राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनबाट रातारात पोखरा ल्याउँदा उच्च रक्तचाप भएको पाइएको छ।
पोखरा ल्याएर स्वास्थ्य परीक्षण गर्दा उनको ब्लड प्रेसर १८०/९० पुगेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ। आयोगको टोलीले शुक्रबार लामिछानेलाई कास्की प्रहरी हिरासतभित्र भेटेर सोधपुछ गरेका थिए। आयोगको टोलीले सोधपुछ गर्दा प्रहरी अधिकृतहरू पनि सँगसँगै थिए।
कास्की प्रहरीका अनुसार लामिछानेलाई चितवनबाट बिहीबार बिहान साढे ३ बजेतिर पोखरा ल्याइएको थियो। पोखरा आइपुगेपछि उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको थियो।
‘मेरो ब्लड प्रेसर १८०/९० रहेछ। यस्तो बेला जे पनि हुन सक्थ्यो,’ लामिछानेले मानव अधिकार आयोगको टोलीसँग भनेका थिए, ‘चितवनमा स्वास्थ्य परीक्षण गरौं भन्दा पनि प्रहरीले मानेन।’
चितवनको सहारा सहकारी अपचलन मुद्दामा बुधबार बिहानदेखि राति ९ बजेसम्म जिल्ला सरकारी वकिलको कार्यालयमा बयान दिएका लामिछानेले आफ्नो टाउको दुखेकाले औषधी सेवन गरेको प्रहरीलाई जानकारी गराएको आयोगको टोलीलाई बताएका थिए।
प्रहरीले हिरासतभित्र दुर्व्यवहार गरेको भन्दै लामिछानेकी श्रीमती निकिता पौडेलले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएपछि आयोगको टोली शुक्रबार उनलाई भेट्न जिल्ला प्रहरी कार्यालय कास्की पुगेको थियो।
चितवन प्रहरीले आफूलाई स्वास्थ्य परीक्षण गर्न माग गर्दा पनि नमानेर दुर्व्यवहार गरेर पोखरा ल्याएको लामिछानेले आयोगको टोलीलाई बयान दिएका छन्। मादक पदार्थ सेवन गरेका प्रहरीले मध्यरात दुर्व्यवहार गरेको लामिछानेको आरोप छ।
लामिछानेलाई भेट्न पुगेका मानव अधिकार अधिकृत टंक खनालले चितवनमा आफूमाथि दुर्व्यवहार भएको भनेर लामिछानेले जानकारी गराएको बताए।
‘चितवनबाट मध्यरातमा उठाएर मलाई पोखरा ल्याइयो। औषधी खाएको छु। स्वास्थ्य जाँच गरौं भन्दा पनि चितवनमा प्रहरीले मानेन,’ लामिछानेको भनाई उद्धृत गर्दै खनालले भने, ‘मदिरा सेवन गरेको प्रहरीले मध्यरात उठाएर यसलाई गाडीमा हाल् भनेर ल्याइयो।’
चितवनमा सहारा सहकारी अपचलन मुद्दाको बयान सकिएपछि लामिछानेलाई बिहीबार बिहान हवाई मार्गबाट पोखरा ल्याउने जानकारी गराइएको थियो। साँझपख खाना खाएर सुतेपछि अचानक उठाएर ल्याएको र यस विषयमा परिवारलाई पनि जानकारी नदिएको लामिछानेले आरोप लगाएका छन्।
लामिछानेका कुरा सुनेर फर्किएका मानव अधिकार अधिकृत खनालले यस विषयमा आइतबार आयोगको केन्द्रीय कार्यालयलाई प्रतिवेदन पठाउने बताए।
‘रवि लामिछानेले बिहान साढे ३ बजेतिर पोखरा आएर स्वास्थ्य परीक्षण गर्दा मेरो ब्लड प्रेसर १८०/९० छ भन्नुभयो। त्यतिबेला कास्की प्रहरीका अधिकृतहरू पनि अगाडि नै हुनुहुन्थ्यो। सबैले सुन्नुभएको छ। यदि त्यस्तो हो भने यो हाइ रिक्स भयो,’ उनले सेतोपाटीलाई भने।
कानुन अनुसार प्रहरीले हिरासतमा रहेका व्यक्तिलाई एक ठाउँबाट अर्को ठाउँमा सार्दा सम्बन्धित व्यक्ति र उनका परिवारलाई जानकारी गराउनुपर्ने खनालले बताए। हिरासतमा रहेका व्यक्तिको स्वास्थ्य राज्यकै जिम्मा हुने भएकाले स्वास्थ्य परीक्षण गर्न समेत इन्कार गर्नु गलत हुने उनको भनाइ छ।
‘हिरासतमा रहेका व्यक्तिको सम्पूर्ण जिम्मा राज्यको हुन्छ। उसलाई पनि सूचनाको हक हुन्छ,’ उनले भने, ‘हिरासतमा रहेका व्यक्तिले आफ्नो अनुसन्धान कहाँ पुग्यो? कहाँ लैजाँदैछ भनेर जान्न पाउँछ। स्वास्थ्य त झनै संवेदनशील कुरा भयो।’
लामिछानेको स्वास्थ्य आफूहरूले भेट्दा सामान्य रहेको खनालले बताए। चितवन प्रहरीले ‘माथिको आदेश’ भन्दै उक्त व्यवहार देखाएको पनि लामिछानेले बताएका थिए।
चितवन प्रहरी प्रमुख एसपी गौतम मिश्रले भने लामिछानेमाथि कुनै दुर्व्यवहार नगरेको दाबी गरे। चितवनमा बयान सकिएपछि नियमअनुसार नै पोखरा पठाएको उनले बताए।
‘राति राति भन्दा पनि चितवनमा काम सकिएर पोखरा लगेको हो,’ उनले भने, ‘सबै प्रक्रिया पुर्याएर नै हामीले पठाएका हौं।’
लामिछानेको स्वास्थ्य परीक्षण गरेको र परिवारलाई पनि थाहा भएको उनले भनाइ छ।
‘हामीले नियम अनुसार गर्नुपर्ने स्वास्थ्य जाँच सबै भएको छ। मिसिल संलग्न छ। परिवारलाई पनि थाहा छ। पोखरा पुगेर पनि भेटिसक्नुभयो,’ उनले भने।
चितवन प्रहरीमा कसैले पनि मादक पदार्थ सेवन नगर्ने पनि एसपी मिश्रको दाबी छ।
'हामी पुलिस रक्सी खाँदैनौं। मेरो ब्लडमा रक्सी छैन। कोही पनि रक्सी खाने मान्छे छैन जिल्ला प्रहरी कार्यालयमा,’ उनले भने।
राष्ट्रिय मानव अधिकार आयोगका टोलीले लामिछानेसँग डायरी ‘गायब’ पारिएको विषयमा पनि सोधपुछ गरेको थियो। जबाफमा लामिछानेले आफूले डायरी नलेखेको र केही कागजका टुक्राहरूमा टिपोट गरेको जबाफ दिएको मानव अधिकार अधिकृत टंक खनालले बताए।
‘डायरीका प्रसंगमा उहाँ (लामिछाने) ले डायरी छैन। कागजका टुक्राहरू थिए टिपोट लेखेको। त्यो अहिले खोज्दा छैन भन्नुभयो,’ लामिछानेको भनाई उद्धृत गर्दै खनालले बताए।
रास्वपाले शुक्रबार विज्ञप्ति जारी गरेर सरकारकै निर्देशनमा सभापति लामिछानेलाई रातारात चितवनबाट कास्की पुर्याइएको र उनको निजी डायरी पनि हिरासतबाटै गायब गरेको आरोप लगाएको थियो।
'…प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय,अपमानजक तथा गैरन्यायिक चाल हो। यसैबीच सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको छ। हामी यसको घोर भर्त्सना गर्दछौं,' रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कास्की प्रहरीका डिएसपी वसन्त शर्माले पनि लामिछानेले डायरी नै नल्याएको बताए। कास्की प्रहरीले लामिछानेको डायरी गायब पारेको भन्ने सुनेपछि आफू पनि बुझ्न गएको शर्माले बताए।
‘प्रहरीले डायरी गायब बनायो भन्ने कुरा मैले पनि सुनेँ। अनि उहाँसँग बुझ्न गएको थिएँ। तपाईंले डायरी लेख्नुभएको छ? कस्तो रङको डायरी छ भनेर सोधेको थिएँ, उहाँले डायरी छैन। टिपोट गरिएका कागजका टुक्राहरू थिए। अहिले केही टुक्राहरू पाइनँ भनेर जबाफ दिनुभयो,’ डिएसपी शर्माले भने।
पोखरामा प्रहरीले लामिछानेलाई अन्य थुनुवालाई भन्दा बढी सुविधा दिएर राखेको छ। लामिछाने थुनुवा राख्ने भवनको माथिल्लो तलामा एउटा कोठामा एक्लै बस्न पाएका छन्। अरू थुनुवाहरू भुइँतलाको अर्को कोठामा छन्।
पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई बिहान पत्रिका लगिदिने, बेलाबखत इच्छाअनुसार चिया र कफी लगिदिने, फोन गर्न दिने, घाम ताप्न दिने, भेट्न आउने व्यक्तिहरूलाई भेट्न दिने लगायत सुविधा कास्की प्रहरीले दिएको छ।
लामिछानेमाथि राज्यले गरेको भनिएको ज्यादतीका विषयमा राष्ट्रिय मानव अधिकार आयोगले अध्ययन गरिरहेको प्रवक्ता टीकाराम पोखरेलले बताए।
आयोगको गण्डकी प्रदेश कार्यालय र बागमती प्रदेश कार्यालयले अध्ययन गरेर प्रतिवेदन पेस गरेपछि आयोगले आफ्नो धारणा सार्वजनिक गर्ने उनले बताए।
‘प्रहरी हिरासतमा रवि लामिछानेलाई राज्यले ज्यादती गरेको विषय हामीलाई उजुरी प्राप्त भएको छ। हामीले यसको अध्ययन अनुसन्धान गरिराखेका छौं,’ उनले भने, ‘आइतबार गण्डकी र बागमती कार्यालयबाट प्रतिवेदन आएपछि आयोगले आफ्नो धारणा सार्वजनिक गर्छ।'