नेपाली कांग्रेसभित्र विरासत बोकेका तीन जना नेता विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइराला एकअर्काको घर पुगेर छलफल गर्छन्।
उनीहरू तीनै जना अहिले कांग्रेस पदाधिकारीभन्दा बाहिर छन्। कांग्रेसमा निधि उपसभापति, सिंह र कोइराला महामन्त्री भइसकेका हुन्।
निधि, सिंह र कोइरालाको दोस्ती पुरानै हो।
एकअर्काका घर चहार्दै छलफल भने उनीहरूले १४ औं महाधिवेशन अघिदेखि सुरू गरेका थिए। महाधिवेशनमा निधि र सिंह त सभापतिमै भिडे तर शेरबहादुर देउवालाई जित्न सकेनन्, दोस्रो चरणको चुनावमा देउवाकै सहयोगी बने।
कांग्रेसभित्र १५ औं महाधिवेशनको तयारीका लागि प्रारम्भिक चरण क्रियाशील सदस्यता वितरण र नवीकरणका काम सुरू भएको छ। केन्द्रीय समितिले १५ औं महाधिवेशनको मिति तोकिसकेको छैन। कहिले महाधिवेशन हुन्छ छनकसमेत छैन।
२०७८ मंसिरमा १४ औं महाधिवेशन भएकोले त्यसको चार वर्षपछि २०८२ मंसिरमा १५ औं महाधिवेशन हुनुपर्ने हो। विधानले भनेजस्तो नियमित समयमा महाधिवेशन हुने छाँटकाँट देखिन्न।
१५ औं महाधिवेशनको आधारभूत तयारीमात्रै सुरू भएका बेला कांग्रेसका नेताहरूलाई भने महाधिवेशन लागिसकेको छ।
नेताहरू जमघट हुने, जिल्ला दौडाहा गर्ने, फरक गुटमा रहेकालाई समेट्नेजस्ता प्रयास त भइरहेका छन् सभापति देउवाको आशीर्वाद पाइन्छ कि भनेर केही नेताहरू कुर्नसमेत थालिएको चर्चा कांग्रेसभित्रै हुन थालेको छ।
निधि, सिंह र कोइरालाको जमघट यसपालि महाराजगञ्जबाट सुरू भयो। गत असोज ७ गते शशांकले निधि र सिंहलाई घरमै बोलाएर संवादको थालनी गरेका थिए।
समसामयिक राजनीति, पार्टीको आन्तरिक जीवन, भावी महाधिवेशनलगायत विभिन्न विषयमा उनीहरू मन्थन गर्छन्।
बुधबार निधि र कोइरालालाई चाक्सीबारी निम्त्याएका हुन्- उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले। यो भेटमा पनि समसामयिक राजनीति र पार्टीको महाधिवेशन तयारीजस्ता विषयले प्रवेश पाएको छ।
सिंहका स्वकीय सचिव युपी लामिछानेका अनुसार समसामयिक राजनीतिक घटनाक्रम लगायत विषयमा नेताहरूबीच कुरा भएको हो।
निधि, सिंह र कोइरालाले यो जमघटलाई 'लन्च मिटिङ' पनि भन्ने गर्छन्। शशांक र प्रकाशमानको घरमा छलफल भएकोले अब छलफल गर्ने पालो निधिको घरमा सरेको छ।
यसैगरी उनीहरूले १४ औं महाधिवेशनअघि पनि घर-घर चहार्दै छलफल गर्ने गरेका थिए।
निधि, सिंह र कोइराला सभापति शेरबहादुर देउवासँग नै निकट छन्। २०७८ मंसिरमा आफूसँगै सभापतिमा प्रतिस्पर्धा गरेका निधि र सिंहलाई देउवाले केन्द्रीय सदस्य, केन्द्रीय कार्यसम्पादन समिति सदस्य मनोनीत गरे। सिंहलाई त सभापति देउवाले पार्टीकै नेतृत्व गरेर केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी गराएका छन्।
निधि समानुपातिक सांसद हुन् भने सिंह र कोइरालाले प्रतिनिधि सभा सदस्यमा लगातार चुनाव जित्दै आएका छन्।
बुधबारको छलफलमा सरकारका कामकारबाही जनमुखी बनाउनेबारे पनि उनीहरूबीच कुराकानी भएको थियो। निधि, सिंह र कोइरालाको दोस्ती राम्रो भए पनि उनीहरू सबै १५ औं महाधिवेशनमा सभापति पदका आकांक्षी छन्।
सभापति देउवाले कसैलाई पनि भावि सभापतिमा अघि नसारेकोले देउवाको मन जित्नेमा उनीहरू पनि लागिपरेकै छन्, सँगसँगै जमघटलाई बाक्लो बनाएर एकताको सन्देश पनि दिन खोजेका छन्।
‘जमघटलाई निरन्तरता दिँदै जाने भन्ने छ, साथै थप साथीहरूलाई संवादमा ल्याउन पहल गर्ने कुराकानी भएको छ,’ छलफलमा सहभागी एक नेताले भने।
१४ औं महाधिवेशनमा सिंहको प्यानलबाट उम्मेदवार विश्वप्रकाश शर्मा महामन्त्री निर्वाचित भए। २०७९ को पुस ६ गते संसदीय दल नेता निर्वाचनमा शर्माले अर्का महामन्त्री गगन थापालाई समर्थन गरेका थिए। महामन्त्री शर्मा र सिंहबीच अहिले पनि सम्बन्ध सुमधुर नै रहेको नेताहरू बताउँछन्।
कांग्रेसका नेताहरूले पछिल्लो समय आमचुनाव २०८४ र १५ औं महाधिवेशनको मात्र चिन्ता र चर्चा गर्ने गरेकोमा असन्तुष्टि पनि देखिन थालेको छ।
एमालेसँग असार १७ मा ७ बुँदे सहमति गरेर सरकार बनाएको र त्यो सरकारबाट जनताका समस्या समाधान गर्नेतिर तथा संगठन सुदृढीकरण गरेर पार्टीलाई थप बलियो बनाउनेतिरभन्दा नेताहरूको ध्यान एउटा चुनावदेखि अर्को चुनावसम्म मात्रै सीमित देखिएकोमा महामन्त्री गगन थापा नै असन्तुष्ट देखिएका छन्।
महामन्त्री थापाले राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा मकवानपुरमा मंगलबार भएको कार्यक्रमबाट महाधिवेशन समयमै हुने भएकोले ढुक्न रहन आग्रह गरेका थिए।
प्रतिबन्धित कालमा पनि सम्हालिएको कांग्रेसले समयमै महाधिवेशन गर्ने भएकोले ढुक्क हुन थापाको आग्रह छ।
पार्टीभित्र कसैलाई महाधिवेशनका पक्षधर र कसैलाई महाधिवेशन नगर्ने बनाइएको उल्लेख गर्दै थापाले १५ औं महाधिवेशन आनन्दसँग गरिने प्रतिक्रिया दिएका हुन्।
‘पार्टीका मञ्चहरूमा र केन्द्रीय समितिमा २०८४ को चुनाव र १५ औं महाधिवेशनबारे कुरा गर्छौं, १५ औं महाधिवेशन हुन्छ, रूवाबासी नगरौं,’ उनले भने, ‘प्रतिबन्धित कालमा त सम्हालिएर आएको पार्टीले आनन्दसँग समयमै महाधिवेशन गर्छ।’
महाधिवेशन पार्टीको नियमित प्रक्रिया भएको र को नेतृत्वमा आउने कुरा समयमा सोच्दै जाने विषय भएको उनको भनाइ छ। महामन्त्री थापा पनि सभापतिका आकांक्षी छन्, सार्वजनिक रूपमा नभने पनि उनले आन्तरिक तयारी सभापतिकै लागि गरिरहेको चर्चा कांग्रेसभित्र छ।
२०७८ को १४ औं महाधिवेशनमा 'एकपटक यसैपटक' नारासहित महाधिवेशनमा होमिएका शेखर कोइराला सभापति देउवासँग पराजित भए। महाधिवेशन सकिएको केही समयदेखि नै कोइराला जिल्ला दौडाहा गर्दै १५ औं महाधिवेशन तयारी गरिरहेका छन्। कोइरालाले आफू १५ औं महाधिवेशनमा पनि सभापति पदमा उठ्ने सार्वजनिक रूपमा भनिसकेका छन्।
कोइरालाले महामन्त्री थापा पनि आफूसँगै रहेको विभिन्न जिल्ला पुग्दा बताउने गरेका छन्।
शेखरले कोइराला परिवारलाई पनि एकजुट बनाउन खोजेका छन् तर पार लागेको छैन।
१४ औं महाधिवेशनमा पनि कोइराला परिवार (शेखर, शशांक र सुजाता) फरकफरक प्यानलबाट चुनाव लडेका थिए। सुजाता सिंह प्यानलबाट उपसभापति उठेर पराजित भइन् भने शशांक केन्द्रीय सदस्यमात्रै उठे, जिते पनि।
यसपालि सुजाता भने शेखरलाई साथ दिन पुगेकी छन्, शशांकको ध्यान आफै सभापति बन्नेतिर छ।
सुजाता गत साउन ४ गते शेखरको सम्पर्क कार्यालय बालुवाटार पुगेर अबको सभापति शेखर नै भएको प्रतिक्रिया दिएकी थिइन्।
‘शेखर दाइले बोलाउनुभयो, म पनि आएँ। हामी एकजुट भएर अघि बढेनौं भने कोही पनि नरहने स्थिति भयो, त्यसकारण सबैले केही न केही त्याग गर्नैपर्छ,’ शेखरलाई सहयोग गर्ने वचनसहित सुजाताको भनाइ थियो, ‘शेखर दाइले धेरै मेहनत गर्नुभएको छ, उहाँलाई मेरो पनि साथ छ।’
तर यसपछि शेखर जिल्ला-जिल्लामा भएका कार्यक्रममा सहभागी हुँदा सुजाता भने देखिएकी छैनन्।
शशांक कोइराला भने परिवार एक हुने भन्ने कुरामा सहमत देखिँदैनन्।
राष्ट्रिय एकता दिवसकै दिन मंगलबार चितवनमा पत्रकारहरूसँगको कुराकानीमा शशांकले भने, ‘कोइराला परिवार एक होइन, विचार एक हुनु पर्यो। विचार एक भए हुन्छ।’
उनले महाधिवेशनका लागि आफ्नो स्पष्ट खाका रहेकोसमेत भन्न भ्याए। ‘पार्टीलाई एक ढिक्का बनाउने, गुट–उपगुट अन्त्य गर्ने, भ्रातृ संस्थाहरूलाई दुरुस्त राख्ने र कसैलाई काखापाखा नगर्ने नेतृत्व चाहिन्छ,’ उनले भने।
हिजोआज कांग्रेसले वडा-वडामा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम गरिरहेको छ। दाङमा ९० प्रतिशत क्रियाशील सदस्यले सदस्यता नवीकरण गरेको त्यहाँ पुगेका केन्द्रीय सदस्य प्रकाश रसाइली 'स्नेही' ले बताए।
महामन्त्री गगन थापा संयोजक र केन्द्रीय सदस्यहरू सीता गुरूङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रियाशील वितरण र नवीकरणलाई तीव्रता दिन आग्रह गरिरहेका छन्।
७७ जिल्ला कार्यसमिति हुँदै प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रीय कार्यसमिति, पालिका र वडामा कांग्रेसले क्रियाशील सदस्यता फारम पठाइसकेको छ।
क्रियाशील सदस्यता टुंगो लगाएपछि मात्रै कांग्रेस केन्द्रीय समितिले महाधिवेशनका लागि कार्यतालिका ल्याउँछ। २०७८ को १४ औं महाधिवेशनमा कांग्रेसका ८ लाख ८२ हजार ८ सय १६ जना क्रियाशील सदस्य थिए।
यो पनि:
कोइराला, सिंह र निधि भेटको अन्तर्य
क्रियाशील सदस्यता विवादमा १५ वर्षदेखि अल्झेको कांग्रेस