अबिच्युरी
२०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर थिए- गणेशमान सिंह। आफ्ना विचारमा अडिग रहेकैले नेपाली कांग्रेसका नेता सिंहलाई लौहपुरूष भनिन्छ।
काठमाडौंको ठमेलस्थित चाक्सीबारीमा रहेको गणेशमानकै घरआँगनबाट उद्घोष भएको २०४६ को जनआन्दोलनले पञ्चायत ढालेर बहुदलीय प्रजातन्त्र पुनर्स्थापना गर्यो।
आन्दोलनका सर्वोच्च नेता गणेशमान भए पनि नेपथ्यमा उनका सहयोगी थिए- पिएल सिंह। उनकै दरिलो साथले गणेशमान सर्वोच्च नेता बने।
उनै पिएल सिंहको ८८ वर्ष उमेरमा गए राति चाक्सीबारीमा निधन भएको छ। अल्सर लगायत रोगबाट पीडित उनको गत वर्ष शल्यक्रिया गरिएको थियो।
उनी प्रजातन्त्र पुनर्स्थापनालगत्तै २०४९ सालमा भएको स्थानीय निकाय चुनावबाट काठमाडौंको मेयर निर्वाचित भएका थिए।
पिएल मेयर हुँदा सुधारका धेरै काम भए। उनकै नेतृत्वमा काठमाडौं नगरपालिकालाई २०५२ मंसिर २९ गते महानगरमा रूपान्तरण गरियो। त्यसैले महानगरले दुई दिनअघि आफ्नो ३०औं स्थापना दिवस मनाउँदा उनै पूर्वमेयर सिंहलाई राजनीति र समाजसेवातर्फ सम्मान गरेको थियो।
पिएलको निधनमा महानगरले सोमबार शोक बिदा दिएको छ। मेयर बालेन शाहसहित जनप्रतिनिधिहरू चाक्सीबारी पुगेर सिंहलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।
पिएलले लामो समय गणेशमान सिंहका प्रमुख सहयोगीका रूपमा काम गरेका थिए। उनी कसरी गणेशमानसँग जोडिए त?
हामीले पिएलसँग निकट रहेर काम गरेकाहरूसँग यसबारे कुराकानी गरेका छौं।
पिएल सिंहको जन्म १९९३ सालमा काठमाडौंको ताम्सिपाखामा भएको थियो। उनमा सानैदेखि राजनीतिप्रति आकर्षण थियो भने उनी समाजसेवामा पनि रूचि राख्थे।
जहानियाँ राणा शासनविरूद्ध नेपाली कांग्रेसले गरेको २००७ सालको क्रान्तिकै बेलादेखि पिएल गणेशमानसँग निकट रहेको कांग्रेस नेता तथा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान बताउँछन्।
'पिएल दाइको घर चाक्सीबारी नजिकै ताम्सिपाखा हो। त्यहाँका चन्द्रलाल श्रेष्ठका छोरा पिएल किशोरावस्थादेखि नै गणेशमान सिंहसँग निकट रहनुभयो,' मेयर हुँदा पिएलका सल्लाहकार रहेका प्रधानले भने, 'पिएलका एक भाइ र दुई बहिनी छन्। तर पिएल दाइ किशोरावस्थादेखि नै चाक्सीबारीमै बस्नुभयो।'
राजनीतिप्रतिको आकर्षणले डोहोर्याएर गणेशमानसँग पुगेका पिएलको काँधमा बिस्तारै चाक्सीबारीको घर धान्ने र गणेशमान सिंहका परिवारको रक्षा गर्ने जिम्मेवारीसमेत थपियो।
'चाक्सीबारीको रेखदेख र मंगलादेवीको सुरक्षाका साथै प्रकाशमान लगायतलाई शिक्षादीक्षा दिने काम पनि पिएल दाइले नै गर्नुभएको हो,' प्रधानले भने, 'प्रतिकूल अवस्थामा पनि गणेशमानजीलाई उहाँले भरथेग गर्नुभयो। गणेशमाजीको छोराजस्तै रहेर उहाँले काम गर्नुभयो।'
पिएलकै सहयोगका कारण गणेशमान सफल नेता भएको उनले बताए।
'घरायसी मामिलाबाट गणेशमानजीलाई अलग्गै राखेर पूर्ण राजनीतिमा होमिने वातावरण र बन्दोबस्त पिएल दाइले नै गरिदिनुभयो, जसले गणेशमानलाई सफल हुन सहयोग पुग्यो,' उनले भने।
यसबीच पिएल कमर्स क्याम्पसबाट विद्यार्थी नेता पनि भएका थिए। २०१५ सालको कुरा हो, बिपी कोइराला प्रधानमन्त्री बनेपछि एक सम्मेलन गरिएको थियो। त्यसमा क्याम्पस प्रतिनिधिका रूपमा पिएल सहभागी रहेको प्रधान सम्झन्छन्।
२०१७ पुस १ गते राजा महेन्द्रले शासन हातमा लिएपछि बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई सुन्दरीजल जेल पठाइएको थियो।
'गणेशमानजीले सुन्दरीजल जेल जाँदा आफ्नो परिवारका सदस्यहरू पिएल सिंहलाई नै सुम्पिएर जानुभएको थियो। त्यस बेला प्रकाशमान सिंह ५ वर्षका थिए। उनीहरूलाई र घर सम्हाल्ने काम पिएलले नै गर्नुभएको हो,' प्रधानले भने।
बिपी, गणेशमान र कृष्णप्रसाद करिब ८ वर्ष सुन्दरीजल बसे। त्यसपछि उनीहरू भारत निर्वासित भए। २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएसँगै उनीहरू सुन्दरीजलमा फेरि एक वर्ष जेल बसेका थिए।
चाक्सीबारीमै जीवन बिताएका पिएल सिंहले विवाह गरेनन्। उनी केही वर्षअघि चाक्सीबारीबाट निस्किएका थिए। तर बिरामी परेपछि गणेशमानकी बुहारी सिर्जना सिंहले उनलाई फेरि चाक्सीबारीमै ल्याएर राखिन्।
'किशोरावस्थादेखि नै पिएल दाइ चाक्सीबारीमै बस्नुभयो। केही वर्षअघि उहाँ त्यहाँबाट निस्कनुभएको थियो। गणेशमानजीकी बुहारी सिर्जनाजीले बिरामी भएको भन्ने सुनेपछि उहाँलाई फेरि चाक्सीबारीमै ल्याउनुभएको थियो,' प्रधानले भने, 'पिएल दाइको अन्तिम इच्छा नै गणेशमानजीले प्रजातन्त्रका लागि त्याग र तपस्या गरेको चाक्सीबारीमा जीवन बिताउनु थियो। चाक्सीबारीकै घरमा बस्ने इच्छा थियो। त्यही घरमा आज उहाँले जीवन त्याग्नुभयो।'
पिएललाई गणेशमानले पनि जिम्मेवारी दिने गरेका थिए। २०४२ सालमा कांग्रेसले सत्याग्रह गर्दा र २०४६ सालमा आन्दोलन गर्दा पिएल नै प्रवक्ता थिए।
गणेशमानसँग निकट रहेर काम गरेकोले पनि हुनुपर्छ, सरल स्वाभावका पिएललाई कांग्रेसले मेयरको उम्मेदवार बनाएको थियो। उनले जिते पनि।
काठमाडौंलाई महानगरमा रूपान्तरण गरेपछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले पिएललाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए। त्यस बेलाको घटना सम्झँदै प्रधानले भने, 'उहाँले मागेको पनि होइन, गिरिजाबाबुले केन्द्रीय सदस्य बनाइदिनुभयो। त्यसपछि उहाँले सबैलाई लड्डु खुवाएको मलाई अहिले पनि सम्झना आउँछ।'
मेयर रहेका बेला पिएल काठमाडौंमा प्रिय थिए। धनीदेखि गरिबसम्मको सम्पर्कमा रहने उनले कसैलाई विभेद गरेनन्। मेयर जितेपछि उनले 'म सफाइको राजा हो' भन्थे।
'उहाँ आफूलाई किङ अफ द स्वीपर भन्नुहुन्थ्यो, चुनावमा पनि स्वच्छ हराभरा काठमाडौं भन्ने उहाँको एजेन्डा थियो,' मेयर रहँदा पिएलका सल्लाहकार प्रधानले भने, 'उहाँले काम पनि त्यसैअनुसार गर्नुभयो।'
पछिल्लो जनआन्दोलन र यसले ल्याएका परिणाममा भने पिएल केही असन्तुष्ट देखिन्थे।
'उहाँ २०४६ सालको परिवर्तन र त्यसपछिको संविधानको हिमायती हुनुहुन्थ्यो। २०६२/६३ को जनआन्दोलन र त्यसपछिको अन्तरिम संविधानमा उहाँका केही असन्तुष्टि रहेछन्। मेरो काम २०४६ को परिवर्तनका उपलब्धि जोगाउनु हो भन्ने उहाँको धारणा थियो,' प्रधानले भने, 'मैले उहाँलाई पुनर्स्थापित संसदमा जाऊँ भनेको थिएँ तर उहाँ मान्नु भएन।'
सत्ता र सुविधाको लोभ पिएलमा नदेखेको प्रधानले बताए।
पिएल मेयर रहँदा नगर परिषद सदस्य थिए, चिनीकाजी महर्जन। उनी अहिले पनि काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष छन्।
'राजनीतिक तथा सामाजिक पृष्ठभूमि भएका सबै उमेर समूहका व्यक्तिहरूसँग मेयर हुँदा पिएल सिंह घुलमिल हुने र कुराकानी गर्ने गर्नुहुन्थ्यो,' महर्जनले भने, 'म मेयर हुँ, ठूलो पदमा पुगेँ भन्ने उहाँमा घमन्ड थिएन। भुइँ मानिसजस्तो हुनुहुन्थ्यो, दु:ख गरेर आएकाले पनि हो कि!'
नगरपालिकाले सामान्य सरसफाइ र प्रशासनिक जिम्मेवारी मात्र निर्वाह गर्दै आइरहेको अवस्थामा पिएलले नगरपालिकालाई महानगरमा रूपान्तरण गरेको उनले बताए।
'काठमाडौंलाई सपना बोकेर आउने देशभरिका मानिसको आकर्षण केन्द्र बनाउनुपर्छ भन्ने हिसाबले उहाँले अन्तर्राष्ट्रिय रूपमा सम्बन्ध गाँस्ने काम गर्नुभयो। दातृ निकायसँग सम्बन्ध बढाएर बजेटको आकार बढाउनुभयो,' पिएल मेयर हुँदाका काम सम्झिँदै महर्जनले भने, 'उहाँसँग त्यस बेलाको सरकार र जनता तथा फरक पार्टीसँग मिलेर काम गर्न सक्ने खुबी थियो।'
त्यस बेला काठमाडौंमा ऐतिहासिक, व्यापारिक क्षेत्र निर्धारण गर्ने काम भएको र खुला स्थान चाहिन्छ भनेर खुलामञ्च र सुन्धारा क्षेत्रका पसल हटाएर वैकल्पिक स्थान भृकुटीमण्डपमा सार्ने काम पनि भएको उनले बताए।
मेयर पिएललाई उपमेयर नवीन्द्रराज जोशीले पनि उत्तिकै साथ र सहयोग दिएका थिए। 'सम्पदालाई माया गर्ने र आधुनिकतामा पनि लगाव भएका मेयर हुनुहुन्थ्यो उहाँ,' महर्जनले भने, 'त्यस बेला उहाँको कार्यशैलीमा सायद प्रश्नसमेत उठेन।'
राजनीतिक र सामाजिक रूपमा संकुचित र सीमित त्यस बेलाको समाजमा प्रजातन्त्र आउनेबित्तिकै जिम्मेवारी लिएर पिएल सिंहले सुधारका काम गरेको पनि उनले बताए।
'राजनीतिक र सामाजिक रूपमा एकदमै संकुचित र सीमित समाजलाई उहाँले जुन ढंगले अन्तर्राष्ट्रिय रूपमा महानगरलाई चिनाउने गरी काम गर्नुभयो यसको श्रेय उहाँलाई नै जान्छ,' उनले भने, 'अंग्रेजी भाषामा उत्तिकै दखल राख्ने, क्षमतावान र सक्षम तथा गणेशमान सिंहजीको समिपमा रहेकाले अन्तर्राष्ट्रिय निकायमा उहाँले कुरा राख्न सक्नुभयो, महानगरलाई चिनाउनुभयो।'
विपक्षीका कुरा पनि मेयरले सुन्नुपर्छ र सम्बोधन गरेर जानुपर्छ भन्ने कुरा पिएलबाट सिक्नुपर्ने उनले बताए।
'चिया खाएर किन नहोस् उहाँले विपक्षीका कुरा सुन्नुहुन्थ्यो। समस्या समाधान गरेर अघि जाने उहाँको शैली थियो,' उनले भने, 'उहाँले काम र बोलीले नै सबैलाई खुसी पार्नुभयो।'
कांग्रेसबाट उम्मेदवार भएर २०४९ मा चुनाव जितेर मेयर बनेका पिएल सिंहले दोस्रो कार्यकाल मेयरका लागि उम्मेदवार हुन टिकट मागेनन्। कांग्रेस केन्द्रीय सदस्य रहेका उनी बिस्तारै पार्टी राजनीतिबाट पाखा पर्दै गएका थिए।