अमेरिकी राष्ट्रपति निर्वाचित हुनेबित्तिकै डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई आफ्नो शपथग्रहण समारोहमा निमन्त्रणा गरेको खुलेको छ।
चुनाव प्रचारका क्रममा आफू राष्ट्रपति भएपछि सबै चिनियाँ उत्पादनमा ६० प्रतिशत भन्सार लगाउने धम्की दिएका ट्रम्पले सीलाई २०२५ जनवरी २० मा हुने पदभार ग्रहण समारोहमा निमन्त्रणा दिएको भनेर सीबीएस न्युजले धेरै स्रोतहरूलाई उदृत गर्दै लेखेको छ।
अमेरिकाले राष्ट्रपतिको शपथग्रहण समारोहमा विदेशी राष्ट्र वा सरकार प्रमुखलाई निमन्त्रणा दिने गरेको छैन। सन् १८७४ देखि उपलब्ध अभिलेख अनुसार अमेरिकाले राष्ट्रपतिको सपथ ग्रहण समारोहमा विदेशी राष्ट्रप्रमुखलाई बोलाएको छैन भनेर हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोष्टले लेखेको छ। तर ट्रम्पले भने अहिलेको विश्वमा अमेरिकाको सबैभन्दा ठूलो प्रतिद्वन्दी चीनका राष्ट्रप्रमुखलाई निमन्त्रणा दिएका छन्।
सन् २०१४ मा पहिलोपटक भारतका प्रधानमन्त्री निर्वाचित हुँदा नरेन्द्र मोदीले पनि भारतको चीर प्रतिद्वन्दी पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज शरिफलाई आफ्नो सपथ ग्रहण समारोहमा निमन्त्रणा दिएका थिए। ‘नेबरहुड फर्स्ट’ नीति घोषणा गरेका मोदीको सो सपथ ग्रहण समारोहमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइराला पनि उपस्थित थिए।
आफ्नो पहिलो कार्यकालमा चीनसँग व्यापार युद्ध सुरू गरेका र त्यसलाई निरन्तरता दिँदै दोस्रो कार्यकालमा सबै चिनियाँ उत्पादनमा ६० प्रतिशत भन्सार लगाउने धम्की दिंदै आएका ट्रम्पले परम्परा तोड्दै सीलाई सपथ ग्रहण समारोहका लागि निमन्त्रणा दिएपछि प्राय सबै अचम्ममा परेका छन्।
तर उनको व्यापारिक जीवन र राष्ट्रपतिको रूपमा पहिलो कार्यकाललाई नियालेर हेर्ने हो भने खासमा उनले जे गरे पनि अचम्म मान्नु पर्दैन।
ट्रम्पले जीवनमा जहिले पनि सौदावाजीलाई सबैभन्दा धेरै महत्व दिएका छन् र उनले आफूलाई अब्बल सौदागर भएको दाबी गर्छन्। त्यसैले त उनले पहिलो कार्यकालमा उत्तर कोरियाका तानाशाही नेता किम जोङ उनसँग सौदाबाजी गर्नका लागि शिखर वार्ता गरे। यद्यपि ट्रम्प र किमले दुई चरणको शिखर वार्ता गरे पनि कुनै सम्झौता भएन।
कतिले इरानका सर्वोच्च नेता अयोतोल्लाह अलि खमेनीले उनीसँग शिखर वार्ता गर्न रूचि नदेखाएका कारणले उनीभन्दा अघिका राष्ट्रपति बाराक ओबामाको पहलमा इरानको आणविक कार्यक्रम रोक्न भएको सम्झौता तोडेको दाबी गर्छन्। दोस्रो कार्यकालमा पनि उनले सौदाबाजीका लागि अचम्म पार्ने खालका शिखर वार्ता गर्न सक्ने उनीहरूको जिकिर छ।
खासमा ट्रम्पले आफ्ना विरोधी र मित्र राष्ट्रलाई समेत दिने उट्पट्याङ जस्तो सुनिने धम्की उनीहरूलाई सौदाका लागि वार्तामा बस्न बाध्य बनाउन दिन्छन् भनेर लगभग सबै सहमत छन्। त्यसै अनुसार दोस्रो पटक राष्ट्रपति निर्वाचित हुनेबित्तिकै सीसँग कुरा गरेर सपथ ग्रहण समारोहमा निमन्त्रणा दिएका हुनसक्छन्।
तर सीले उनको निमन्त्रणा स्वीकार गर्ने सम्भावना भने धेरै कम मानिन्छ। चीनका राष्ट्रपतिको अमेरिका भ्रमणका लागि धेरै लामो तयारी हुन्छ। दुई देशका अधिकारीले महिनौं लगाएर धेरै चरणमा छलफल गरेपछि मात्रै भ्रमण हुन्छ। सुरक्षा लगायतको यस्तो तयारी गर्न धेरै समय बाँकी नरहेकाले जनवरी २० मा हुने ट्रम्पको सपथ ग्रहण समारोहमा सी उपस्थित हुने सम्भावना कम छ।
तर चीनमा आर्थिक समस्यासँग जुधिरहेका रहेका सीका लागि अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको कसरी अमेरिका सँगको व्यापार युद्धले पार्ने क्षतिलाई कम गर्ने हो। यस्तोमा फुर्के स्वाभावका ट्रम्पको निमन्त्रणा स्वीकार गरे उनी चीनप्रति अलिक कम कठोर होलान् कि भन्ने सोचेर सी सपथ ग्रहण समारोहमा हुनसक्ने कुरालाई नकार्न भने सकिन्न।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)