अमेरिकाले युक्रेनलाई २० अर्ब डलर सहायता दिएको छ। उसले जफत गरेको रूसी सम्पत्तिबाट युक्रेनलाई २० अर्ब अमेरिकी डलर ऋण सहायता गरेको हो।
अमेरिकी अर्थमन्त्री जेनेट यलेनले मंगलबार नै २० अर्ब डलर विश्व बैंकको फण्डमा जम्मा गरेको र त्यहाँबाट युक्रेनले पाउने बताएका हुन्।
रूसले युक्रेनमा आक्रमण गरेपछि जी७ र युरोपियन युनियनका राष्ट्रहरूले रूसको केन्द्रीय बैंकले पश्चिमा देशहरूमा राखेको करिब ३२५ अर्ब डलर सम्पत्ति रोकेर राखेका छन्।
पश्चिमा राष्ट्रहरूको समूह जी७ को गत जुनमा इटालीमा भएको शिखर सम्मेलनमा रूसको त्यही पैसा प्रयोग गरी युक्रेनलाई ५० अर्ब डलर सहायता दिने सहमति भएको थियो। त्यसमध्ये अमेरिकाले २० अर्ब डलरको ऋण दिने प्रतिबद्धता व्यक्त गरेको थियो।
अमेरिकाले २०२४ को अन्तिमसम्ममा युक्रेनलाई सहायता रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको थियो। सोही अनुसार उसले मंगलबार २० अर्ब डलर पठाएको हो।
बाँकी ३० मध्ये युरोपियन युनियनले २० अर्ब डलरको बेलायत, जापान र क्यानडाले पनि मिलेर १० अर्ब डलरको ऋण दिनेछन्।
अमेरिकाले गैरसैन्य ऋण वर्ल्ड बैंक ट्रस्ट फन्ड मार्फत दिन्छ। यो ऋण रोकिएर राखिएको रूसी सम्पत्तिबाट हुने आम्दानीबाटै तिरिने छ। युक्रेनले तिर्नुपर्दैन।
युक्रेनले अहिलेसम्म ३०० सय अर्ब डलरभन्दा बढी सैन्य र आर्थिक सहायता पाइसकेको छ। अमेरिकाले धेरै सैन्य सहयोग गरेको छ भने युरोपेली देशले आर्थिक सहायता गरेका छन्।
राष्ट्रपति निर्वाचित भएका डोनाल्ड ट्रम्प भने युक्रेनलाई अमेरिकाले दिने सहायता घटाउने बताउँदै आइरहेका छन्। उनले आफू राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि रूस-युक्रेन युद्ध अन्त्य गर्ने बताउँदै आएका छन्। ट्रम्पले जनवरी २० मा जिम्मेवारी सम्हाल्दैछन्।