केपी शर्मा ओली नेतृत्वको सरकारलाई सहयोग गर्न भन्दै नेपाली कांग्रेस र नेकपा (एमाले) ले विभिन्न कार्यदल बनाएका बनाएका छन्।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आइतबार पार्टी केन्द्रीय कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा सरकारलाई सहयोग गर्न अलग-अलग कार्यदल रहेकोबारे उल्लेख छ।
सरकार सञ्चालनमा सहजीकरण गर्न तथा आवश्यक सुझाव दिन कांग्रेस र एमालेले पाँच-पाँच जना रहेको संयन्त्र बनाएको पनि प्रतिवेदनमा उल्लेख छ।
साथै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रतिवेदनमा उल्लेख गरेअनुसार कांग्रेस-एमालेका नेताहरू रहेको संयन्त्रले हालै सरकारलाई सहयोग गर्न विभिन्न क्षेत्रमा अलग-अलग कार्यदल बनाउने निर्णय गरेका छन्।
यस्तो कार्यदल चार-चार सदस्यीय रहेको छ। कार्यदलले राष्ट्रिय महत्त्वका केही विषयलाई सकारात्मक निष्कर्षमा पुर्याउन सहयोग गरेको पनि प्रधानमन्त्री ओलीको भनाइ छ।
कार्यदलले यस्ता विषयलाई गर्नेछ सहजीकरण;
१. संविधान कार्यान्वयनको समीक्षा र संशोधन
२. संविधान तथा सङ्घीयता कार्यान्वयनको समीक्षा
३. संसदमा विचाराधीन १९ वटा विधेयक छिटो पारित गर्न र संसदमा प्रस्तुत हुने विधेयक टुंग्याउन समयतालिका निर्धारण,
४. विद्यमान कानुनमा सुधार, औचित्य नभएका कानुन खारेज र सङ्घीयतासँग बाझिएका कानुनहरूको पहिचान र संशोधन
५. तत्काल ल्याउनुपर्ने नयाँ कानुनको पहिचान र तयारी,
६. सुशासन र जवाफदेहिताका लागि गभर्नेन्स रिफर्म सेन्टर निर्माण,
७. आर्थिक सुधार, वैदेशिक लगानी, राजस्व अभिवृद्धि, वाणिज्य विस्तार, लगानी ढाँचा निर्धारण र दोहोरो कर प्रणालीमा सुधार लगायत,
८. सार्वजनिक खर्च व्यवस्थापन
९. मन्त्रालयगत प्राथमिकता र सुधार
कांग्रेस र एमालेबीच गत असार १७ मा भएको ७ बुँदे सहमतिअनुसार असार ३० गते एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त भएका थिए।