मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत मंसिर ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कम्बोडियाको टेलिकममा लगानी गरेको जघन्य आरोप लगाए।
त्यसपछि प्रसाईंलाई प्रहरीले पक्राउ गर्यो। जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर प्रसाईंमाथि थप अनुसन्धान भइरहेको छ। प्रसाईंमाथि साइबर अपराध र आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कम्बोडियामा ओलीको लगानी भएको भनिएको विषय प्रसाईंले नै पहिलो पटक सार्वजनिक गरेका भने होइनन्।
चार वर्षअघि सन् २०२० जुलाई १२ तारिखमा ‘ग्लोबल वाच एनालाइसिस’ नामक संस्थाको वेबसाइटमा रोलेन्ड जकार्डले कम्बोडियाको टेलिकममा ओलीको लगानी भएको दाबी गर्दै समाचार राखेको थियो।
त्यसपछि ‘एएनआई’, टाइम्स अफ इन्डिया, द इकोनोमिक टाइम्स जस्ता भारतीय मिडियाहरूले यो वेबसाइटलाई उद्धृत गर्दै समाचार लेखेका थिए।
काठमाडौं पोसिली हाउसका अनुसन्धानकर्ता किरण चापागाईंले अन्तर्राष्ट्रिय रिपोर्ट र घटनाक्रमहरूको अध्ययनले ‘ग्लोबल वाच एनालाइसिस’ र रोलान्ड जाकार्ड सीमापार दुश्प्रचार गर्ने कार्यमा संलग्न रहेको निष्कर्षमा पुग्न सकिने बताए।
सेतोपाटीले चापागाईंसँग ग्लोबल वाच एनालाइसिस, रोलेन्ड जाकार्ड र सीमापार दुष्प्रचारमा केन्द्रित रहेर गरेको कुराकानी;
भिडिओ
दुर्गा प्रसाईं, रोलेन्ड जकार्ड र प्रधानमन्त्री ओलीको 'कम्बोडिया लगानी' प्रकरण
किरण चापागाईं
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत मंसिर ३ मा आफ्नो फेसबुकमा सार्वजनिक गरेको 'केपी ओलीको कम्बोडियामा लगानीको प्रमाण' भन्ने भिडिओमाथि प्रहरी अनुसन्धान जारी छ। प्रसाईं यतिखेर अनुसन्धानको क्रममा न्यायिक हिरासतमा छन्।
भिडिओ सार्वजनिक गर्नुअघि लामो समयदेखि प्रसाईंले प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले 'कम्बोडियाको दुरसञ्चार क्षेत्रमा लगानी गरेको' आरोप लगाउँदै आएका थिए। पछिल्लो समय प्रसाईंले 'आफ्नो सरकार बनेपछि कम्बोडियाको फाइल खोल्ने' सम्म भन्न थालेका थिए। लगानीको प्रमाण भन्दै उनले भिडिओ सार्वजनिक गरेपछि 'कम्बोडियामा लगानी' विषयको वास्तविकता के हो भनेर धेरैको चासो बढेको छ।
धेरैलाई प्रसाईंले खोजबिन गरेर यो विषय बाहिर ल्याएको भन्ने भ्रम छ। त्यस्तो होइन। यो विषय चार वर्षअघि नै बाहिर आएको थियो।
लेबननमा जन्मेका फ्रान्सेली नागरिक रोलेन्ड जकार्डले आजभन्दा चार वर्षअघि सन् २०२० मा एउटा अनलाइन 'ग्लोबल वाच एनालिसिस' मा एउटा विवादास्पद लेख लेखे। सोही लेखमा जकार्डले ओलीले कम्बोडियाको दुरसञ्चार क्षेत्रमा लगानी गरेको दाबी गरेका थिए। सो लेखलाई उद्धृत गर्दै कतिपय भारतीय सञ्चार माध्यमले ओलीबारे समाचार बनाए। नेपालमा पनि यो विषयलाई कतिपयले त्यही बेला उठाएका थिए।
यसरी ओलीले कम्बोडियामा अर्बौं रूपैयाँ लगानी गरेको भन्ने दाबीको केन्द्रमा पत्रकार जकार्ड र ग्लोबल वाच एनालिसिस छन्।
को हुन् त पत्रकार जकार्ड? के हो ग्लोबल वाच एनालिसिस?
यी पत्रकार र यो अनलाइनको विश्वसनीयता कस्तो छ? उनीहरूले कस्तो काम गर्दै आएका छन्? उनीहबारे के कस्ता अनुसन्धान भएका छन्?
मैले यी प्रश्नको उत्तर अहिलेसम्म सार्वजनिक रूपमा प्राप्त तथ्यका आधारमा खोजेको छु। यी उत्तरले ओलीमाथि कम्बोडियामा लगानी गरेको भन्ने आरोपको यथार्थ के हो भन्ने बुझ्न सहयोग पुग्छ। 'सीमापार दुश्प्रचार' सम्बन्धी मेरो अप्रकाशित अध्ययनको एक अंश हो यो लेख।
जकार्ड र ग्लोबल वाच एनालिसिसको कथा
ग्लोबल वाच एनालिसिसमा सन् २०२० जुलाइ २० मा 'द सलफरस चाइनिज कनेक्सन्स अफ प्राइममिनिस्टर केपी शर्मा ओली' शीर्षकको एउटा लेख छाप्यो। अनि त्यो लेखलाई फेसबुकको भित्तामा 'स्पोन्सर' गरेर नेपालमा व्यापक बनायो। यसरी 'कम्बोडिया लगानी र ओलीको चिनियाँ सम्बन्ध' बारेको दाबी पहिलो पटक सतहमा आयो।
सो लेखमा ओलीले प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो कार्यकालमा कम्बोडियाको दुरसञ्चार क्षेत्रमा लगानीको प्रक्रिया सुरू गरेको र दोस्रो कार्यकालमा पूरा गरेको भन्ने दाबी गरिएको थियो। त्यसका लागि चिनियाँ तत्कालीन तथा पूर्वकूटनीतिज्ञहरूले सहयोग गरेको भन्ने दाबी पनि गरिएको थियो। सो लेखमा यस्तो सनसनी दाबी पुष्टि गर्ने कुनै प्रमाण प्रस्तुत गरिएको थिएन।
को हुन् पत्रकार जकार्ड?
बिना प्रमाणको यस्तो सनसनीपूर्ण लेख लेख्ने जकार्ड को हुन्? धेरै विवादास्पद लेख र स्टोरीहरू प्रकाशित गर्ने जकार्डका बारेमा अमेरिकी र फान्सेली सञ्चार मध्यमहरूले धेरै अनुसन्धानात्मक स्टोरीहरू प्रकाशित गरेका छन्।
सन् २०२३ मार्च २७ मा अमेरिकाको प्रतिष्ठित म्यागजिन 'द न्यूयोर्कर' मा प्रकाशित स्टोरी अनुसार जकार्ड लेबनानी मूलका फ्रान्सेली पत्रकार हुन्। उनी युरोपमा बस्ने मुसलमानहरूको अतिवादी गतिविधिका बारेमा फ्रान्सेली सरकारलाई यदाकदा सल्लाह दिन्छन्। फ्रान्सको प्रतिष्ठित म्यागजिन 'नौभेलोब्स' का अनुसार कुनै समय फ्रान्सको खुफिया संस्थामा काम गरेका उनी त्यहाँको आन्तरिक मामिला मन्त्रालयमा 'द सबमरिन' भनेर चिनिन्छन्। उनले आफूलाई 'इन्टरनेसनल अब्जरभेटरी अफ टेरोरिजम' नामक संस्थाको नेतृत्वकर्ता भनेर चिनाउँछन्। फ्रान्सका कतिपय सञ्चार माध्यममा उनले स्वघोसित 'आतंकवादको विज्ञ' का रूपमा अन्तर्वार्ता दिएका छन्।
तर नौभेलोब्स म्यागजिनका अनुसार त्यस्तो संस्था अस्तित्वमै छैन।
सो म्यागजिनले लेखको छ — उनी मनगढन्ते स्रोतमा आधारित तथ्यहरूलाई अतिरञ्जनात्मक रूपमा आफ्नो अन्तर्वार्तामा प्रयोग गर्न माहिर छन्। उनले प्रयोग गर्ने तथ्यको स्रोत उनीबाहेक अरू कसैलाई थाहा हुँदैन।
जकार्डको परिचय यतिमा सीमित छैन। उनी स्विट्जरल्यान्डको जेनेभास्थित निजी खुफिया तथा 'इन्फ्लुएन्सर' संस्था 'एल्प सर्भिसेस' सँग पनि जोडिएका छन्। खोजमूलक समाचार छाप्ने फ्रान्सेली अनलाइन समाचार पत्रिका मिडियापार्टका अनुसार मारिरो ब्रेरोले सन् १९८९ मा सो संस्था स्थापित गरेका हुन्।
उक्त संस्थाले मोटो रकम लिएर पैसा दिने सरकार, संस्था र खुफिया संस्थाको राजनीतिक र आर्थिक स्वार्थ पूरा गर्न तथ्यहीन र दुश्प्रचारका सामग्री तयार गर्छ। र, त्यस्ता सामग्री विभिन्न सञ्चार माध्यमहरूबाट प्रचार प्रसारको चाँजो मिलाउँछ।
ब्रेरो आफै विवादित र अदालतबाट दण्डित व्यक्ति हुन्। उनले फ्रान्सको आणविक ऊर्जा समूह 'एरेवा' का अध्यक्ष एनी लौभर्जेनका श्रीमानको फोन कुराकानीको विवरण गैरकानुनी तरिकाले प्राप्त गरेका थिए। त्यसको कसुरमा त्यहाँको अदालतले उनलाई सन् २०११ मा दोषी ठहर गरेको थियो।
जकार्ड र ब्रेरो दुई जना मिलेर अरूको चरित्र हत्यामा काम गरेका उदाहरण छन्।
जकार्डले ब्रेरोसँग मिलेर मिथ्या सूचना र दुश्प्रचारको सहायताले एक जना अमेरिकी नागरिकको व्यवसाय ध्वस्त बनाएका थिए। उनीहरूको दुश्प्रचारको सिकार बनेर ३४ वर्षीय अमेरिकी अर्बपति तेल व्यापारी हाजिम नाडाको 'लोटस इनर्जी' कम्पनी सन् २०१७ मा टाट पल्टेको थियो।
क्याम्ब्रिज विश्व विद्यालयबाट भौतिक शास्त्रमा स्नातकोत्तर र बेलायतकै इम्पेरियल कलेज लन्डनबाट अप्लाइड म्याथमा विद्यावारिधि गरेका नाडाको तेल व्यवसायले तीव्र प्रगति गरिरहेको थियो। ब्रेरो र जकार्डले उनको कम्पनी लोटस इनर्जी विरूद्ध योजनाबद्ध दुश्प्रचारका सामग्री प्रकाशन गरे। ती सामग्री प्रकाशन भएपछि अमेरिकी र स्विस सरकारले नाडा विरूद्ध छानबन गरे। नाडाले अन्ततः अमेरिकी र स्विस सकारको छानबिनबाट सफाइ त पाए तर त्यति बेलासम्म ब्रेरो र जकार्डको दुश्प्रचारको सिकार बनेर उनको कम्पनी टाट पल्टिसकेका थियो। उनी सडकमा पुगिसकेका थिए। उनकी श्रीमतीले पनि यही कारणले नाडालाई छाडिसकेकी थिइन्।
जकार्ड र ब्रेरोको दुश्प्रचारमा परेर कसरी नाडा टाट पल्टे र लोटस इनर्जीले कसरी सरकारी छानबिनको सास्ती बेहोर्नुपर्यो भनेर पत्रकार डेभिड डी. क्रिकप्याट्रिकले अमेरिकी म्यागजिन 'द न्यूयोर्कर' मा दस हजारभन्दा बढी शब्दको अनुसन्धानमूलक स्टोरी लेखेका छन्। ब्रेरो र जकार्डले निजी आर्थिक लाभका लागि कुन हदसम्म दुश्प्रचार गर्न सक्छन् भन्ने क्रिकप्याट्रिकले उजागर गरेका छन्। क्रिकप्याट्रिक पुलिटजर पुरस्कारबाट सम्मानित पत्रकार हुन्।
ह्याकरहरूले ब्रेरोको निजी खुफिया संस्थाको इमेल ह्याक गरेर स्विट्जरल्यान्डका सरकारी वकिलहरूलाई दिएपछि सार्वजनिक तथ्यका आधारमा तयार पारिएको उक्त समाचार पढ्दा कुनै काल्पनिक कथा पढेजस्तो लाग्छ पाठकलाई।
ग्लोबल वाच एनालिसिस कस्तो संस्था हो?
अब ओलीको कम्बोडियामा लगानीबारे लेख प्रकाशन गर्ने अनलाइन 'ग्लोबल वाच एनालिसिस' कस्तो संस्था हो भनेर हेरौं।
यो अनलाइन सञ्चार माध्यमबारे पनि प्रसिद्ध फ्रेन्च म्यागजिन मिडियापार्टले सन् २०२३ जुलाइ ७ को अंकमा पर्दाफास गरेको छ।
मिडियापार्टका अनुसार जकार्डसँग निकट अल्जेरियन मूलका फ्रान्सेली पत्रकार आत्माने ताजाघार्टले सन् २०१९ जुलाइमा यो अनलाइन सुरू गरेका हुन्। त्यो अनलाइन प्रकाशनमा ल्याउनुअघि उनी सरकारको लगानी रहेको टेलिभिजन 'फ्रान्स-२४' का अरेबिक भाषा शाखाका प्रमुख सम्पादक थिए।
ताजाघार्टलाई पनि खुफिया संस्था एल्प सर्भिसेस र अन्य देशका खुफिया संस्थासँग निकट रहेर पैसा लिएर दुश्प्रचार फैलाउने सञ्जालमा संलग्न रहेको आरोप छ। मिडियापार्टमा प्रकाशित समाचार अनुसार ग्लोबल वाच अनलाइनका पछाडि बेलायतस्थित रहस्यमय संस्था 'कन्ट्रिज रिपोर्ट्स पब्लिसिङ लिमिटेड (सिआरपी)' छ। सिआरपीको न कोही कर्मचारी छन्, न कार्यालय नै छ।
ताजाघार्ट र उनकी श्रीमतीले पछि गएर ग्लोबल वाच एनालिसिस नामको कम्पनी फ्रान्समै दर्ता गरे। मिडियापार्टका अनुसार उक्त रहस्यमय बेलायती संस्थाले ग्लोबल वाचलाई प्रतिवर्ष ४६ हजार युरो दिँदै आएको छ। यो अनलाइनले मूलतः 'मुस्लिम ब्रदरहुड' संगठन र यसका समर्थक, कतार विरूद्ध समाचार र लेख लेख्ने गरेको छ।
जकार्ड र ताजाघार्ट जोडिएका स्विस निजी खुफिया संस्था एल्प सर्भिसेसले पनि मूलतः मुस्लिम ब्रदरहुड र कतार विरूद्ध दुश्प्रचार फैलाउँदै आएको अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्स, द न्यूयोर्कर र फ्रान्सेली अनलाइन मिडियापार्टले स्टोरीहरू लेखेका छन्। कतार विरूद्ध विश्व चर्चित दुश्प्रचार सामग्री 'कतार पेपर्स' का लेखकद्वय क्रिस्टियन चेस्टनट र जर्ज माल्ब्रुनोट पनि यो अनलाइनसँग जोडिएका छन्।
पछिल्लो समयमा ग्लोबल वाचले चीन, बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) र पाकिस्तान विरूद्ध पनि लेख्दै आएको छ।
'ओलीको कम्बोडियामा' लगानी सम्बन्धी लेख छापिएको एक महिनापछि जकार्डले 'नेपाल चीनको स्याटलाइट नयाँ राष्ट्र' भन्ने शीर्षकमा उक्त अनलाइनमा लेख लेखका थिए। सो लेख र 'साउथ एसिया मनिटर' नामक अनलाइनमा सन् २०२० जुन १२ मा प्रकाशित लेखमा समानता छ। यो अनलाइनमा भारतीय सुरक्षा निकायका अवकाशप्राप्त अधिकारीहरू नेतृत्वदायी भूमिकामा छन्। साउथ एसिया मनिटरमा प्रकाशित 'चाइनिज वुमन एन्भोइ इन्स्पायर्ड पिएम ओली टू रिड्र नेपाल म्याप' (चीनकी महिला राजदूतले प्रधानमन्त्री ओलीलाई नेपालको नयाँ नक्सा पुनर्लेखन गर्न प्रेरित गरिन्) शीर्षकको लेखको पुनः उत्पादित संस्करण जस्तै छ जकार्डको लेख।
संयोग नै मान्नुपर्छ, दुश्प्रचारका लागि खोलिएको भारतीय 'डिसइन्फो ल्याब' ले प्रकाशन गर्ने विषयवस्तु र ओलीको कम्बोडियामा लगानी दाबी गरेको लेख प्रकाशन गर्ने ग्लोबल वाचमा छापिने गरेका मुस्लिम ब्रदरहुड र पाकिस्तान सम्बन्धी सामग्रीमा समानता देखिन्छ। भारतीय डिसइन्फो ल्याबलाई द वासिङटन पोस्टले मोदीका आलोचकहरूको दुश्प्रचार गर्ने संस्था भनेर समाचारमै उल्लेख गरेको छ। यसले कतै डिसइन्फो ल्याब र ग्लोबल वाच सहकार्यमा त छैनन् भन्ने आशंका जन्माएको छ।
कम्बोडियामा ओलीको लगानीबारे लेख प्रकाशित भएको समय पनि महत्त्वपूर्ण छ। सो लेख प्रकाशन हुँदा ओली सरकारले अघि सारेको नेपालको नयाँ नक्साका कारण नेपाल-भारत सम्बन्ध चिसिएको थियो।
भारतीय सञ्चार माध्यम, केही 'थिंक-ट्यांक', बुद्धिजीवी र राजनीतिज्ञले ओलीले चीनको उक्साहट नेपालको नयाँ नक्सा जारी गरेको भन्ने भाष्य बनाइरहेका थिए। त्यही समयमा जकार्डलाई प्रयोग गरेर 'ओलीको कम्बोडियामा लगानी रहेको' लेख प्रकाशित भएको त होइन भन्ने प्रश्न उठ्नु स्वाभाविक छ।
दुर्गा प्रसाईंले यसपालि 'ओलीको कम्बोडिया लगानीको प्रमाण' प्राप्त गर्न आफूले एक करोड रूपैयाँभन्दा बढी खर्च गरेको बताएका छन्। जकार्ड, ग्लोबल वाच एनालिसिस र यसका प्रकाशकको पृष्ठभूमिका आधारमा कतै जकार्ड र एल्प सर्भिसेसले प्रसाईंसँग पैसा लिएर उक्त भिडिओ बनाइदिएका त होइन भन्ने आशंका गर्ने ठाउँ पनि जन्माएको छ।
प्रचारको 'मोडस ओपरन्डी'
कम्बोडिया लगानी प्रकरणसँग जोडिएको अर्को पाटो हो — यो विषयलाई व्यापक बनाउन र आधिकारिता दिन अपनाइएको तरिका अर्थात्, 'मोडस ओपरन्डी'।
पहिलो, जकार्डको लेख व्यापक बनाउन फेसबुकमा 'स्पोन्सर्ड' गरियो। त्यसपछि सो लेखमा गरिएको दाबीको प्रचारप्रसार गर्न र त्यसलाई स्थापित गर्न कतिपय भारतीय सञ्चार माध्यमको प्रयोग गरियो।
फेसबुकमा स्पोन्सर गरिएको सो लेख पोस्ट गर्नेको ठेगाना थियो — सिक्स्थ एभेन्यु फ्र्यांकलिन रूजभेल्ट, पेरिस, फ्रान्स।
सो लेख प्रकाशन हुनासाथ परराष्ट्र मन्त्रालयले पेरिसस्थित नेपाली राजदूतावासलाई ग्लोबल वाच एनालिसिसबारे बुझ्न लगाएको थियो। कूटनीतिक माध्यमबाट दूतावासले बुझ्दा स्पोन्सर पेजमा उल्लिखित ठेगानामा ग्लोबल वाच एनालिसिस नामक संस्था नरहेको उत्तिखेरै पत्ता लागेको थियो।
ग्लोबल वाचमा लेख प्रकाशन भएको भोलिपल्ट अर्थात्, जुलाइ १३ मा भारतीय समाचार एजेन्सी एसियन न्युज इन्टरनेसनल (एएनआई) ले जकार्डको लेखको हवाला दिँदै समाचार बनाएर भारतीय सञ्चार माध्यमहरूलाई वितरण गर्यो। एएनआईद्वारा वितरित उक्त समाचार प्रतिष्ठित भारतीय सञ्चार माध्यमहरू 'टाइम्स अफ इन्डिया', 'द इकोनोमिक टाइम्स' लगायतले प्राथमिकता साथ प्रकाशन गरे। भारतकै अंग्रेजी टिभी 'विओन' ले ग्लोबल वाचलाई उद्धृत गर्दै 'ओलीको कम्बोडियामा लगानी र चिनियाँ कनेक्सन' दाबी गर्दै सनसनीपूर्ण समाचार प्रसारण गर्यो।
यसरी ग्लोबल वाचमा प्रकाशित कम्बोडियाको लगानीको दाबीलाई 'सत्य' का रूपमा स्थापित गर्न भारतीय मूलधारका सञ्चार माध्यमहरू प्रयोग गरियो।
भारतमा देशभित्र र बाहिर आफ्ना विरोधीहरूलाई तह लगाउन दुश्प्रचारको प्रयोग हुने गरेको तथ्य युरोपियन संस्था 'इयू डिसइन्फो ल्याब' ले जनाएको छ। डिसइन्फो ल्याब युरोपमा दुश्प्रचारबारे अध्ययन तथा अनुसन्धान गर्ने र नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने स्वतन्त्र संस्था हो। यसले गरेका दुइटा अनुसन्धान रिपोर्टका अनुसार भारतीय स्वार्थ प्रवर्द्धन गर्न र युरोपियन देशका नीति निर्मातालाई प्रभावमा पार्न व्यापक र जटिल दुश्प्रचारका जालो निर्माण गरिएको छ।
यो जालोमा गैरसरकारी संस्थाहरू, थिंक ट्यांक, केही भारतीय सञ्चार माध्यमहरू छन्। यो मोडस ओपरन्डी अनुसार यो जालोमा रहेका एनजिओ, थिंक ट्यांकले कुनै दुश्प्रचारका लागि रिपोर्ट तयार पार्छन्। त्यो नेटवर्कमा भएका कुनै अनलाइनले त्यो रिपोर्टको आधारमा समाचार बनाउँछन्। त्यस्ता प्रकाशित समाचारलाई भारतीय समाचार एजेन्सी एएनआईले 'समाचार' बनाउँछ। यो सञ्जालमा भारतीय पत्रिका द इकोनोमिक टाइम्स पनि संलग्न छ। एएनआईद्वारा वितरित 'दुश्प्रचार-समाचार' लाई स्थापित भारतीय सञ्चार माध्यमले प्रकाशन गरेर दुश्प्रचारका सामग्रीलाई आधिकारिता दिन्छन्।
यो जालोमा रहेर भारतीय सञ्चार माध्यमले कसरी काम गर्छन् भन्ने कुरा तलको इन्फोग्राफमा दिइएको छ।
एएनआई त्यही समाचार एजेन्सी हो जसले ग्लोबल वाच एनालिसिसमा प्रकाशित कम्बोडियामा ओलीको लगानी रहको जकार्डको लेखका आधारमा समाचार बनाएर अन्य भारतीय सञ्चार माध्यमलाई वितरण गरेको थियो। ग्लोबल वाचमा प्रकाशित लेखमध्ये पाकिस्तान, मुस्लिम समुदाय र चीन विरोधी लेखहरूको आधारमा समाचार बनाएर एआएनले वितरण गरेको देखिन्छ।
माथि उल्लिखित तथ्यहरू जोडेर विश्लेषण गर्ने हो भने 'केपी ओलीको कम्बोडियाको दूरसञ्चार क्षेत्रमा लगानी' भन्ने कुरा अन्तर्राष्ट्रिय गिरोहको समूहले फैलाएको दुश्प्रचार हो भन्ने निष्कर्षमा पुग्न सकिन्छ।
कतै यो समूहले प्रसाईंलाई प्रयोग गरेर चार वर्ष पुरानो सीमापार दुश्प्रचारको स्थानीयकरण गरेर राजनीतिक हतियारका रूपमा प्रयोग गरिरहेको त छैन?
(लेखक किरण चापागाईं भूराजनीति र सीमापार दुश्प्रचार सम्बन्धी अनुसन्धान गर्छन्। काठमाडौं पोलिसी हाउससँग आवद्ध उनको यो सीमापार दुश्प्रचार सम्बन्धी अप्रकाशित अनुसन्धानको अंगका रूपमा छ।)
एक्स (ट्विटर)- @KiranKChapagain