धरानका मेयर हर्क साम्पाङले केही समयअघि बेलायत भ्रमणमा जाँदा उपमेयरको सट्टा आफ्नै नाता पर्ने वडाध्यक्षलाई कार्यवाहक दिएका थिए।
उपमेयरलाई 'बाइपास' गरेर वडाध्यक्षलाई कार्यवाहक दिनु कानुनसम्मत भएन नि भन्दै पत्रकारहरूले प्रश्न गर्दा उनको जबाफ थियो, 'त्यस्ता नाथे कानुन हामी नै बनाउँछौं। मलाई शुभयात्रा पनि नभन्ने उपमेयरलाई मैले कार्यवाहक दिनुपर्ने?'
उनले यसो भनेको भिडिओ क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल छ। हामीले धरानका उपमेयर अइन्द्रविक्रम बेघासँग शुक्रबार कुराकानी गर्दै सोध्यौं, 'धरानकै लागि स्रोत जुटाउँछु भन्दै बेलायत जान लागेका मेयरलाई शुभयात्रा किन भन्नुभएन?'
जबाफमा उनले भने, 'शुभयात्रा भन्न त उहाँ विदेश (युके) जानुभएको कुरा मलाई थाहा हुनुपर्यो होला नि! उहाँ युके जाने हल्ला चलिरहेको थियो। गएपछि उहाँले अरूलाई कार्यवाहक तोक्नुभएछ। त्यसपछि बल्ल मलाई थाहा भयो। अनि कसरी भन्नु शुभयात्रा!'
'मेयर विदेश जाने, उपमेयरलाई थाहासम्म नहुने अवस्था पनि हुन्छ र?' हामीले सोध्यौं।
'भयो त,' उपमेयर बेघाले भने, 'उहाँ युके जाने भनेर हिँडेपछि मात्र मलाई थाहा भयो। अहिले होइन, उहाँ यसरी बाहिर जाँदा कहिले पनि भन्नुहुन्न। थाहै हुँदैन। उहाँ अहिलेसम्म ८-९ पटक धरानबाहिर जानुभयो होला। मलाई कहिल्यै थाहा हुँदैन। एकैचोटि गइसकेपछि मात्र थाहा हुन्छ। थाहै नपाई कसरी शुभयात्रा भन्नु!'
उनले अगाडि भने, 'उहाँ जाने कुरा थाहा भएको भए शुभयात्रा भनिहाल्थेँ नि। राम्रो काममा जानुभएको थियो। धरानमा सुम्निमा पारूहाङको प्रतिमा निर्माण गर्ने एउटा सांस्कृतिक अभियानमा जाँदा मैले शुभयात्रा नभन्ने कुरै आउँदैन, प्रश्नै हुँदैन। मलाई त थाहा पनि कसरी भयो भने उहाँले कार्यवाहक मेयर ऐन-कानुनविपरीत अर्को मान्छेलाई तोकेर जानुभएछ। अनि मात्रै थाहा भयो।'
कानुनविपरीत अरूलाई कार्यवाहक दिएपछि तपाईं अदालत जानुभयो होइन?
'अनि जानु परेन त!' उपमेयर बेघाले भने, 'अदालतले उहाँको पत्र खारेज गरिदियो।'
२०७९ को स्थानीय तह निर्वाचनमा हर्क साम्पाङ स्वतन्त्र उम्मेदवार बनेर मेयरमा निर्वाचित हुँदा माओवादी केन्द्रका बेघा उपमेयरमा निर्वाचित भएका थिए। उनलाई कांग्रेस लगायतका दलले सहयोग गरेका थिए। उपमेयरमा निर्वाचित भएको डेढ वर्षसम्म मेयर साम्पाङको सहयोगी भनेर प्रचारित उपमेयर बेघासँग अहिले मेयर साम्पाङ असन्तुष्ट र आक्रोसित सुनिन्छन्।
मिडियामा धेरै नबोल्ने उनीसँग सेतोपाटीले मेयरसँग उनको सम्बन्ध, जनप्रतिनिधिहरूबीचको बेमेल र त्यसले धरानमा पारेको प्रभावबारे कुरा गरेको छ। प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश —
केही समयअघिसम्म त मेयर र उपमेयरको सम्बन्ध एकदमै राम्रो देखिन्थ्यो। के भयो एक्कासि?
अहिले पनि हाम्रो बोलचाल छ। आज पनि सँगै एउटै कार्यक्रममा थियौं। अफिसमा बोल्छौं। म चाहिँ आफै बोलाउँछु हौ। म फोन गर्छु, कहिले उठाउनुहुन्छ, कहिले उठाउनुहुन्न। म यहाँ कसैसँग झगडा गर्न आएको होइन, लफडा गर्न आएको होइन, अरूलाई गाली गर्न र तर्साउन आएको होइन। धरानको विकास र समृद्धिका निम्ति केही योगदान गरूँ भनेर आएको मान्छे हुँ। अब मिलाउनको निम्ति प्रयत्न त गरिन्छ, घरि घरि उहाँ के भन्नुहुन्छ, भन्नुहुन्छ। म त सुन्छु मात्रै हौ।
निर्वाचित भएको डेढ वर्षसम्म त तपाईंहरू खुब मिल्नुहुन्थ्यो नि! मेयर गीत गाउने, तपाईं छमछमी नाचेको भिडिओ पनि हामीले देखेका थियौं। के भयो र अहिले पटक्कै नमिल्ने अवस्था बन्यो?
उपप्रमुख र प्रमुख भनेको एउटा संवैधानिक जिम्मा हो। कानुनी जिम्मा हो। त्यो जिम्मा सधैं, सँगै रहेर संविधान, ऐन-कानुनले निर्दिष्ट गरेको सीमा र घेराभित्र रहेर जनताको सेवा गर्ने, समाजको सेवा गर्ने, राष्ट्रको सेवा गर्ने हो। अहिले पनि पदले झगडा गर्दैन, गरेको छैन। कहिलेकाहीँ मानवीय स्वभावले गर्दा त्यस्तो हुन्छ। बाहिर कुरा आउँदा झगडा भनेर आएको मात्रै हो। फेरि हरेकलाई संविधान, ऐन-कानुनले तिमीले यो गर्ने, तिमीले यसो गर्ने भनेर प्रस्ट तोकिदिएकै छ। सबैले सोहीअनुसार गर्ने हो। कहिलेकाहीँ स्वभावजन्य कुराले समस्या आउन खोज्छ।
अहिलेसम्मको सहकार्यमा मेयर हर्क साम्पाङको आनीबानी कस्तो लाग्यो?
मैले उहाँको बारेमा अहिले यही हो भनेर के भन्ने होला र! अब यो आमपब्लिकले देख्ने, बुझ्ने कुरा हुन्छ। मैले के गरिरहेको छु, मेयरसाबले के गरिराख्नुभाछ, उहाँले के बोलिराख्नुभाछ, मैले के बोलिरहेको छु आमपब्लिकले देखिरहनुभएको हुन्छ। उहाँहरूले मूल्यांकन गरिरहनुभएको हुन्छ। म कसैको पनि व्यक्तिगत कुरामा टिप्पणी गर्न चाहन्नँ।
तपाईंको नगरवासीसित भेट र अन्तर्क्रिया भइरहन्छ। उनीहरू मेयरबारे के भन्छन्?
जनताको कुरा मैले भन्न मिल्दैन। जनताको कुरा जनताले नै भन्नुहुन्छ। सबैको मत फरक होला। सबैको कुरा मेरो भावनासँग मिल्ने मात्रै नहुनसक्छ। मेरै शैली मन नपराउनेहरू पनि होलान्। पब्लिकको भावना के छ भन्ने कुरा चाहिँ जनतामाझ म्यान्डेट लिन जाँदा मात्रै थाहा हुन्छ। अहिले नै बोल्नु अन्याय हुन्छ। फेरि आमपब्लिकको भावनाको संश्लेषण म कसरी गरूँ! मैले त उपप्रमुखको हैसियतबाट मेयरसाबसँग गर्ने सहकार्य, छलफल, समन्वय र उहाँसँग गर्ने संवाद गरिरहेको छु। मेरो यस्तो प्रयास कहिले परिणामुखी भयो होला, कहिले भइरहेको छैन होला। तर मैले गर्ने काम जिम्मेवारीपूर्वक गरिरहेको छु।
तपाईंको नजरमा मेयर हर्क साम्पाङले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गरिरहनुभएको छ कि छैन?
त्यसको मूल्यांकन पनि मैले गर्ने होइन। त्यसको मूल्यांकन जनताले, नगरवासीले गर्ने हो। म यत्ति भन्छु, उहाँले सबै तह र तप्कालाई मिलाएर लैजानुपर्छ, लैजानुपर्थ्यो। पदीय मर्यादा ख्याल गर्दै सामाजिक व्यवहार, सार्वजनिक व्यवहार गर्नुपर्थ्यो, गर्नुपर्छ। हिजोअस्ति पत्रकार साथीहरूलाई पनि फेसबुकबाटै लेख्नुभएछ। यस्ता कुरा चाहिँ पदीय मर्यादाभित्र गरिदिए, जिम्मेवारीबोध गरेर पूरा गरिदिए हुन्थ्यो भन्ने लाग्छ। लाग्ने कुरा न हो मलाई। मलाई चाहिँ त्यस्तो लाग्छ। बाँकी कुरा त मेयरसाबले भन्नुहोला।
मेयर साम्पाङले भन्नुभएअनुसार धरानेले चाहेकै पिरो मेयर हो रे नि त?
त्यो उहाँलाई लाग्ने कुरा हो। धरानेलाई गुलियो चाहिएको हो कि पिरो चाहिएको हो कि, त्यो उहाँलाई लागेको हुनसक्छ। धराने जनताकै भावनाको प्रतिनिधित्व गरेर उहाँ जे भन्नुहुँदैछ, त्यसको निर्क्यौल जनताले गर्ने हो। मैले भन्ने चाहिँ गुलियो-पिरो भन्दा पनि धराने जनताको चाहनालाई सम्बोधन गर्ने, यहाँको समस्या समाधानका लागि प्रयत्न गर्ने, यहाँका समस्या व्यवस्थापन गर्ने मेयर-उपमेयर चाहेको होला जस्तो लाग्छ। पिरो-अमिलो चाहिँ मैले जानिनँ, यसको जबाफ मेयरसाबले राम्रोसँग गर्नुहुन्छ।
धरानका मेयरले कानुन पालना नगरेको गुनासो धेरै सुनिन्छ। उहाँ आफै पनि त्यस्तो नाथे कानुन भन्नुहुन्छ। उहाँ कानुनको वास्ता गर्नुहुन्न भन्ने तपाईंलाई लागेको छ कि छैन?
उहाँले बेला बेला स्ट्याटस लेख्नुभएको पनि देखेका छौं। उहाँ अभिव्यक्तिहरू पनि दिनुहुन्छ। यही कानुनले खडा गरेको पदमा बसेको मान्छेले कानुनको बर्खिलाप गर्न हुँदैनथ्यो। सम्मान गरेर कानुनबमोजिम आफूलाई हिँडाउने र कानुन कार्यान्वयन गराउन लाग्नुपर्थ्यो उहाँले भन्ने लाग्छ मलाई।
विगतमा तपाईंहरू मिल्नुहुन्थ्यो। त्यस बेला पनि मेयर र बहुसंख्यक वडाध्यक्षहरूबीच सधैं द्वन्द्वको अवस्था देखिन्थ्यो। अहिले त तपाईंसँग पनि उहाँको मिलाप देखिन्न। विगतमा तपाईंले यसरी पेलेर नजानुस्, मिलेर र मिलाएर लैजानुस् भन्नुभएन? त्यसो भन्दा उहाँ के भन्नुहुन्छ?
उहाँलाई मात्र होइन, नगर प्रमुख लगायत धरानका सबै जनप्रतिनिधिलाई मैले यो कुरा भन्दै आएको छु। हाम्रो उद्देश्य धरानको विकास र समृद्धि हो। त्यसका लागि नगरवासी र यहाँको स्रोतसाधन परिचालन गर्ने, विकास र समृद्धिका लागि तत्-तत् ठाउँमा समन्वय र सहकार्य गरेर अरू थप बजेट ल्याउने र अघि बढ्ने काम गर्नुपर्छ। एकअर्काबीच आरोप-प्रत्यारोप गर्न हुन्न भनेर मैले लगातार भन्दै आएको छु। एकले अर्कालाई सम्मान गरेर जानुपर्छ भन्दै आएको छु। मैले यो कुरा हिजो पनि भनेँ, आज पनि भनिरहेको छु। भोलि पनि र सधैं भनिरहने छु।
यहाँ निर्वाचित भएर हामी आइरहँदा जनताले हामीलाई झगडा गर्न पठाएको होइन। एकअर्कालाई गालीगलौजका लागि पठाएको होइन। एकअर्कालाई नंग्याउन, होच्याउन र खुइल्याउन भनेर पठाएको पनि होइन। लाठी हान, सत्ताको डन्डा बजारेर शासन गर भनेर पनि पठाएको होइन। त्यसैले आमनागरिकको भावनाको सम्मान गर्दै अघि बढ्नुपर्ने हो। म त सुझाव दिइरहेको हुन्छु। कथंकदाचित मैले केही गरेँ र मलाई त्यस्तो सुझाव आए म सहर्ष ग्रहण गर्छु। मैले सुझाव दिने हो, मान्नु-नमान्नु सम्बद्ध व्यक्ति वा पात्रको कुरामा भर पर्ने विषय भयो। यसबारे म के भन्न सक्छु र!
तपाईं र मेयरबीच असहमति चाहिँ कहिले, कुन विन्दुबाट सुरू भएको हो? मेयरले तपाईंलाई विषालु साँप भनेपछि हो?
म यसको पृष्ठभूमि बताउन चाहन्छु। नगर प्रमुखज्यू र मेराबीच केही व्यक्तिगत रिसइबी छैन। उहाँसँग संस्थागत रिसइबी र झगडा पनि केही छैन। मैले विगतमा उहाँले चलाएको श्रम अभियानमा खुला रूपमा सघाएकै हो। त्यसले कसैलाई हानि गर्दैनथ्यो। धरानको हित नै गर्थ्यो। त्यसैले सघाएकै हो। उहाँले भनेर म पाइप तान्न पनि गएकै हो। धरानको हितमा काम हुँदा मैले कुनै आग्रह नराखी उहाँलाई साथ दिएको हो। वृक्षरोपणमा लागेकै हो। भ्याएको र सकेको जति मैले उहाँलाई सम्मानपूर्वक व्यवहार र सहयोग गरेकै हो। उहाँका अभियानहरूमा सक्रिय उपस्थिति जनाएको हो।
बेला बेला स्वभावजन्य कुराले हुनसक्छ वा मलाई त्यस्तो लागेको हो, धरानमा नगर र दलहरूबीच झगडाको अवस्था बन्यो। राजनीतिक दलहरूले वडा कार्यालयहरू घेरा हाल्न थाले। दल र नगरबीच लफडा हुन आँटेको थियो। यसरी झगडा, द्वन्द्व गर्नुहुन्न भनेर मैले मेरो भावना फेसबुकमा सार्वजनिक गरेको थिएँ। त्यतिखेर उहाँले मैविरूद्ध स्ट्याटस लेख्नुभएछ, मान्छे मारेर आएकाले अर्ती दिने होइन भनेर। मैले त्यसलाई पनि वास्ता गरिनँ।
तर जब हाम्रो कार्यकालको १८ महिना पुग्नै लागेको थियो, एउटा युट्युब च्यानलले 'मनैदेखि विषालु मेयरविरोधी बेघा' भनेर मिडिओ बनाएको रहेछ। मेयरसाबले फेसबुकमा त्यो भिडिओ सेयर गर्नुभएपछि भने मैले तपाईंलाई कहाँ असहयोग गरेँ, कुन विषयमा असहयोग गरेँ भनेर चर्को रूपमा प्रश्न गरेकै हो। त्यही प्रश्न गरेयता उहाँले मसँग समन्वय र संवाद राम्रोसँग गर्नुभएको छैन।
बेला बेला उहाँलाई के लाग्छ कुन्नि, विदेश जाँदा पनि गैरकानुनी रूपले वडाध्यक्षलाई कार्यवाहक तोक्ने काम गर्नुभयो। मैले शुभयात्रा भनिनँ भनेर त्यसो गरेको भन्नुभएछ। के भनेको, भनेको। यसबारे उहाँले डिटेल बताउनुहोला।
मेयरलाई तपाईंले सार्वजनिक रूपमा गर्ने आह्वान वा आग्रह केही छ?
मेरो भन्नु यत्ति छ, हामीले झगडा गरेर, द्वन्द्व गरेर, अरूको अपमान गरेर, होच्याएर, आफ्नो बखान मात्रै गरेर, अर्कालाई पखालेर मात्र समाज बन्दैन। एकले अर्कालाई सम्मान गर्नुपर्छ। ऐन-कानुनबाट स्थापित मूल्य-मान्यताले जिताएको प्रमुख, उपप्रमुखले त्यो ऐन-कानुनको मूल्य-मान्यता स्थापित गर्नुपर्छ। त्यसभन्दा दायाँबायाँ गर्दा हामीमाथि पनि नैतिक प्रश्न उठ्छ।
हामी स्थानीय सरकार सञ्चालन ऐनअनुसार आएका हौं। त्यसैलाई कानुन मान्दिनँ भन्दा म कसरी उपप्रमुख हुनसक्छु? यस्तो कुरा ख्याल गर्नुपर्छ। उहाँले सबैसँग समन्वय गरेर आफ्नो योजना, भिजनसहित धरानलाई अघि बढाउन राम्रो हुन्छ। गालीले संसार बन्दैन भनेर उहाँ आफै भन्नुहुन्छ। आफूले पनि त्यो संस्कार पालना गर्नुपर्छ।
हर्क साम्पाङको आलोचना गर्नेहरूविरूद्ध सामाजिक सञ्जालमा गालीको वर्षा भएको देखिन्छ। यही त्रास कतिको छ? के यही त्रासले तपाईं पनि एकदमै तौलेर बोलिरहनुभएको हो?
फेसबुकमा तपाईंहरू हेर्नुहुन्छ, टिकटकमा सुनिनसक्नु गाली गर्नेहरू कति छन्? केही भद्र पनि छन्। तर अभद्र तरिकाले गाली गर्नेहरू धेरै हुन्छन्। खासमा नगर प्रमुखले गल्ती गरे पनि, मैले गल्ती गरे पनि सार्वजनिक रूपमा औंल्याउने काम हुनुपर्छ। सुझाव दिनु विरोधी हुनु होइन। तर यहाँ सुझाव दिनु पनि विरोधी हुनु हो जस्तो अवस्था छ। चुप लागेर बसेको व्यक्तिलाई जबर्जस्ती तानेर झगडिया हो भन्न मिल्दैन। झगडा गर्नेलाई झगडिया भन्नुपर्यो भन्ने मेरो आग्रह छ।
निर्वाचित भएको १८ महिनासम्म तपाईं मेयरको लाचार छाया बन्नुभयो, मेयरले दलहरूलाई अनेक आरोप लगाउँदा तपाईं पूरै मौन रहनुभयो अनि जब तपाईंमाथि नै मेयरले आक्रमण सुरू गर्नुभयो त्यस बेला तपाईंको साथबाट दलहरू पर पुगे। यसरी न तपाईं मेयरको, न दलहरूको बनेको भन्ने टिप्पणीबारे के भन्नुहुन्छ?
म मेयरसँग मिलेको पनि होइन, झगडा गरेको पनि होइन। उहाँले सही गरे समर्थन, गलत गरे सही सल्लाह सुझाव दिने मेरो दायित्व हो। हिजो पनि त्यही गरेँ, आज पनि र भोलि पनि त्यसै गर्छु। म कसैलाई निरपेक्ष ढंगले विरोधी करार गरेर लड्ने-भिड्ने मान्छे होइन। मेरो ट्रेन्ड त्यस्तो होइन। म धरानवासीको भावना जोडेर अघि बढ्नुपर्छ भन्नेमा प्रतिबद्ध छु। हर्क साम्पाङले सही काम गर्दा मैले समर्थन गर्नुपर्छ, गर्छु। तर गलत गरे सच्याउनुस् पनि भन्छु।
धरानमा सुरूदेखि अहिलेसम्म मेयर र अरू जनप्रतिनिधिबीच मेलमिलाप देखिन्न। कार्यपालिका बैठक चाहिँ भइरहेको छ?
कार्यपालिका बैठक भएको छैन। एक-डेढ महिना भयो भएको छैन।
जनप्रतिनिधिबीच आपसमा द्वन्द्व हुँदा बजेट परिचालन, योजना निर्माण र कार्यान्वयनमा असर कतिको पर्दो रहेछ?
हामीले सबैको सल्लाहमै बजेट बनाएको हो। लेखेबमोजिम कार्यान्वयन भइरहेको छ। तर अब संघीय बजेट, प्रदेश बजेटमा पहुँच पुर्याउन र धरानमा ल्याउने सवालमा योजनाबद्ध र एकताबद्ध भएर काम गर्न चाहिँ सकिएको छैन।
मेयरले त करोडौंको स्रोत धरानमा ल्याएँ भन्नुहुन्छ नि?
खानेपानीको स्रोत थप्ने, वृक्षरोपण गर्ने, श्रमअभियान चलाउने कामलाई मैले विरोध गरेको छैन नि। तर संघ र प्रदेशमा जाने, लबिङ गर्ने काम भनेजसरी गर्न सकिएको छैन भनेको हो।
यो के जनप्रतिनिधिबीच मेलमिलाप नहुँदाको असर हो?
घरमा बेमेल हुँदा अलिअलि समस्या त परिहाल्छ नि।