सिरियाका तानाशाही राष्ट्रपति बसर अल-असद कसैलाई नभनी सुटुक्क देश छाडेर भागेको खुलासा भएको छ।
बेलायती समाचार संस्था रोयटर्सका अनुसार बसरले सेनामा रहेका आफ्नै भाइलाई समेत नभनी गत साता देश छाडेर भागेका थिए। बसरका भाइ महेर अल-असद सिरियाली सेनाको शक्तिशाली विभागका प्रमुख थिए।
कसैलाई थाहा नदिई दाइ सुटुक्क रसिया भागेको थाहा पाएपछि भाइ महेर पनि सेनाको हेलिकप्टर लिएर भागेका थिए। उनी आफै हेलिकप्टर उडाएर पहिले सिरियाको छिमेकी मुलुक इराक पुगे। त्यहाँबाट उनी पनि रसिया गए।
बसरले आफू भाग्नु अगाडि नै श्रीमती र तीन छोराछोरीलाई रसिया पुर्याइसकेका थिए।
बसरले आफू भाग्ने कुरा कसैलाई नभनेका मात्र होइनन्, उनले आफ्ना सेना, प्रहरी, राष्ट्रपति कार्यालयका निकट कर्मचारी लगायत सबैलाई झुक्क्याएका पनि थिए।
भाग्ने दिनको साँझ उनले पत्रकार सम्मेलन गर्छु भनेर मिडिया सल्लाहकार बुथैना शाबनलाई भाषण लेख्न आफ्नो निवासमा बोलाएका थिए। जब शाबन बसर निवास पुगे, तब उनी त्यहाँ थिएनन्। राष्ट्रपति कार्यालयबाट निस्किनुअघि कार्यालयका मेनेजरलाई बसरले निवास नै जाने भनेका थिए।
बसरले यसरी झुक्क्याएपछि यसको सिकार उनका परिवारका अन्य सदस्य र आफन्तजन पनि भएका छन्। बसर भागेपछि उनीनिकट रहेर काम गरिरहेका उनका दुई मामाका छोराहरू इहब, इयद मखलुफ पनि ज्यान जोगाउन राजधानी दमास्कसबाट भागेका थिए।
सडक मार्ग हुँदै कारमा लेबनन भाग्न खोजेका उनीहरूलाई प्रदर्शनकारीले बाटैमा रोकेर आक्रमण गरे। सो आक्रमणमा इहबको मृत्यु भएको र इयद गम्भीर घाइते भएको जानकारी प्राप्त भए पनि आधिकारिक रूपमा पुष्टि गर्न नसकेको रोयटर्सले जनाएको छ।
बसरले आफू भाग्ने निधो त्यतिखेर गरेको देखिन्छ जब लामो समयदेखि उनलाई साथ दिँदै आएको रसियाले सैनिक सहयोग दिन अस्वीकार गर्यो।
सन् १९७० को आखिरीमा हफिज अल असदले 'कू' गरेर सुरू गरेको असद वंशको एकतन्त्रीय शासन नोभेम्बर २७ मा सुरू भएको आक्रमणका कारण तासको महलसरि ११ दिनमै ढलेको थियो। विपक्षी लडाकुहरूले आक्रमण सुरू गरेको भोलिपल्टै नोभेम्बर २८ मा बसर सैन्य सहयोग माग्न र आफ्नो शासनसत्ता टिकाउन मस्को पुगेका थिए।
तर युक्रेनसँगको युद्धमा नराम्ररी फसेको रसियाले बसरलाई तत्काल सहयोग गर्न आफू असमर्थ रहेको बतायो।
मध्यपूर्वमा बसरको अर्को मित्र इरानले उनलाई सहयोग गर्ने सम्भावना यसै पनि थिएन। उनले इरानसँग सहयोग माग पनि नगरेको सञ्चार माध्यमहरूले जनाएका छन्।
इसराइलले इरान समर्थित हमास र हिजबुल्लाहमाथि पछिल्ला केही महिनायता व्यापक आक्रमण गरेर लगभग उनीहरूको ढाड भाँचेको छ। इसराइलले एकपटक इरानमाथि पनि आक्रमण गरिसकेको छ। इरानले बसरलाई सैन्य सहयोग पठाएको भए इसराइलले सिरिया र इरानमाथि पनि आक्रमण गर्न सक्थ्यो। त्यसैले बसरले इरानसँग सहयोग नै मागेनन्।
मस्कोबाट फर्किएपछि बसरले आफ्नो सेना र निकट सहयोगीहरूसँग रूसको सैन्य सहयोग आउँदैछ भनेर ढाँटेका थिए। जबकि रसियाले उनलाई त्यस्तो कुनै सहयोग गर्ने छैन भन्ने उनले मस्कोमै थाहा पाइसकेका थिए। उनी मस्को पुगेका बेला विद्रोहीहरूले सिरियाको दोस्रो ठूलो सहर एलेप्पो कब्जा गरिसकेका थिए।
बसर मस्कोबाट फर्किएर आफू भाग्ने तारतम्य मिलाउन लागेका थिए भन्ने घटनाक्रमले देखाउँछन्। रसियाले उनको शासन जोगाउन सहयोग नगरे पनि बसरलाई सुरक्षित देश छाडेर भाग्न भने भरमग्दुर प्रयास गरेको देखिन्छ।
त्यही योजना अनुरूपै उनले आफ्नो परिवार (श्रीमती र छोराछोरी) लाई गोप्य रूपमा मस्को पुर्याए। अनि शनिबार राति विमानस्थल पुगेर सैनिक जहाजमा आफू पनि भागे।
ट्र्याक गर्ने उपकरण बन्द गरेर, कम उचाइमा उडाएर, राडार छल्दै उनी चढेको जहाज सिरियाको सीमा नजिकै रहेको रसियाको सैन्य हवाइअड्डा पुगेको थियो। त्यहीँबाट उनी सैन्य सहयोगमा मस्को पुगेका रोयटर्सले जनाएको छ।
रोयटर्सले बसरले सिरियामा बिताएका अन्तिम घन्टाहरूबारे जानकार उनी निकट अधिकारी, क्षेत्रीय कूटनीतिज्ञ, सुरक्षा अधिकारी, इरानी अधिकारीहरू लगायत १४ जनासँग कुराकानी गरेको थियो।
बसरका प्रधानमन्त्री मोहम्मद जलालीले पनि बसरसँग अन्तिमपटक शनिबार राति साढे १० बजे फोनमा कुरा भएको बताएका छन्। त्यसमा उनले बसरलाई स्थिति अत्यन्तै प्रतिकूल रहेको, सडकमा आतंक र भय रहेको ब्रिफिङ गरेका थिए।
जबाफमा बसरले 'भोलि हेरौंला' भनेका थिए। जलालीले बसरलाई आइतबार बिहानै सम्पर्क गर्न खोजे पनि कुरा नभएको बताएका छन्।
बसर सुरूमा संयुक्त अरब इमिरेट्स (युएई) जान चाहेका थिए। तर बसरमाथि अमेरिका लगायत पश्चिमा राष्ट्रले नाकाबन्दी लगाएका र आफ्नै जनतामाथि रसायनिक हतियार प्रयोग गरेको संगीन आरोप लागेका उनलाई शरण दिए अप्ठ्यारोमा पर्ने भएकाले युएईले मानेन।
बसरलाई सिरियाबाट सुरक्षित बाहिर जान दिन रूसले कतार र टर्कीसँग आग्रह गरेको पनि रोयटर्सले जनाएको छ। त्यस्तै रूसी हवाइअड्डाबाट उनलाई लिएर उडेको जहाज कसैले नरोकोस् भनेर छिमेकी देशहरूसँग पनि सहकार्य गरेको थियो।
(रोयटर्स लगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)
यो पनि पढ्नुहोस्-
५० वर्षदेखि सिरियामा अकन्टक राज गर्दै आएको असद वंशको शासन यसरी ढल्यो