नेकपा (एकीकृत समाजवादी) सँग एकता गर्न छलफल चलाइरहेका वामदेव गौतमले समझदारी विकास गर्ने सहमति भएको बताएका छन्।
बुधबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा अध्यक्ष माधवकुमार नेपालसँगको संवादपछि उनले पार्टी एकता छिट्टै हुने बताएका छन्।
एकीकृत समाजवादीमा एकता राष्ट्रिय अभियानलाई मिसाउनेबारे छलफल गर्न गौतम तेस्रो पटक संवादमा बसेका हुन्।
‘समझदारी विकास गर्ने भएको छ। यो त एउटा सानो पक्ष हो। यसैलाई खोल्नेबित्तिकै कति धेरै आउँछ। अबचाहिँ यस्तो भयो भनेर जुन दिन घोषणा गर्छौं त्यही दिन बताउँछौं– यसरी पार्टी एकता गर्छौं,’ उनले भने।
गौतमले नेकपा (एमाले) उपाध्यक्षबाट राजीनामा दिएर राष्ट्रिय एकता अभियान चलाइरहेका छन्। उनले एमालेमा फर्कर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पनि संवाद गरेका थिए। ओलीसँगको संवादले भने गति लिन सकेन।
एकीकृत समाजवादीमा उनलाई तेस्रो वरीयता दिनेबारे छलफल भइरहेको छ। गौतमले भने आफूलाई सक्रिय जिम्मेवारी र अन्य नेताको व्यवस्थापनको सुनिश्चितता खोजेका छन्।