नेकपा (माओवादी केन्द्र)निकट अनेरास्ववियु (क्रान्तिकारी)को उमेर हदबारे भएको निर्वाचनको मत गणना स्थगित भएको छ।
बैतडी, बाजुरा, रुकुमपश्चिम, गुल्मी, सिन्धुपाल्चोक लगायतका जिल्लामा फर्जी प्रतिनिधिले भोट हालेपछि विवाद भएको एक प्रतिनिधिले बताए।
उनकाअनुसार बाजुरामा १५ जना प्रतिनिधि रहेका एक जना प्रतिनिधिले सबैको मत हालेको पाइएको छ। बाजुराका एक जना प्रतिनिधिले नै उमेरहदका पक्षमा सबै मतदान गरेको ती प्रतिनिधिले बताए।
बैतडीमा पनि त्यस्तै समस्या छ। त्यहाँ पनि एक जना प्रतिनिधिले सबै भोट हालेपछि विवाद सिर्जना भएको छ।
रुकुम पश्चिममा १० जना भूगोलभन्दा बाहिरका मानिसहरूलाई मतदान गनै लगाइएपछि विवाद उत्पन्न भएको छ।
सिन्धुपाल्चोकमा पनि भूगोलभन्दा बाहिरका कार्यकर्ताले भोटहालेको भन्दै विवाद भएपछि गणना स्थगित गरिएको छ।
अखिल क्रान्तिकारीका २ हजार ३९८ प्रतिनिधि रहेकामा पहिलो चरणमा करिब एक हजार ७०० जनाले मत हालेको ती प्रतिनिधिले बताएका छन्।
मतगणनामा विवाद भएपछि शनिबार नै केन्द्रीय निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले स्थगितको सूचना टाँसेका थिए।
क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन काठमाडौंको कीर्तिपुरमा गत असोज १० गतेबाट सुरू भएको थियो। सम्मेलनमा उमेर हद लागू गर्नुपर्ने विषय उठेपछि विवाद भएको थियो।
विवाद चर्किंदै गएपछि अधिवेशन स्थगित भएको थियो। पछि मंसिर २३ गते अधिवेशन गर्ने भनिए पनि विवादकै कारण अघि बढ्न सकेन।
अहिले क्रान्तिकारीले उमेर हदलाई निर्वाचनकै विधिबाट छिनोफानो गर्न लागेको हो।