सुदूरपश्चिमबाट उदाएका वाम नेता भीम रावल आफूलाई 'खाँटी राष्ट्रवादी' दाबी गरेर थाक्दैनन्। अरूभन्दा धेरै 'राष्ट्रवादी' देखिने लोभमै परेर हुनुपर्छ, हरेक जसो वैदेशिक मामिलालाई उनी ‘राष्ट्रिय स्वाभिमान’ सँग लगेर जोडिहाल्छन्।
चाहे एमसिसी होस् या नेपाल भारत सीमा विवादकै विषय किन नहोस्, लामो राजनीतिक अनुभव भए पनि यस्ता मामिलामा उनी उत्तेजक अभिव्यक्ति दिने नेतामा पर्छन्।
शनिबार र आइतबार कोशी प्रदेशका मोरङ र सुनसरीका विभिन्न ठाउँमा धेरैलाई व्यक्तिगत र सामूहिक रूपमा भेटेर छलफल गरेका रावलले ती भेटहरूमा पनि त्यस्तै विषय बढी उठाए। मुलुकको बागडोर सम्हालेका नेताहरू विदेशी सामु झुकेको, तिनका दलाल बनेको, राष्ट्रघात गरेको विषयलाई उनले हरेक भेटघाटमा जोडतोडले उठाए।
यसो पनि दल र तिनका शीर्ष नेताले 'देश विदेशीको पोल्टामा पुर्याएको' भन्ने भाष्य मन पराउने समूहका लागि रावल पहिलेदेखि नै 'रोल मोडल' हुन्।
त्यसैले उनको धेरैजसो भेट पनि दलहरूबाट बिरक्तिएर बसेका कार्यकर्ताहरूसँगै भयो। कुनै दललेभन्दा पनि दुर्गा प्रसाइँले देश बनाउँछन् भन्ने विश्वास पालेर उनकै अभियानमा लागेकाहरूले पनि रावललाई प्राथमिकतासाथ भेटे। उनीहरूले रावलकै अघि राजावादी नारासमेत घन्काए।
दुई दिनमा रावलले एमालेदेखि माओवादी, राप्रपा र रास्वपाका केही मान्छेहरूसँग पनि भेट गरेको उनका सहयोगी झापाका डम्बर गिरीले दाबी गरे।
'योजना बनाएरभन्दा पनि स्व:स्फूर्त रूपमा सबै थरी मान्छेसँग भेट भयो,' एमाले, एकीकृत समाजवादी, रास्वपा हुँदै अहिले रावलको अभियानमा जोडिएका गिरीले भने, 'धेरै जसोले उहाँलाई नयाँ दल खोल्न सुझाव दिएका छन्।’
यस्तै, व्यक्तिगत र सामूहिक गरी १२ सय भन्दा बढी मानिसहरूसँग रावलको भेट भएको गिरीले बताए।
'भेटमा सबैले उहाँ (भीम रावल) को राष्ट्रवादी छविले लोभिएको र उहाँ मात्रै राष्ट्रप्रति इमानदार देखिएको बताएका थिए। त्यसैले भीम दाइ पूर्वबाट उत्साही भएर फर्कनुभएको छ', गिरीले भने।
त्यसो त रावलले कोशीमा अपेक्षाभन्दा बढी नै रेस्पोन्स पाएको बताएको गिरीले बताए।
'पश्चिम नेपालमा मेरो राम्रै छ, पूर्वमा पनि यत्तिको रेस्पोन्स आउला भन्ने थिएन, तर राम्रो भयो, 'रावलले आफ्ना सहयोगीहरूलाई भनेका थिए, 'म उत्साही भएर काठमाडौं फर्कदैछु।'
भीम रावलले आफ्ना सहयोगीहरूलाई मातृभूमी जागरण अभियानमार्फत सबैलाई जोडेर नयाँ दल खोल्ने सन्देश दिएका छन्।
यद्यपि राजनीतिक दलका नेताहरूसँगको भेटमा भने उनले आफू तत्कालै नयाँ पार्टी खोल्ने भन्दा पनि जागरण अभियानमार्फत 'नेताहरूले गरेको राष्ट्रघातको भण्डाफोर' मा लाग्ने बताएका छन्।
कोशी प्रदेशमा दुई दिन बस्दा रावलले भेटेका सबैभन्दा हाई प्रोफाइल नेता हुन् कोशीका पूर्व मुख्यमन्त्री राजेन्द्र राई।
नेकपा एकीकृत समाजवादीका उपमहामसचिव समेत रहेका राईसँग रावलले आइतबार धरानमा एक घण्टाभन्दा बढी कुराकानी गरेका थिए।
पूर्व मुख्यमन्त्री राईले रावलसँग सामान्य कुराकानी भएको बताए।
राईका अनुसार रावलले आफू तत्कालै नयाँ दल खोल्ने पक्षमा नभएको जानकारी दिएका छन्।
'मैले सदनदेखि सार्वजनिक मञ्चसम्म केपी ओलीहरूको राष्ट्र घातबारे जे जति बोल्ने, लेख्ने काम गरेको छु, त्यो अरू कसले गरेको छ भनेर उहाँले सोध्नुभयो,' राईले भने, 'म तत्कालै पार्टी नखोले पनि यही नेताहरूले गरेको राष्ट्रघातको भन्डाफोर गर्न लागिरहन्छु भन्ने उहाँको कुरा थियो।'
रावलले आफूलाई एमालेले निकालेपछि एमालेदेखि अरू धेरै दलका कार्यकर्ताहरूले समेत सोधिरहेको बताएका थिए।
'तपाईंहरूकै दलका मान्छे पनि मसँग सम्पर्कमै छन्। तर, तपाईँहरूको पार्टीमा सक्रियलाई म अहिले चलाउँदिन। एमालेतिर वा अरूतिर जान खोजेकाहरूलाई म मेरो अभियानमा जोड्छु। तपाईंहरूको सहयोग चाहियो भन्ने उहाँको कुरा थियो,' भीम रावलको भनाइ उदृत गर्दै राईले भनेका थिए।
आइतबार काठमाडौं फर्किएका रावललाई विराटनगरमा स्वागत गर्नेदेखि भेटघाटको चाँजोपाँजो मिलाउन एकीकृत समाजवादीकै नेताहरू खटिएका थिए। केन्द्रीय सदस्य वसिम आलमले आफूले राजनीतिक रूपमा भन्दा पनि व्यक्तिगत सम्बन्धका आधारमा रावललाई स्वागत र सहयोग गरेको बताएका थिए।
रावल सुनसरीमा शनिबार सुरू हुने भनिएको एउटा फुटबल प्रतियोगिता उद्घाटनको निहुँ बनाएर विराटनगर आएका थिए।
तर, विमानस्थलमा ओर्लेर कार्यक्रम स्थलतिर जाँदै गर्दा एमाले नेताहरूको दबाबमा फुटबल उद्घाटन कार्यक्रम स्थगित भइसकेको थियो।
सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबञ्जरमा शनिबारबाट सुरू हुने भनिएको तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्ड कप फुटबल प्रतियोगिता स्थगित गरेर दुई सारिएपछि रावल अन्य भेटघाटमा लागेका थिए।