राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न क्षेत्रका विज्ञहरूसँग अन्तर्क्रिया सुरू गरेको छ।
विभिन्न क्षेत्रका विज्ञहरूसँग 'संवाद श्रृंखला' राप्रपा सम्बद्ध नीति, अनुसन्धान विभागले सुरू गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए।
'नेपाल-भारत दीर्घकालीन विद्युत व्यापार सम्झौताका दुरगामी प्रभावहरू' विषयमा शनिबार राप्रपाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका जलस्रोतका जानकार सूर्यनाथ उपाध्यायसँग अन्तर्क्रिया गरेको हो।
‘हामी राजनीतिक, आर्थिक, सामाजिक र सबैखाले विषयमा विषयगत विज्ञसँग निरन्तर छलफल चलाउँछौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘विगतमा संवादका विभिन्न कार्यक्रम भएका छन् अब यसलाई बहस श्रृंखलाकै रुपमा अघि बढाउँछौं, राप्रपालाई देशको अग्रणी पार्टी बनाउन हरेक हिसाबले तयार हुने कार्यक्रम बनाइरहेका छौं।’
जलस्रोतमा नेपालको सम्भावना, ऊर्जा क्षेत्रमा विगतमा भएका नीतिगत त्रुटि, अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिबद्धता, ऊर्जा र भूराजनीतिदेखि अहिले के भइरहेको छ, के हुनुपर्थ्यो र के-के गर्न सकिन्छ र राप्रपाको धारणा के हुनुपर्छ भन्ने बारेमा संवाद गरिएको हो।
अन्तर्क्रियामा ऊर्जासम्बन्धी नीतिको समीक्षा भएको उनले बताए।
साथै जलस्रोत व्यवस्थापन विज्ञ तेजेन्द्र केसीका सन्धि ऐन, नेपालको संविधान र सन्धि सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन सम्बन्धी प्रावधान, अन्तर्राष्ट्रिय प्रतिबद्धता र राष्ट्रिय नीति बीचको विरोधाभास लगायतका विविध विषयमा प्रस्तुती दिएका थिए।
पहिलो संवाद कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष पशुपतिशमसेर जबरा, पदाधिकारीहरू, कार्यसम्पादन समितिका सदस्यहरू, प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरू सहभागी रहेका थिए।
अध्यक्ष लिङ्देनले छोटो समय ऊर्जामन्त्री भएर नेपालको ऊर्जा क्षेत्रको समस्या, सम्भावना, चुनौती र अवसरबारे बुझ्न पाएको बताएका थिए।
कुनै आयोजना भारतलाई नदिने चीनलाई दिने, चीनलाई नदिने भारतलाई दिने नीति गलत हुने, यस्तो अभ्यासले नेपाल भूराजनीतिक चक्रव्यूहमा फस्न सक्ने भएकाले नेपालले नेपालको हितलाई सर्वोपरि राखेर दीर्घकालीन नीति तय गर्नुपर्नेमा उनले जोड दिए।
अध्यक्ष लिङ्देनले वैदेशिक रोजगारीमा गएका नेपाली र गैरआवासीय नेपालीलाई ऊर्जा क्षेत्रमा लगानीको वातावरण बनाउन र लगानी सुरक्षाको सुनिश्चितता प्रदान गरिनुपर्नेमा पनि जोड दिए।
विभागका प्रमुख, पार्टीका कार्यसम्पादन समितिका सदस्य प्रा.डा. गीताभक्त जोशीले कार्यक्रमको औचित्य र संवाद श्रृंखलाको उद्देश्यबारे धारणा राखेका थिए।