इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भ्रष्टाचार मुद्दामा बयान सुरू भएको छ।
इसराइली न्याय मन्त्रालयले सन् २०१९ मा उनी विरूद्ध भ्रष्टाचारको तीनवटा अभियोग लगाएको थियो। सो मुद्दाको सुनुवाइ तेल अभिभस्थित जिल्ला अदालतमा सन् २०२० मेमा सुरू भएको थियो। मुद्दाको क्रममा उनी अदालतमा पहिल्यै उपस्थित भए पनि उनीसँग मंगलबार पहिलो पटक बयान लिइएको हो।
उनीमाथि एउटा अभियोगमा मिडिया आफ्नो पक्षमा होस् भनेर एक इसराइली टेलिकम कम्पनीका मालिकलाई दसौं करोड डलर फाइदा हुने गरी नियामकीय सहुलियत दिएर भ्रष्टाचार गरेको आरोप छ।
अर्को अभियोगमा पनि आफ्नो समर्थनमा समाचार आओस् भनेर एक पत्रिकाका प्रकाशकसँग उनले सम्झौता गरेको आरोप छ। त्यस्तै तेस्रो अभियोगमा विभिन्न व्यापारीलाई फाइदा हुने काम गरेर उनीहरूबाट दुई लाख डलरभन्दा बढीको सिगार, स्याम्पेन, गहना लगायत सामान लिएको आरोप छ।
उनका वकिलले सुरूदेखि नै सो मुद्दा लम्ब्याउने प्रयास गरिरहेका छन्।
प्रधानमन्त्री नभए सो मुद्दामा दोषी ठहरिएर जेल जाने सम्भावना भएकाले उनले उग्र कट्टरपन्थीसँग गठबन्धन गरेर भए पनि उनी सत्तामा टिकिरहेका छन्।
त्यति मात्रै नभएर आफूलाई जोगाउन उनले न्याय प्रणालीलाई कमजोर पार्न सन् २०२३ को सुरूदेखि नै प्रयास गरेका थिए। सर्वोच्च अदालतलाई सरकारको पूर्ण नियन्त्रणमा ल्याउने र अदालतका फैसलामा पनि प्रभाव पार्ने गरी उनले कानुन ल्याएपछि इसराइलमा सन् २०२३ जनवरीदेखि व्यापक विरोध प्रदर्शन भएको थियो। सो प्रदर्शनका कारण उनले सो कानुन त्यति बेला फिर्ता लिएका थिए।
सन् २०२३ अक्टोबर ७ मा हमासले इसराइलमाथि हमला गरेपछि देश युद्धमा होमिएपछि अदालतले उनको बयान लिने प्रयास रोकिएको थियो। गाजामा युद्धविराम भए त्यत्रो ठूलो हमला हुन लागेको थाहा नपाएको बारेमा सेना र गुप्तचर संस्था सहित सरकार माथि पनि छानबिन हुन सक्ने सम्भावना छ। त्यसैले उनले युद्ध जबर्जस्ती लम्ब्याइरहेको आरोप लगाइन्छ।
त्यस्तै युद्ध रोकिए कट्टरपन्थीहरूले समर्थन फिर्ता लिने धम्की दिइरहेकाले नेतन्याहुलाई युद्धविराम भए प्रधानमन्त्री पद जाने मात्रै नभएर त्यसपछि भ्रष्टाचारको मुद्दामा जेल नै जाने पनि डर छ। त्यसैले सेनाले गजामा युद्धविराम गरेर थकाइ मार्नुपर्छ भने पनि र बन्धक फिर्ता ल्याउने व्यापक जनदबाब भए पनि उनले बेवास्ता गरेका हुन्।
अहिले भइरहेको बयान पनि उनले पछि सार्ने प्रयास गरेका थिए।
उनले कुनै सार्वजनिक भवनमा लामो समयसम्म बसेर बयान दिए इरान वा इरानले चलाएको हुथी वा हिजबुल्लाह समूहले हमला गर्ने खतरा देखाएर बयान सार्न उनका वकिलले पछिल्ला हप्तामा प्रयास गरेका थिए। त्यसपछि न्यायाधीशहरूले जेरूसेलमबाट सारेर तेल अभिभको सुरक्षित अदालतमा सुनुवाइ गराएका हुन्।
उनी निकटका सभामुखले पनि पछिल्ला दिनमा बयान सार्न खोजेका थिए। उनका मन्त्रीहरूले पनि राष्ट्रिय सुरक्षामा खतरा देखाउँदै बयान सार्न न्यायाधीशहरूलाई पत्र लेखेका थिए।
तर न्यायाधीशहरूले त्यसलाई अस्वीकार गर्दै नेतन्याहुको बयान सुरू गरेका हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)