नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक मुख्यालय च्यासलमा बसेको छ।
आइतबार मध्याह्न सुरू बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गरेका थिए।
बैठकमा महासचिव पोखरेलले सचिवालय बैठकका निर्णयहरू अनुमोदनका लागि पेस गरेका थिए। सचिवालयका निर्णयहरू केन्द्रीय समिति सदस्यहरूले अनुमोदन गरेका छन्।
यहाँनेर पार्टी नेतृत्वले बठ्याइँ गरेको केही केन्द्रीय सदस्यहरूले गुनासो गरेका छन्।
गत पुस १० को सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई संगठित सदस्यबाट निस्कासन गर्ने निर्णय गरेको थियो भने स्थायी कमिटी सदस्य विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई ६ महिना निलम्बनको निर्णय गरेको थियो।
सचिवालयको यो निर्णयमा असन्तुष्ट रहेका केन्द्रीय सदस्यहरूले प्रश्न उठाउन सक्ने भएकोले केन्द्रीय सदस्यलाई बोल्न समय दिनुअघि नै महासचिव पोखरेलले सचिवालय बैठकका निर्णय बैठकमा पेस गरेका थिए भने केन्द्रीय कमिटीबाट अनुमोदन पनि भएको छ।
एमालेले केन्द्रीय सदस्यहरूलाई ३ मिनेटको दरले धारणा राख्न समय दिने तयारी गरेको छ।
यो पनि; पूर्ववर्ती सरकारले भ्रष्टाचारविरूद्ध अभियान चलाएन, आफ्नालाई चोख्यायो: ओली (पूर्णपाठ)