नेपाली कांग्रेस कोशी प्रदेशको पहिलो सम्मेलन शनिबार विराटनगरमा आयोजना हुँदैछ।
पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा आफ्नै गृहनगरमा हुने पार्टीको प्रदेश सम्मेलनमा नेता शेखर कोइराला भने अनुपस्थित हुने भएका छन्।
नेता कोइरालाको सचिवालयले दिएको जानकारी अनुसार उनी आज चितवन जाँदैछन्। ‘केन्द्रीय सदस्य दिनेश कोइरालाको पिताजी बित्नुभएकाले त्यहाँ शोकसभामा सामेल हुन उहाँ चितवन जाँदै हुनुहुन्छ, अहिले हामी काठमाडौं विमानस्थलमा छौं,’ कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने ‘उहाँ हिजोमात्रै विराटनगरबाट काठमाडौं आउनुभएको हो। प्रदेश सम्मेलनमा जानुहुन्न।’
आफ्नै गृहनगरमा हुन लागेको प्रदेश सम्मेलनमा कोइरालाले अनुपस्थित रहने मुख्य कारण उनले आफूलाई वरिष्ठ नेता बनाउनुपर्ने माग गरेक छन्। उनी निकट नेताहरुका अनुसार कोइरालाले प्रदेश भेलामा आफूलाई शेरबहादुर देउवापछिको आसन र समय दिनुपर्ने माग गरेका थिए।
‘सभापति पदको निकटतम प्रतिस्पर्धीलाई वरिष्ठ नेताको सम्मान दिएर सभापतिपछिको आसनमा राख्नुपर्छ भन्ने हाम्रो माग हो,’ कोइराला निकट स्रोतले भन्यो ‘प्रदेश सम्मेलनअघि त्यस्तो निर्णय हुनुपर्थ्यो। भएन, उहाँ जानुहुन्न।’
शेखर कोइराला निकट कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रदेश सम्मेलनबारे कोइरालासँग छलफल र सरसल्लाह नगरेको, निमन्त्रणसमेत ढिलागरी दिएको र चितवनमा कार्यक्रम रहेकाले कोइराला नआउने जानकारी दिए।
‘पार्टी सभापति आउँदै हुनुहुन्छ, उहाँको सम्मानका लागि हामी चाहीँ जान्छौं’, कार्कीले भने ‘तर, शेखर दाइ जानुहुन्न।
पार्टीको १४ औं महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका कोइरालाको अहिले कांग्रेसको आन्तरिक मर्यादाक्रममा २६ औं स्थानमा छन्।
यही असन्तोष खुला रुपमा प्रकट गर्न कोइराला पक्षले प्रदेश सम्मेलनको सम्मुखमै मंसिर १८ मा कोशीका पालिकास्थित कांग्रेस सभापतिहरुको भेला आयोजना गरेको थियो। १३७ पालिकामध्ये ११३ जना सभापति उपस्थित रहेको दाबी गरेको कोइराला पक्षको भेला रोक्न केन्द्रले मौखिक निर्देशन दिएको थियो।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रदेशलाई पत्र पठाएर पालिका सभापतिहरुलाई त्यो भेला आधिकारिक नभएको जानकारी दिन भनेको थियो। तैपनि कोइराला पक्षले भेला गरेरै छाडेको थियो।
शेखर कोइरालाले पार्टीको १५ औं महाधिवेशनमा सभापति उठ्ने भन्दै गतिविधि तीव्र पारिरहेका छन्। यहीबेला विराटनगरमै हुने प्रदेश सम्मेलन उनले बहिष्कार गर्ने भएका हुन्।
कोइराला पक्षले सभापतिका निकटम प्रतिस्पर्धीलाई वरिष्ठ नेता बनाउनुपर्ने माग गरिरहेको छ। यद्यपि देउवाले यो मागप्रति चासो देखाएका छैनन्।
कोशी प्रदेशका सभापति उद्धव थापाका अनुसार आज हुने प्रदेश सम्मेलनमा पार्टीका केन्द्रीय पदाधिकारी, पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू, प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरू, महासमिति सदस्य, महाविधेशन प्रतिनिधि, पालिका सभापति, प्रतिनिधिसभा तथा प्रदेश अधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन्।
बन्दसत्रमा ६४८ जना प्रतिनिधिहरू सहभागी हुने र सोही सत्रले कांग्रेस कोशीको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै पारित गर्नेछ।