गोरखाको अजिरकोट गाउँपालिकाले 'जनयुद्ध' झल्किने सामग्री समावेश गरेर किताब छापेको छ।
कक्षा ५ का विद्यार्थीलाई पढाउन गाउँपालिकाले छापेको 'अजिरकोट सेरोफेरो' किताबभित्र 'जनयुद्ध' को पहिलो तस्बिरसमेत समावेश गरिएपछि विरोध भइरहेको छ।
किताबको पाठ १६ मा सामाजिक चेतनाअन्तर्गत ऐतिहासिक परिवर्तनका परिदृश्यहरूमा चित्र हेरेर विद्यार्थीलाई छलफल गराउन भन्दै 'जनयुद्ध' को पहिलो तस्बिर छापिएको छ।
माओवादीले 'जनयुद्ध' सुरू गर्दा प्रयोग गरेको पहिलो पोस्टरलाई गाउँपालिकाले किताबमा समावेश गरेको हो।
उक्त पोस्टरमा, ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं, विद्रोह जनताको अधिकार हो, जनयुद्ध जिन्दावाद। नेकपा (माओवादी),’ लेखिएको छ।
साथै माओवादीको झन्डासहित जनमुक्ति सेनाले हतियार उचालेको र जनमुक्ति सेनाका तस्बिरहरू पनि किताबमा समावेश गरिएका छन्।
यी फोटोमाथि 'तपाईंले माथिका तस्बिरहरू देख्नु भएको थियो?, जनयुद्धबारे केही सुन्नु भएको छ?, नेपालमा जनयुद्ध कति वर्षसम्म सञ्चालन भएको थियो?, जनयुद्ध किन गरिएको थियो?, जनयुद्धका प्रथम सहिदको नाम के हो?' प्रश्नमा विद्यार्थीलाई छलफल गराउने गरी पाठ तयार पारिएको छ।
साथै किताबमा 'जनयुद्ध' र गणतान्त्रिक नेपाल उपशीर्षकमा 'जनता नै इतिहासका निर्माता हुन्- माओ' भन्ने भनाइसमेत राखिएको छ।
'जनयुद्ध' का प्रथम सहिदका रूपमा किताबमा गोरखाकै दिलबहादुर रम्तेलको नाम समावेश छ भने 'जनयुद्ध' अवधिभरमा १७ हजार नेपालीको मृत्यु भएको उल्लेख छ।
यो किताब अजिरकोट गाउँपालिले प्रकाशन गरेको हो भने गाउँपालिका अध्यक्ष दीपक देवकोटा संरक्षक छन्। निर्देशकमा सीताराम पन्त र प्राविधिक सहयोग रूम टु रिड हो।
किताब सम्पादन अनन्त वाग्ले, राजन सापकोटा र एलबी खड्काले गरेको अजिरकोट सेरोफेरोमै उल्लेख छ।
किताबका लेखक कालिकाप्रसाद अधिकारी, विष्णुप्रसाद अधिकारी, बुद्धिबहादुर विक, वीरबहादुर गुरूङ, हरिराम दवाडी, वीरेन्द्र कोइली, प्रदीप शेर्पा, दिल धामी र सन्तोष खनाल छन्। उनीहरू गाउँपालिका भित्रका विभिन्न विद्यालयका शिक्षक हुन्।
किताबको शुभकामना खण्डमा गाउँपालिका अध्यक्ष देवकोटाले लेखेका छन्, ‘आजको शिक्षा समाज, व्यवहारबाट अलगथलग हुँदै गएको सन्दर्भमा अजिरकोट गाउँपालिकाको स्थानीय पाठ्यपुस्तक अन्तर्गत अध्ययन अध्यापन हुने यस अजिरकोट सेरोफेरो पुस्तकको मूल उद्देश्य समृद्ध अजिरकोट हुने कुरामा साधन हुनेछ भन्ने विश्वास गर्दछु।’
बालबालिकाले पढ्ने किताबमा 'जनयुद्ध' झल्किने सामग्री समावेश गरेको भन्दै नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ गोरखाले विरोध जनाएको छ।
नेविसंघ सभापति शिवहरि तिमल्सिनाले आइतबार विज्ञप्ति निकालेर अजिरकोट सेरोफेरो किताबमा समावेश 'जनयुद्ध' सम्बन्धी सामग्री तत्काल हटाउन माग गरेका छन्।
‘हाम्रो संविधानले कुनै पनि स्थानीय सरकारलाई एउटा पार्टी विशेषको घोषणा पत्र पढाउने अनुमति दिएको छैन,’ नेविसंघ गोरखा सभापति तिमल्सिनाले भने, ‘यस्ता सामग्री बालबालिकाको कलिला मस्तिष्कमा प्रवेश गराएर ब्रेनवास गर्न खोजिएको घामजस्तै छर्लङ्ग छ।’
यस्तो छ विज्ञप्ति:

विद्यार्थीका हातबाट ४८ घन्टाभित्र अजिरकोट सेरोफेरो किताब फिर्ता लिन नेविसंघले गाउँपालिकालाई अल्टिमेटमसमेत दिएको छ। यो आग्रहलाई गाउँपालिकाले अस्वीकार गरेमा पठनपाठन ठप्प बनाउने गरी आन्दोलन गर्ने नेविसंघको चेतावनी छ।
साथै नेविसंघ गोरखाले कुनै एक राजनीतिक दलको एजेन्डालाई रूम टु रिडले किताबमा समावेश गराएको भन्दै उक्त पाठ्यपुस्तक विद्यार्थीबाट फिर्ता नभएसम्मका लागि भन्दै रूम टु रिडको कार्यालयमा तालाबन्दीसमेत गरेको छ।

अजिरकोट सेरोफेरो पुस्तक रूम टु रिडका सिनियर प्रोगाम अफिसरसमेत रहेका एलबी खड्का, कर्मचारीहरू अनन्त वाग्ले र राजन सापकोटाले सम्पादन गरेको पाइएको नेविसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

गाउँपालिकाले छापेको किताबमा 'जनयुद्ध' सम्बन्धी सामग्री समावेश भएपछि विरोध भएकोबारे हामीले गाउँपालिका अध्यक्ष दीपक देवकोटालाई पनि सोधेका छौं।
अध्यक्ष देवकोटाले स्थानीय सरकार सञ्चालन ऐनको कानुनी व्यवस्थाअनुसार गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित रहेर रूम टु रिडको प्राविधिक सहयोगमा अजिरकोट सेरोफेरो किताब प्रकाशन गरेको जानकारी दिए।
‘स्थानीय सरकार सञ्चालन ऐनअनुसार नै १ देखि ८ कक्षासम्मको पाठ्यक्रम र पाठ्यपुस्तक बनाउने अधिकार हामीलाई छ। कक्षा ५ को किताबमा गणतन्त्र अन्तर्गतको शीर्षकमा, कसरी गणतन्त्र आयो भन्ने सन्दर्भमा माओवादी र जनयुद्धको एउटा भागलाई पनि झल्काउन खोजियो, यही कुरालाई अलि बढी उल्झन खोजेजस्तो देखिन्छ,’ अध्यक्ष देवकोटाले सेतोपाटीसँग भने।
विज्ञहरूसँग परामर्श गरी किताब तयार पार्ने क्रममा केही फोटोहरूसमेत किताबमा पर्न गएको पनि उनले बताए। ‘केही तलमाथि पर्न गएको रहेछ भने किताब सम्पादन गर्न सकिन्छ,’ देवकोटाले भने।
यो किताब गत जेठमा स्थानीय विद्यालयमा कार्यरत शिक्षकहरूले लेखेका थिए। सम्पादन र छपाइ गर्न समय लाग्दा शैक्षिक सत्रको आधा हुँदा हालै विद्यार्थीको हातहातमा पुगेको छ।
तर अध्यक्ष देवकोटाले पाठ्यक्रम पहिले नै बनाएर पढाउँदै आइएकोमा किताब भने हालसालै छापिएर आएको बताए।
२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा अजिरकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्ष नेकपा (माओवादी केन्द्र) का उम्मेदवारहरू निर्वाचित भएका थिए।