भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता राहुल गान्धीविरूद्ध प्रहरीले एफआइआर दर्ता गरेको छ।
संसदको नेता प्रतिपक्षी समेत रहेका गान्धीविरूद्ध बिहीबार भारतीय जनता पार्टीका सांसदहरूले उजुरी दिएपछि प्रहरीले एफआइआर दर्ता गरेको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ।
संसदमा बिहीबार सत्तापक्ष र विपक्षी सांसदहरूबीच धकेलाधकेल भएको थियो। धकेलाधकेलमा भाजपाका दुई सांसहदहरू प्रताप सारंगी र मुकेश राजपुत घाइते भएका थिए। उनीहरूको उपचार भइरहेको हिन्दुस्तान टाइम्सले लेखेको छ।
विपक्षी दल नेता गान्धीले धक्का दिँदा आफ्ना सांसद लडेर घाइते भएको भन्दै भाजपाका सांसदहरू हेमाङ जोशी, अनुराग ठाकुर र बासुरी स्वराजले दिल्ली प्रहरीमा जाहेरी दिएका थिए।
दिल्ली प्रहरीले बिहीबार राहुलविरूद्ध भारतीय न्याय संहिताको सेक्सन ११७, १२५, ३५१ र ३ (५) अनुसार एफआइआर दर्ता भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
नेता गान्धीले भने अदानी प्रकरणबाट जनताको ध्यान हटाउनका लागि सत्तापक्षले अनेक प्रपञ्च रचेको टिप्पणी गरेका छन्।
उनले संसद भवन प्रवेश गर्दा भाजपाका सांसदहरूले आफू र अध्यक्ष मल्लिकार्जुन खड्गेलाई अवरोध गरेको बताएका छन्।
कंग्रेसका सांसदहरूले पनि अध्यक्ष खड्गेलाई दुर्व्यवहार गरेको भन्दै भाजपाका सांसदहरू विरूद्ध प्रहरीमा उजुरी दिएको हिन्दुस्तान टाइम्सले लेखेको छ।