमरबहादुर थापा माइतीघर पुगेका थिए।
मन्त्री भट्टराईले उनका मागहरू पूरा गर्न सरकार सकारात्मक रहेको आश्वासनपछि चापागाईंले धर्ना स्थगित गरेका हुन्।
सभापति थापाले चापागाईंलाई शिक्षा समितिको बैठकमा बोलाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।
'बिजुलीको शुल्कको कुरा, खानेपानीको कुरा, हेडसरको भत्ताको कुरा, छात्रवृत्तिको कुरा माग गरेको छु। पूरा गर्छु मन्त्रीज्यूले भन्नुभएको छ,' चापागाईंले सेतोपाटीसँग भने, 'शिक्षा समितिकै सभापतिले सार्वजनिक शिक्षा सुधारको ऐन जसरी पनि पठाउँछु र तपाईंलाई पनि समितिको बैठकमा बोलाएर तपाईंको धारणा सबै सांसदहरुको अगाडि राख्ने अवसर दिन्छु भन्नुभएको छ।'
चापागाईं पुस १४ देखि माइतीघरमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म माइतीघरमा उभिएर धर्ना दिँदै आएका थिए।
काठमाडौंमा धर्ना दिनुअघि उनले सातै प्रदेशका विभिन्न ठाउँमा दुई/दुई दिन उभिएका थिए।
उनी बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) निकट विद्यार्थी संगठनका अध्यक्ष हुन्।
तस्बिरहरूः