नेकपा (एमाले) ले प्रदेश र जिल्ला कमिटीसँग उपनिर्वाचन भएका ठाउँको रिपोर्ट मागेको छ।
मंगलबार पार्टी कार्यालयमा बसेको ४१ औं सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा गर्दै मातहतका कमिटीबाट रिपोर्ट माग्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए।
उनकाअनुसार प्रदेश र उपनिर्वाचन भएका जिल्लालाई प्रतिवेदन बुझाउने समयसीमा भने तोकिएको छैन। सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले निर्वाचनको समीक्षा पेस गरेका थिए।
उनले बैठकमा काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ र कीर्तिपुर नगरपालिकाको प्रमुखसहित दुई वटा वडामा एमालेले अपेक्षाअनुसार परिणाम ल्याउन नसकेको बताएका थिए। उनले काठमाडौंको चुनावी परिणामबाट पार्टी पंक्ति गम्भीर बन्नुपर्ने बताएका थिए।
बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले पनि सहरी क्षेत्रको जनमतबाट एमाले पाखा लाग्दै गएकाप्रति एमाले गम्भीर रहेको उल्लेख गरे। उनले यो निर्वाचनमा मतदाताले मत परिवर्तन गरेको पनि बताए। राजनीतिक दलहरूले यसअघिको जितेका ठाउँमा हार व्यहोरेको र पराजित भएको ठाउँमा जितेको भन्दै मत परिवर्तन भएको उनको तर्क थियो।
’समग्र रूपमा एमालेले उपलब्धि हासिल गरेको छ। हाम्रा जितेका ७ वटा पद रिक्त भएको थियो। यो उपनिर्वाचनमा एउटा अध्यक्ष, दुई उपाध्यक्ष र पाँचवटा वडाध्यक्ष जितेका छौं। तथापि हामीले परिणामलाई गम्भीरतापूर्वक लिएका छौं। खास गरी काठमाडौं, कीर्तिपुर, काठमाडौंको १६ नम्बर वडा, कीर्तिपुरका केही वडामा हामीले जे परिणामको अपेक्षा गरेका थियौं, सोचेजस्तो परिणाम आएन। यसमा हामी गम्भीर छौं,’ उनले भने।
उनले सहरी जनमतसँग पार्टीलाई जोड्दै लैजानुपर्ने देखिएको पनि बताएका थिए।
‘स्थानीय तहमा जनमत परिवर्तन भएको छ। के कारणले जनप्रतिनिधिले आफ्नो प्रभाव छाड्न सकेनन्, एउटाले जितेको ठाउँमा अर्काले जित्ने स्थिति भयो, मतको परिवर्तनका स्थिति देखियो। यसमा जनप्रतिनिधिहरूले जनताको मन जित्नेगरी काम गर्नुपर्छ,’ उनले भने।
चुनावलगत्तै महासचिव पोखरेलले चुनाव भएका जिल्लाका अध्यक्ष, इन्चार्जसहितको भर्चुअल बैठक राखेका थिए। त्यहाँ निर्वाचनबारे प्रारम्भिक समीक्षा भएको पार्टी केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए।
उनकाअनुसार भर्चुअल बैठकमा काठमाडौंका इन्चार्ज र अध्यक्ष भने सहभागी थिएनन्। काठमाडौं इन्चार्ज आनन्द पोखरेल र अध्यक्ष दीपक निरौला छन्।
भर्चुअल बैठकमा तयारी राम्रो भएको ठाउँमा चुनावी परिणाम पार्टीको पक्षमा आएको र तयारी नगरेको ठाउँमा एमालेले पराजय व्यहोरेको धारणा जिल्ला अध्यक्ष र इन्चार्जहरूले राखेका थिए।
मंगलबार नै बागमती प्रदेश कमिटीको बैठक बसेको थियो। बैठकमा काठमाडौंको स्थानीय तहको उपनिर्वाचनको समीक्षा भएको थियो।
बैठकमा कीर्तिपुर र काठमाडौं–१६ मा चुनाव जितिन्छ भनेर जिल्ला कमिटीले गलत रिपोर्टिङ गरेको भनेर आलोचना भएको एक सदस्यले बताए।
‘उहाँहरूले मतदाताको मनोविज्ञान, पार्टी संगठनको स्थिति, जनप्रतिनिधिहरूको भूमिका नबुझी चुनाव जितिन्छ भनेर रिपोर्टिङ गर्नुभयो, नेतृत्वले त्यसैको भर पर्दा पराजय व्यहोर्नुपर्यो,’ बैठकको निष्कर्ष सुनाउँदै ती सदस्यले भने, ‘यो चुनावले काठमाडौंमा संगठनात्मक अवस्था कमजोर रहेको बताएको छ।’
जिल्लाको रिपोर्टिङको आधारमा प्रतिवेदन तयार पारेर प्रदेशले केन्द्रलाई बुझाउने पनि जानकारी दिए।
मंसिर १६ गते भएको निर्वाचनमा एमालेले दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका र दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष जितेको थियो।
त्यस्तै सिरिजंघा गाउँपालिका–३, ओलखढुंगाको मोलुङ गाउँपालिका–५, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१, दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष जितेको थियो।
यसपटक एमालेले जितेका सात वटा वडामा उपचुनाव भएकामा दैलेखको दुल्लु–१३ बाहेक अन्यत्र कतै पनि जित जोगाउन सकेन।