नेपाली कांग्रेस कोशीको पहिलो प्रदेश सम्मेलनअघि नेताहरूले सार्वजनिक रूपमै भनेका थिए- कोशीबाट पार्टी एक ढिक्का रहेको सन्देश देशैभरी प्रवाह हुनेछ।
दुई साताअघि सम्मेलनबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा कोशी प्रदेश समितिका सभापति समेत रहेका पूर्व मुख्यमन्त्री उद्धव थापाले ‘यो सम्मेलनले पार्टीलाई थप एकताबद्ध पार्ने’ र ‘कोशीबाट एकताको सन्देश देशैभरी जाने’ आशा प्रकट गरेका थिए।
शनिबार विराटनगरमा सम्पन्न सम्मेलन थापा र अरू धेरै नेता–कार्यकर्ताले अपेक्षा गरे अनुसार भएन। उद्घाटन सत्रमा बोल्ने जिल्लादेखि केन्द्रसम्मका ४० जना वक्ताहरूमध्ये धेरैजसोले फरक समूहप्रति तिखो प्रहार गरे।
गृहनगरमै आयोजित सम्मेलनमा नेता शेखर कोइराला अनुपस्थित रहे। कोइराला समूहकै मानिने महामन्त्री गगन थापा स्वयंले कोइराला समूहको गतिविधिप्रति असन्तुष्टि प्रकट गरे।
पार्टी भित्रको गुटगत लडाइँ र तिक्तता कोशीको प्रदेश सम्मेलनमा झनै छताछुल्ल भएको छ। संस्थापन पक्ष र शेखर कोइराला पक्षबीचको गुटगत तिक्तता प्रदेश सम्मेलनको मञ्चमा प्रष्टसँग पोखियो।
दिनभरी नेताहरूको भाषण सुनिरहेका कांग्रेस कार्यकर्ताहरूले सहजै लख काटे, पार्टीभित्र यतिबेला गुटगत लडाइँ उत्कर्षमा छ।
सम्मेलनले पार्टीलाई थप एकताबद्ध पार्ने भनेता पनि केन्द्रीय नेताहरू मञ्चमा झनै भिडेको देखिँदा तपाईंको अपेक्षा पूरा भयो कि भएन भनेर प्रदेश सम्मेलन सकिएको भोलिपल्ट गरिएको प्रश्नमा सभापति थापा आशावादी सुनिएका थिएनन्।
‘एकता अभियानको प्रारम्भ त भयो नि कोशीबाट,’ थापाले भने, ‘नेताहरूका मनका कुराहरू एउटै प्लेटफर्ममा पोखियो। अब समस्या के रहेछ भन्ने पहिचान भयो। सम्मेलनमा कोही नआउँदैमा वा आउँदैमा, नेताहरूले मनका कुराहरू राख्दैमा एकता भएन भन्न मिल्दैन। कोशीबाट अभियान (एकताको) सुरू भएको छ।’
सधैंजसो शालिन र आशावादी नै सुनिने सभापति थापाले यसो भनेता पनि कोशी सम्मेलन सकिएको २४ घन्टा नबित्दै प्रदेशका नेताहरूले एकअर्काविरूद्ध घोचपेच सुरू गरिसकेका छन्। यसमा कोइराला पक्षका नेताहरू सबैभन्दा अगाडि देखिएका छन्।
सो समूहका नेता गुरूराज घिमिरेले प्रदेश सम्मेलन चल्दाचल्दै सामाजिक सञ्जाल फेसबुकमा असन्तोष पोखे।
‘देशको राजनीतिमा भुइँफुट्टातन्त्र र नेपाली कांग्रेसको राजनीतिमा कुलिनतन्त्र हावी भएको भनेर मैले उठाउँदै आएको मुद्दा कोशी प्रदेशको सम्मेलनमा उजागर भएको छ। यसले पार्टी परम्परा, मर्यादा र संस्कारको खिल्ली उडाएको छ। पार्टीको स्थापित मान्यताविरूद्ध कायम गरिएको बहुमतीय यान्त्रिक अधिनायकवादप्रति गहिरो खेद छ,’ उनले लेखेका थिए।
घिमिरे १४ औं महाधिवेशनका बेला प्रदेश सभापति पदमा उठेर थापासँग दुई मतको अन्तरले पराजित भएका नेता हुन्। शेखर कोइराला, सुजाता कोइरालालगायत कोइराला समूहकै शीर्ष नेताहरूले भोट नहाल्दा उनी कृष्णप्रसाद सिटौला पक्षका थापासँग पराजित भएका थिए।
कांग्रेस नेताहरूले प्रदेश सम्मेलनमा सहभागी ६४८ प्रतिनिधिहरूले बन्दसत्रमा खुला छलफल र बहस गर्ने बताएका थिए। तर, बिहान साढे १० बजे सुरू भएर अपरान्ह चार बजेसम्म उद्घाटन सत्र नै चल्यो। बन्दसत्र सुरू हुने बेलामा बहुसंख्यक प्रतिनिधि निस्किसकेका थिए। औपचारिकता पूरा गर्दै सांगठनिक, राजनीतिक र आर्थिक प्रतिवेदन पारित गर्दै बन्द सत्र सकियो। त्यसपछि कोइराला पक्षका नेताहरूले सामाजिक सञ्जालमा असन्तोष व्यक्त गर्न थाले।
यही श्रृंखलामा कोशीका पूर्व मुख्यमन्त्री केदार कार्की समेत जोडिए।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका कार्की सदाबहार आलोचक हुन्। दुवै महामन्त्रीलाई उनले बारम्बार ‘स्टन्टबाज’ भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। कोइराला पक्षले आयोजना गरेको पालिका सभापतिहरूको भेलामा पनि कार्की दुई महामन्त्रीविरूद्ध खनिएका थिए।
थापा १४ औं महाधिवेशनमा शेखर टिमबाटै महामन्त्रीमा विजेता बनेका हुन्। एकै समूहमा भए पनि कार्कीले थापाविरूद्ध निरन्तर लेख्दै र बोल्दै आएका थिए। पछिल्लो समयमा थापा १५ औं महाधिवेशनमा सभापतिमा उठ्ने तयारी गरिरहेका छन्।
उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माको खुला साथ रहेको शर्माले बताउँदै आएका छन्। शेखर आफैं पनि सभापति बन्ने दौडमा सामेल छन्। गगनले सभापति लड्ने बताएपछि कोइराला स्वयं त बोलेका छैनन्। तर, उनी पक्षका नेताहरू गगनविरूद्ध अभिव्यक्ति दिँदै हिँडेको भेटिन्छ।
शनिबारको प्रदेश भेलामा महामन्त्री थापाले शेखरकै विपक्षमा अभिव्यक्ति दिए। खासगरी समानान्तर भेला आयोजना गरेकोमा असन्तुष्टि भएका गगनले चुनावी हारजितको विषयलाई सभापति सँगसँगै बस्नै नचाहनु ठीक नभएको बताएका थिए।
त्यतिमात्रै होइन ६०–४० को भागबण्डा खोज्नेले आफ्नो जिम्माको कामै नगरेको भन्दै थापाले भाग खोज्नेले काम पनि गर्नुपर्ने बताएका थिए।
थापाको यस्तो अभिव्यक्तिपछि पूर्व मुख्यमन्त्री कार्की झनै बिच्किएका छन्। उनले उक्त कुरा व्यक्त गर्न फेसबुकमा स्ट्याटस लेखेका छन्।
‘संस्कार अग्रज र अनुभवीमै हुन्छ। शेखर दाई नभएको बेला कोइराला निवास गएर पार्टी सभापतिले बडप्पन देखाउनु भयो,’ कोइराला निवासको बार्दलीमा देउवा र शशांक कोइरालाले सँगै चिया पिउँदै गरेको तस्बिर राखेर उनले लेखेका छन्, ‘सधैं माकुरोको बच्चा प्रवृत्ति अंगाल्ने महामन्त्रीको चरित्र विराटनगरमा देखियो।’
कोशी सम्मेलनले पार्टी एकताबद्ध देखाउने भनेका नेताहरूले नै सम्मेलनले आपसी तिक्तता झनै बढाएको पदाधिकारीहरू बताउँछन्।
‘शीर्ष नेताहरू प्रदेशमा आएर कार्यकर्ताको मनोबल बढाएर जान्छन् होला भन्ने आशा थियो झनै निराश बनाएर गए,’ कोशी प्रदेश समितिका एक पदाधिकारीले गुनासो गर्दै भने, ‘यो राम्रो भएन। नेताहरू आपसमा जहाँ भेट्यो त्यहीँ भिड्ने कुरा ठीक होइन।’
सम्मेलनको मञ्चमा मात्रै होइन मंसिर पहिलो सातादेखि नै कोशी प्रदेशलाई केन्द्रमा राखेर गुटगत लडाइँ तीव्र बनेको थियो।
गएको साता कांग्रेस कोशी प्रदेश समितिका पदाधिकारीहरू दोहोरो तनावमा थिए। एकातिर मंसिर २२ का लागि निर्धारण गरिएको पहिलो प्रदेश सम्मेलन सफल पार्नुपर्ने दबाब खेपिरहेका उनीहरूका लागि कोइराला पक्षले मंसिर १८ र १९ मा आयोजना गरेको समानान्तर भेला अर्को टाउको दुखाइ बन्न पुगेको थियो।
कोइराला पक्षले आयोजना गरेको प्रदेशका पालिका सभापतिहरूको भेला रोक्न अन्तिमसम्मै प्रदेशका पदाधिकारीहरू केन्द्र गुहारिरहेका थिए। तर, केन्द्रले भेला रोक्ने निर्देशन दिएन। मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रदेशलाई पत्र लेखेर कोइराला पक्षको भेलालाई वैधानिकता दिन अस्वीकार गरेको थियो।
कोशी सम्मेलनमा सहभागी नभई शनिबार चितवन पुगेका नेता शेखर कोइरालाले त्यस्तो पत्रले आफ्नो चित्त दुखेको अभिव्यक्ति दिएका छन्। पालिका सभापतिहरूको भेला गर्दा केन्द्रले त्यस्तो पत्र लेख्न नहुने उनको भनाइ थियो।
शनिबारको भेलामा कोइराला पक्षका नेताहरू केन्द्रीय सदस्य सरिता प्रसाइँ, मोरङ सभापति डिगबहादुर लिम्बू, डा. सुनिल शर्मा लगायतले बोल्ने क्रममा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा संस्थापन पक्षले एकोहोरो पेलेको गुनासो गरे।
मोरङ सभापति लिम्बूले त सभापति शेरबहादुर देउवा सामु कारबाही गरेर देखाउन चुनौतीसमेत दिएका थिए। केन्द्रीय सदस्य प्रसाइँले सम्मेलनमा शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा र कोइराला पक्षका नेता बलबहादुर केसीलाई खोजेकी थिइन्। उनीहरूको नामै लिँदै प्रसाइँले सोधेकी थिइन्, ‘खै आफ्नै प्रदेशको सम्मेलनमा उहाँहरू? पार्टीले आउने वातावरण बनाउनुपर्दैन?’
सम्मेलन सकिएलगत्तै कोइराला पक्षका कोशीका माथिल्लो तहका नेताहरूदले दिइरहेको अभिव्यक्तिलाई संस्थापन पक्षका नेताहरूले भने व्यक्तिगत कुण्ठा भनेका छन्।
‘विधान, नियमअनुसार आयोजित पार्टीको प्रदेश सम्मेलन ऐतिहासिक रूपमा सफल भएको छ,’ सभापति देउवा निकट उदयपुरका पार्टी सभापति हिमाल कार्कीले सेतोपाटीसँग भने, ‘विधानअनुसार आयोजित सम्मेलनमा को नेता आयो, को आएन, कसले कता कसरी कुन्ठा प्रकट गर्यो भन्नेले केही अर्थ राख्दैन। सम्मेलन सफल र एकताबद्ध पार्टीको सन्देश दिन सफल रह्यो।’