प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाली कांग्रेसका सांसद हृदयराम थानी र सभापति रामहरि खतिवडाबीच नोकझोक भएको छ।
राज्य व्यवस्था समितिमा सोमबार प्राप्त उजुरी र निवेदनमाथि छलफलको कार्यसूची थियो।
गृहमन्त्री रमेश लेखक बैठकमा सहभागी थिए। सांसदहरुले समितिमा प्राप्त उजुरीमा उपसमिति बनाएर धारणा अघि बढ्नुपर्ने राखिरहेका थिए। उनीहरुले समितिको मूल काम विधेयक निर्माण भएपनि कतिपय सुशासनसँग सम्बन्धित उजुरीबारे छलफल गर्नुपर्ने धारणा राखिरहेका थिए। बोल्ने क्रममा नै कांग्रेस सांसद थानीको पालो आयो। उनले सुरुआतमा समितिमा आएका उजुरी र निवेदनमाथि छलफलको आँट गरेकोमा सभापतिको तारिफ गरे।
‘राष्ट्रिय रूपमा चर्चित भएर आउने ठूला-ठूला मुद्दाहरू र घटनाबारे तत्काल बोलाएर छलफल गर्दा उचित होला,’ समितिलाई सुझाव दिँदै सांसद थानीले भने, ‘जस्तो एनसेलको थियो, प्रधानमन्त्रीजी समितिमा आएर कुरा राख्नुभयो। अरू कुरा त हुँदै गर्ला। यस्ता चर्चित विषय उठाउनुपर्ला।’
सांसद थानीले राज्य व्यवस्थामा अख्तियार, विद्युत प्राधिकरण, गृहलगायत जहाँको उजुरी पनि आउने गरेको उल्लेख गरे। साथै विधेयक निर्माणको मूल काममा ध्यान दिनुपर्ने बताए।
‘संसारभरका उजुरी आएर सक्छ तर राज्य व्यवस्था तथा सुशासन समितिले?,’ उनले प्रश्न गरे, ‘आफैकहाँ विधेयक अड्केर बसिराखेका छन्। संवैधानिक न्यायिक परिषदको विधेयक पारित गरियो, संसदमा गएर सुतेर बसेको छ, भ्रष्टाचारसम्बन्धीको अस्ति पास गर्यौं, त्यो अब जाँदै होला। अख्तियारको, मैले त आइसियुमा यहीँ राज्य व्यवस्था समितिमै सुतिरहेको छ, अरू विधेयकहरू पनि छरिएर बसेका छन्।’
सांसद थानीले यस्ता कुरा राखिरहँदा समिति सभापति खतिवडा बीचमै बोले। ‘समितिले यी विधेयकहरू दिएको धेरै भएको छैन, संसदले लैजान्छ,’ भनेर जबाफ दिएका थिए। थानी नेतृत्वको उपसमितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको संशोधन सहमतिमा टुङ्ग्याएर समितिमा बुझाएको छ। तर उक्त विधेयक समितिले टुङ्गो लगाएको छैन। सभापति रामहरी खतिवडाले उक्त विधेयक माथि छलफलको कार्यसूची तय गरेका छैनन्। थानीले पछिल्ला समितिका बैठकमा उक्त विधेयक अघि बढाउन सभापति खतिवडालाई ध्यानाकर्षण गराउँदै आएका थिए। तर सभापति खतिवडाको जवाफ पछि थानी झर्किए।
‘त्यसो भए तपाईं नै बोल्नु, जहिले पनि क्रस गर्ने। तपाईं नै माननीय, तपाईं समिति सभापति, जहिले पनि कुरा क्रस गर्नुहुन्छ, तपाईं नै बोल्नस् म बोल्दिनँ,’ सांसद थानीले सभापति खतिवडालाई भने।
आफूलाई दिएको समयभित्र कुरा राख्न पाउनुपर्ने सांसद थानीको भनाइ थियो।
सभापति खतिवडाले आफूले सांसद थानीको कुरा नकाटेको बताउँदै भने, ‘कुरा काटेको होइन, विधेयक आइसियुमा छ भन्नुहुन्छ, सबैको सहमतिमा अघि बढाएको हो।’
यसपछि सांसद थानीले आफूले नबोल्ने र यो समयमा बोल्न सभापति खतिवडालाई नै आग्रह गरे। ‘जति बोल्नुछ बोल्नुस् तपाईं नै सभापति रहेछ अहिलेसम्म, म बोल्दिनँ,’ सांसद थानीको भनाइ थियो, ‘तपाईं नै हुनुहुँदो रहेछ सबै कुरामा जान्ने।’
त्यसपछि सभापति खतिवडाले समितिकी सदस्य ईश्वरी न्यौपानेलाई बोल्न समय दिए। न्यौपानेले धारणा राखेपछि नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले अवस्था सामान्य बनाउने कोशिस गरे।
'सभापतिले अलिक धेरै बोलेको थानीजीलाई पर्यो', श्रेष्ठले भने, 'कहिलेकाँही बोलिरहेको बेला बीचमा कुरा राख्दा सिलसिला टुट्छ। कुरा राख्ने मान्छेमा उत्तेजना ल्याउँछ।'
उनले सभापति खतिवडालाई थानीलाई समय दिन सुझाव दिए। त्यसपछि मात्र आफू बोल्ने बताए। तर थानीले बोल्न मानेनन्।
'म बोल्दिनँ', थानीले भने।
समितिमा आएका गृहमन्त्री रमेश लेखकले पनि थानीलाई फकाउन खोजे। 'हृदयमा राम बसेको मान्छे हो हृदयरराम', लेखकले थानीलाई फकाउने कोशिस गरे।
समितिमा सांसदहरुले धारणा राख्ने क्रमको अन्त्यमा फेरि सभापति खतिवडाले थानीलाई बोल्न समय दिए। तर थानीले बोलेनन्। यसरी कांग्रेसकै दुई सांसदको नोकझोकले संसदीय समिति प्रभावित बन्न पुग्यो।
सम्बन्धित समाचार : 'के अख्तियारसम्बन्धी ऐनको संशोधन विधेयक आइसियूमा पुगेको हो?'
मन्त्रिपरिषद्को निर्णयमा अख्तियारको प्रवेश रोक्ने पक्षमा कांग्रेस र एमाले