चीनले यो वर्ष उपमन्त्री वा माथिल्लो ओहोदाका ५६ जना अधिकारीमाथि भ्रष्टाचार आरोपमा कारबाही गरेको छ।
हङकङबाट प्रकाशित हुने 'साउथ चाइना मर्निङ पोस्ट' का अनुसार सन् २०२४ भरिमा ती अधिकारीहरूलाई कारबाही गरिएको हो। अघिल्लो वर्ष यो संख्या ४५ थियो।
नेपाली समाजमा ठूला भ्रष्टाचारीलाई 'ठूला माछा' भनिएजस्तै चीनमा त्यस्तालाई 'बाघ' भनिन्छ।
राष्ट्रपति सी चिनफिङले सन् २०१३ मा कार्यभार सम्हाल्नेबित्तिकै सानातिना व्यक्तिलाई मात्र नभएर 'बाघ' हरूलाई पनि छानबिन गर्न निर्देशन दिएका थिए। ठूला र शक्तिशाली अधिकारीहरूले भ्रष्टाचार गरेका छन् भने तिनलाई पनि उम्किन नदिनू भन्ने राष्ट्रपति चिनफिङको निर्देशन थियो।
उनको निर्देशनपछि चीनमा उच्च ओहोदाका राजनीतिक तथा प्रशासनिक अधिकारीहरूमाथि भ्रष्टाचार छानबिन बढेको छ।
यो वर्ष छानबिनमा परेका ५६ जना अधिकारीमध्ये १२ जना केन्द्रीय कम्युनिस्ट पार्टी वा चीनको केन्द्रीय सरकारका निकायसँग सम्बन्धित रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। यो संख्या गत वर्षभन्दा दोब्बर हो।
छानबिनमा परेका ठूला अधिकारीमा पूर्वन्याय मन्त्री टांग यिजुन, कृषिमन्त्री टांग रेन्जियान, राष्ट्रिय खेलकुद प्रमुख गौ झोंगवेन लगायत छन्।
चीनले गत साता मात्रै करिब ३ अर्ब युआन भ्रष्टाचार गरेको आरोपमा एक पूर्वअधिकारीलाई मृत्युदण्ड दिएको थियो। चीनको स्वायत्त क्षेत्र इनर मंगोलियाको राजधानी होहोट सहरस्थित 'इकोनोमिक डेभलपमेन्ट जोन' का पूर्वकम्युनिस्ट पार्टी प्रमुख ली जियानपिङलाई मृत्युदण्ड दिइएको हो।
इनर मंगोलियाको अदालतले ६४ वर्षीय लीलाई सन् २०२२ सेप्टेम्बरमा घुस लिएको, सार्वजनिक रकम दुरूपयोग गरेको र आपराधिक समूहसँग साँठगाँठ गरेको ठहर गर्दै मृत्युदण्ड सुनाएको थियो। चीनको सर्वोच्च जनअदालतले पनि उक्त सजाय सदर गर्यो।
चीनमा पार्टी अधिकारीहरूलाई विरलै मृत्युदण्ड दिइन्छ। अदालतले मृत्युदण्ड सुनाएपछि कार्यान्वयन गर्न प्राय: दुई वर्ष समय दिइन्छ। त्यही अवधिमा मृत्युदण्डलाई जन्मकैदमा परिणत गरिन्छ। ली जियानपिङका हकमा भने उनले धेरै ठूलो रकम हिनामिना गरेको भन्दै सर्वोच्च जनअदालतले मृत्युदण्ड सदर गरेको थियो।
चीनमा पछिल्लो समय शक्तिशाली पार्टी अधिकारी र जनरलहरूमाथि भ्रष्टाचारमा छानबिन बढेको छ। रक्षा मन्त्रालयले गत महिना विज्ञप्ति निकाल्दै केन्द्रीय सैन्य आयोगका जनरल मिआओ हुआमाथि नियम र अनुशासन उल्लंघन गरेको आरोपमा छानबिन थालेको जनाएको थियो। राष्ट्रपति चिनफिङ नेतृत्वको उक्त आयोगमा राजनीतिक कार्यविभाग निर्देशक रहेका मिआओलाई जिम्मेवारीबाट हटाइएको मन्त्रालयको विज्ञप्तिमा छ।
उनी वरियताक्रममा रक्षामन्त्री दोङ जुनभन्दा वरिष्ठ हुन्। उनलाई कारबाही भएपछि चीनको रक्षा क्षेत्रमा हलचल मच्चिएको थियो। त्यसअघि बेलायती पत्रिका 'फाइनान्सियल टाइम्स' ले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै रक्षामन्त्री दोङमाथि पनि भ्रष्टाचार अनुसन्धान सुरू भएको दाबी गरेको थियो। दोङलाई भने अझै पनि पदबाट हटाइएको छैन। उनी सार्वजनिक कार्यक्रममा रक्षामन्त्रीकै रूपमा भाग लिइरहेका छन्।
६९ वर्षीय मिआओ १४ वर्ष उमेरमै जनमुक्ति सेनामा भर्ना भएका थिए। सन् २०१५ मा उनी नौसेनाको एड्मिरलमा बढुवा हुँदा उक्त पदमा पुग्ने सबभन्दा कम उमेरका सैन्य अधिकारी बनेका थिए। उनी सन् २०१७ देखि केन्द्रीय सैन्य आयोगको राजनीतिक कार्यविभागका निर्देशक थिए।
दोङभन्दा अगाडिका दुई रक्षामन्त्री पनि भ्रष्टाचार छानबिनमा परेका थिए। राष्ट्रपति चिनफिङले भ्रष्टाचार आरोपमा ली शाङ्फुलाई हटाएर दोङलाई रक्षामन्त्री बनाएका थिए। लीभन्दा अघिका रक्षामन्त्री वेइ फेङ्गही पनि भ्रष्टाचार अनुसन्धानमा परेका थिए।
गत वर्ष अन्त्यमा लीलाई हटाएका बेला नौ जना जनरलमाथि पनि राष्ट्रपति सीले कारबाही गरेका थिए। त्यति बेला सेनाको रकेट फोर्स प्रमुख रहेका लीभन्दा अघिका रक्षामन्त्री वेइसहित रकेट फोर्सका अरू वरिष्ठ सैन्य अधिकारी पनि कारबाहीमा परेका थिए।
आणविक हतियारसहित आधुनिक मिसाइलहरूबारे हेर्ने रकेट फोर्स चीनको सबभन्दा धेरै बजेट हुने सैन्य निकायमध्ये पर्छ। त्यहाँ व्याप्त भ्रष्टाचारले चीनको सैन्य क्षमतामाथि नै गम्भीर असर पार्न थालेपछि सीले रकेट फोर्सका वरिष्ठ अधिकारीलाई कारबाही थालेका थिए।
अमेरिकासँग युद्ध हुँदा प्रयोग गरिने कतिपय मिसाइलमा इन्धनको साटो पानी राखेको र अरू पूर्वाधारमा पनि भ्रष्टाचार गरेको भेटिएपछि सीले कारबाही सुरू गरेको पश्चिमा मिडियाहरूले लेखेका थिए।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)