बंगलादेशको अन्तरिम सरकारले भारतमा लुकेर बसेकी निर्वासित प्रधानमन्त्री शेख हसिनालाई फिर्ता गर्न माग गर्दै कुटनीतिक नोट पठाएको छ।
सोमबार भारत सरकारलाई कुटनीतिक नोट पठाउँदै हसिनालाई बंगलादेश फिर्ता गर्न माग गरेको बंगलादेशको विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ।
हसिनाविरूद्ध बंगलादेशमा १७ भन्दा बढी कसुरमा हसिनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ भने उनीविरूद्ध रेड कर्नर नोटिस जारी गर्न बंगलादेशले इन्टरपोललाई समेत अनुरोध गरिसकेको छ।
हसिनाविरूद्ध विभिन्न कसुरमा कारबाही प्रक्रिया अगाडि बढाउन बंगलादेशले उनलाई फिर्ता गर्न माग गरेको हो।
भारतले पनि हसिनालाई फिर्ता गर्न माग गर्दै बंगलादेशबाट कुटनीतिक नोट प्राप्त भएको भारतीय विदेश मन्त्रालयलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले लेखेको छ।
बंगलादेशले कुटनीतिक नोट नै पठाएपछि दुई देशबीचको सम्बन्धमा थप दरार उत्पन्न हुने विष्लेशण गरिएको छ।
कहाँ छिन् हसिना?
गत अगस्ट ५ मा बंगलादेशमा विद्यार्थीहरूको आन्दोलन उत्कर्षमा पुगेपछि हसिना सेनाको सी-१३० एयरक्राफ्ट, एजेएएक्स १४३१ कलसाइन भएको जहाज चढेर साँझ ५:३६ बजे गाजियावादको हिन्डनस्थित भारतीय वायु सेनाको अड्डामा अवतरण गरेकी थिइन्।
त्यतिबेला हसिनाले केही समयका लागि मात्रै बस्ने बताएर भारत सरकारसँग अनुमति मागेकी थिइन्। भारतले छोटो समयमै निर्णय गरेर अनुमति दिनुपरेको थियो।
भारतीय सञ्चारमाध्यमहरूका रिपोर्टहरूले हसिना अहिले पनि भारतमै रहेको बताउँछ।
इन्डिया टुडेका अनुसार हसिना त्यतिबेला दुई दिनसम्म हिन्डनस्थित भारतीय वायुसेनाको अड्डामै थिइन्। हाइप्रोफाइल व्यक्तिहरूलाई लामो समयसम्म सैनिक अड्डामा राख्नु खतरा हुने भएपछि हसिनालाई दुई दिनपछि हिन्डनबाट नयाँ दिल्ली पुर्याइएको थियो।
त्यसयता उनी नयाँ दिल्लीस्थित एक सेफ हाउसमा बसिरहेको भनेर फाइनान्सियल टाइम्स (एफटी) ले उल्लेख गरेको छ। एफटीकै रिपोर्टमा हसिना कहिलेकाहीँ आफ्ना साथीहरूको साथमा राजधानीको सबैभन्दा नजिक रहेको लोधी गार्डेनमा टहलिँदै गरेको देखिने पनि उल्लेख गरेको छ।
अर्को भारतीय अखबार द प्रिन्टले अक्टोबर २४ मा प्रकाशन गरेको रिपोर्टले हसिना दिल्लीको ल्युटेन्स बंग्लो जोनमा रहेको रिपोर्ट सार्वजनिक गरेको थियो। त्यो ठाउँमा भारतीय उच्च पदस्थहरू र सांसदहरूको बसोबास रहेको कडा सुरक्षा व्यवस्था भएको क्षेत्र हो।
त्यहाँ उनी आफ्नी छोरी साइमा वाजेदको साथमा रहेको बताइएको छ। साइमा विश्व स्वास्थ्य संगठनको दक्षिण-पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक हुन्।
त्यहाँ हसिनालाई चौबिसै घन्टा सुरक्षाकर्मीहरूले पहरा दिइरहने पनि प्रिन्टको रिपोर्टमा उल्लेख छ। हसिनाको सुरक्षामा चौबिसै घन्टा सादा पोसाकमा सुरक्षाकर्मी खटाइएको छ। सेफ हाउसबाट बाहिर निस्कँदा पनि हसिनामाथि ती सुरक्षाकर्मीहरूले निगरानी गरिराख्ने प्रिन्टले आफ्नो रिपोर्ट उल्लेख गरेको छ।
बंगलादेश छाडेपछि बीचबीचमा हसिना बेलायत जान लागेको र त्यसका लागि कागजी प्रक्रिया चलिरहेको समाचारहरू सार्वजनिक हुन्थे। बेलायतमा हसिनाकी भतिजी ट्युलिम सिद्धिकी बस्छिन्।
केही दिन भनेर आएकी हसिनाको भारत बसाई सय दिन नाघिसक्दा अरू देश जान्छिन् कि भारतमै बस्छिन् भन्ने अझै यकिन नभएको इन्डिया टुडेले उल्लेख गरेको छ।
हसिना लामो समय भारतको शरणमा रहेको यो दोस्रोपटक हो।
यसअघि हसिना २७ वर्षकी हुँदा सन् १९७५ मा भारतको शरणमा पुगेकी थिइन्। त्यतिबेला बंगलादेशको राष्ट्रपति रहेका हसिनाका बुवा शेख मुजिबुर रहमानसँगै परिवार र नजिकका नातेदार सबैको हत्या भएको थियो।
हसिना र २० वर्ष पनि नपुगेकी उनकी बहिनी शेख रेहाना यो हत्याकाण्डको दुई साताअघि मात्रै युरोप गएकाले जोगिएका थिए।
हसिना युरोपमै हुँदा परिवारको हत्या भएपछि उनले तत्कालीन पश्चिम जर्मनीस्थित बंगलादेशी राजदूतको निवासमा शरण लिएकी थिइन्। पछि बुबासँग राम्रो सम्बन्ध भएकी र बंगलादेशको स्वतन्त्रतामा महत्त्वपूर्ण भूमिका खेलेकी भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीसँग राजनीतिक शरण मागेर भारतमा बसेकी थिइन्।
जियाउर रहमान राष्ट्रपति बनेपछि सन् १९८१ मा हसिनालाई देश फर्कन अनुमति दिएका थिए। त्यतिबेला ६ वर्ष निर्वासनमा दिल्ली बसेर हसिना बाचेका परिवारका अन्य सदस्यसहित बंगलादेश फर्किएकी थिइन्।
त्यसपछि आफ्ना बुबा मुजिबर रहमानले स्थापना गरेको दल अवामी लिगमा आबद्ध भएकी उनी सन् २००९ यता सत्ताको नेतृत्वमा थिइन्।
निर्वासनपछि भने उनीविरूद्ध बंगलादेशको अदालतमा हत्या र मानवअधिकारको गम्भीर उल्लंघनका आरोपमा १६ भन्दा बढी मुद्दा दर्ता भएका छन्। उनीविरूद्ध पक्राउ पुर्जी पनि जारी भइसकेको छ भने बंगलादेशको विशेष अदालतले रेड नोटिस जारी गर्न प्रहरीमार्फत इन्टरपोललाई पत्राचार समेत गरिसकेको छ।
हसिनालाई भारतले शरण दिएपछि बंगलादेशको अन्तरिम सरकार र दिल्लीबीच सम्बन्ध तिक्तिएको थियो। भारतबाटै एक साताअघि हसिनाले बंगलादेशको जनालाई सम्बोधन गरेकी थिइन्। त्यसक्रममा उनले अन्तरिम सरकार प्रमुखले बंगलादेशमा हिन्दुहरूको नरसंहार गरेको आरोप लगाएकी थिइन्।