राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरेको छ।
सूर्यदर्शन सहकारीको रकम गितेन्द्र बाबु राई (जिबी)को समूहमा आवद्ध भएर रवि लामिछानेले व्यक्तिगत खाता तथा गोर्खा मिडिया नेटवर्कमा रकमान्तर गरेकाले उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा लाग्ने सरकारी वकिलको कार्यालयको अभियोगपत्रमा उल्लेख छ। लामिछानेले भने सरकारी वकिलसँगको बयानका क्रममा यसरी गोर्खा मिडिया नेटवर्कमा आएको रकमका विषयमा अनविज्ञता प्रकट गरेका छन्।
तर सरकारी वकिलको कार्यालयले गोर्खा मिडिया नेटवर्कको मुख्य लगानीकर्ता कम्पनी जिबी ग्रुप अफ कम्पनीले तयार पारेको योजना सम्बन्धी कागजातमा नै सहकारीबाट पैसा ल्याउने उल्लेख रहेकोले लगानीको स्रोतबारे लामिछानेको अनविज्ञतालाई अपराध लुकाउने मनसाय भनेको छ।
सम्पत्ति शुद्धीकरणमा लामिछाने विरूद्ध कसूर स्थापित गर्ने क्रममा सरकारी वकिलको कार्यालयले केही आधार र कारण दिएको छ।
पहिलो, रवि लामिछानेले गोर्खा मिडिया नेटवर्कमा आवद्ध भएर शेयर प्राप्त गर्न सुरूआतमा बुझाएको ७५ लाख रकम नै सूर्यदर्शन सहकारीको पैसा भएको सरकारी वकिलको कार्यालयको दाबी छ।
सूर्यदर्शन सहकारीबाट २ करोड रकम जिबी राईको स्ट्याण्डर्ड चाटर्ड बैंकको खातामा ट्रान्सफर गरिएको र त्यसको ३ दिनपछि रवि लामिछानेको खातामा ७५ लाख ट्रान्सफर गरिएको अभियोगपत्रमा उल्लेख छ। त्यसको ठीक भोलिपल्ट रवि लामिछानेले सो ७५ लाख गोर्खा मिडिया नेटवर्कमा पठाएको देखिन्छ।
‘यसरी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन गरी गितेन्द्र बाबुको खातामा रकमान्तर भएको सो रकममध्ये रवि लामिछानेको व्यक्तिगत खातामा जम्मा गरी उक्त रकम पुनः गोर्खा मिडिया नेटवर्क प्रा.लि. को खातामा रकमान्तर तथा हस्तान्तरण गर्दै कम्पनीमा अवैध तवरबाट प्राप्त गरी निजले आफ्नो खातामा धारण समेत गरी पुन: ट्रान्सफर गरेबाट सम्पत्ति शुद्धीकरण गर्ने कार्यमा निजको संलग्नता पुष्टि हुन आयो,’ अभियोगपत्रमा भनिएको छ, ‘बयानको क्रममा गोर्खा मिडियामा उनले गरेको लगानी स्वेट सेयर बापत प्राप्त गरेको भनि बताएतापनि उनले सहकारीबाट अपचलन भई आएको (Illicit Origin) को रकम नै गोर्खा मिडियामा लगानी गरेर शेयरधनी भएको तथ्य सप्रमाण पुष्टि हुन आयो।‘
दोस्रो, सूर्यदर्शन सहकारीबाट ऋण लिएको र आफैंले हस्ताक्षर गरेको चेक मार्फत् किस्ता तिरेकोबाट रवि लामिछानेले जानीबुझी गैरकानुनी रूपमा प्राप्त भएको रकम स्थानान्तरण गरेकाले उनीविरूद्ध सम्पत्ति शुद्धीकरण स्थापित हुने सरकारी वकिलको दाबी छ।
‘२०७८ असार ३१ देखि मिति २०७९।०३।३० (१२ महिना) सम्मको समयावधि रहने गरी एक करोड कर्जा रकम १४.७५ % व्याजदर हुने गरी रवि लामिछानेको नाममा कर्जा प्रवाह गरेको देखिन्छ,’ अभियोग पत्रमा भनिएको छ, ‘गोर्खा मिडिया नेटवर्क प्रा. लि. को ग्लोबल आइएमई बैंकको खाताको चेकबाट मासिक रूपमा दुईवटा रु.१,१२,०००।- वा एकै पटक रु.२,२४,०००।– को चेकहरू मार्फत नियमित रूपमा आफैंले दस्तखत गरी, आफु नै शेयरधनी तथा प्रबन्धक समेत भएको कम्पनीबाट, आफू नै ऋणी भएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लगायतका सहकारी संस्थाहरूमा भुक्तानी दिएको तथ्यांकले उनले लिएको ऋण गोर्खा मिडिया प्रयोग भएको देखियो।'
अभियोग पत्रमा गोरखा मिडिया नेटवर्कबाट काटिएका १२ सय ३७ वटा चेकको विश्लेषण गरिएको छ।
‘सो मध्ये ८ सय १४ वटा चेकबाट ४८ करोड ५८ लाख २२ हजार २४६ रूपैयाँ बराबरको भुक्तानी रवि लामिछानेको एकल हस्ताक्षरित चेकबाट र रवि लामिछाने र गितेन्द्र बाबु राईले संयुक्त रूपमा हस्ताक्षर गरेका ६ थान चेकबाट ६० लाख १९ हजार रूपैयाँ बराबरको भुक्तानी भएको छ,’ अभियोग पत्रमा भनिएको छ, ‘यसरी भुक्तानी भएका चेकहरू नेचर हर्ब्स इन्टरनेशनल प्रा.लि., नेचर नेष्ट प्रा. लि. जस्ता मिडिया क्षेत्रसँग कारोबार नै नहुने प्रतिवादी कम्पनीहरू समेतलाई भुक्तानी दिएको देखिँदा सहकारी संस्थाहरूबाट अपचलन भई गोर्खा मिडियामा परिचालन भई आएको रकम उनले अवैध स्रोतको रकम हो भन्ने जानि बुझि पुनः स्थानान्तरण गरी व्यवस्थापन गर्ने कार्यमा संलग्नता रहेको देखियो।’
तेस्रो, रवि लामिछानले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट गैरकानूनी तवरले सहकारीको भावना तथा मर्म विपरित कर्जा बापत तथा सहकारीको खाताबाट विभिन्न व्यक्तिका खातामा रकमान्तर गरेको अभियोग लगाइएको छ।
‘विभिन्न व्यक्तिहरू तथा कम्पनीबाट नगद तथा चेक मार्फत प्रयोग तथा धारण गरी लामिछानेले सम्पत्तिको सही प्रकृति बदल्ने सो उपरको अधिकार र स्वामित्व लुकाउने र छल्ने, धारण तथा प्रयोग समेतका कार्य गरी गराई सम्पत्ति शुद्धीकरणको कसुर अपराध गरेको तथ्य पुष्टि हुन आयो,’ प्रतिवेदनमा भनिएको छ।
चौथो, रवि लामिछाने गोर्खा मिडिया नेटवर्कमा रहेको अवधिमा २६ करोड १४ लाख रकम रकमान्तर भएर आएको देखिएको र त्यस्तो सम्पत्ति प्रयोग गरेकाले उनीविरूद्ध सम्पत्ति शुद्धीकरणमा अभियोग पुष्टि हुने सरकारी वकिलको दाबी छ।
गोर्खा मिडियामा लगानी भएको ९३ करोड ३५ लाखमध्ये ६७ करोड ८७ लाख रुपैयाँ लगानी भएको अभियोग पत्रमा उल्लेख छ।
‘रवि लामिछाने समेतको मिलेमतोमा विभिन्न सहकारीको अपचलन गरी प्राप्त हुन आएको सम्पत्तिको गैरकानूनी स्रोत (Illicit origin derived from the cooperative fraud) लाई लुकाउने (Concealment), छल्ने (Disguising) अधिकार र स्वामित्व परिवर्तन गर्ने, कसुरबाट प्राप्त सम्पत्तिको सही प्रकृति, स्वरूप र स्रोत छल्ने एवम् बदल्ने र सम्पत्तिको गैरकानूनी स्रोत र सोबाट प्राप्त सम्पत्ति (Proceeds of crime) को बीचमा दुरी (Distancing) कायम गर्ने समेतका कार्य गरी उक्त कम्पनीको बैंक खाताहरूमा स्थानान्तरण तथा जम्मा Placement and Disposition गरी गराई प्राप्त हुन आएको रकम गोर्खा मिडिया नेटवर्क प्रा. लि. मार्फत प्रयोग तथा रकमान्तर समेत गरी सम्पत्ति शुद्धीकरण (Money Laundering) कसूर गरेको स-प्रमाण पुष्टि हुन आयो,’ अभियोग पत्रमा लेखिएको छ।
यसरी लामिछानले २७ करोड ८९ लाख बराबरको रकम सम्पत्ति शुद्धीकरण गरेको अभियोग पत्रमा दाबी गरिएको छ। अभियोग पत्रमा लामिछानेबाट यो रकमको दोब्बर जरिवाना गर्न माग गरिएको छ। साथै लामिछाने र उनको श्रीमती निकिता पौडेलको नाममा रहेको जग्गा जफत गर्न भनिएको छ। लामिछाने र निकिताको नाममा बैंकमा रहेको ७ लाख रकम समेत जफत गर्न भनिएको छ।