गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्न कार्यदल छिट्टै बन्ने बताएका छन्।
संविधान संशोधन गर्न सरकारले आवश्यक गृहकार्य अघि बढाइसकेको उनले जानकारी दिए।
नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सबै दलसँग सहमति जुटाएर समयसापेक्ष रूपमा संविधान संशोधन गरिने बताए।
संविधान संशोधन गर्नका लागि आवश्यक गृहकार्य गर्न कांग्रेस र एमालेले केही दिनमा बेग्लाबेग्लै कार्यदल बनाउन लागेको उनले बताए।
‘पहिला हामी छलफल गरेर विषयको पहिचान गर्छौं, त्यसपछि सबै राजनीतिक दलसँग चरणबद्धरुपमा वार्ता र संवाद गर्छौं’, उनले भने, ‘त्यसपछि विषयवस्तुमा सहमति गरेर संविधान संशोधन हुन्छ। यसका लागि केही समय लाग्छ।’
समावेशितालाई कमजोर बनाउन होइन बरु थप सुदृढ गरेर संविधान संशोधन गर्न लागिएको उनले बताए।