भारतमा प्रमुख विपक्षी दलका नेता राहुल गान्धी र उनकी बहिनी प्रियंका गान्धीले उद्योगपति गौतम अदानीविरूद्ध प्रदर्शन गरेका छन्।
बिहीबार संसद भवन बाहिर कंग्रेस आईका अरू सांसदहरूसहित राहुल र प्रियंकाले अदानीविरूद्ध प्रदर्शन गरेका हुन्।
उनीहरूले अदानी प्रकरणमा खुलेका विषयहरूमाथि छानबिन गर्नका लागि संसदीय समिति बनाउन माग गरेका छन्। संसद भवनबाहिर उनीहरूले भारतको संविधान बोकेर प्रदर्शन गरेका थिए।
प्रदर्शनमा सहभागी भएका अरू सांसदहरूले 'मोदी-अदानी भाइ भाइ' भन्दै नारा लगाएका थिए।
अदानी प्रधानमन्त्री नरेन्द्र मोदीका निकट मानिन्छन्। उनीमाथि अमेरिकामा घुसखोरीको अभियोग छ। अमेरिकाको धितोपत्र आयोग र न्यायाधिवक्ताको कार्यालयले सौर्य ऊर्जाको ठेक्का पाउनका लागि भारतका सरकारी अधिकारीलाई अदानीले २५ करोड डलरभन्दा धेरै घुस खुवाउने प्रस्ताव गरेको अभियोग लगाएको थियो।
राहुल र प्रियंकासहित कंग्रेस आईका सांसदहरूले प्रधानमन्त्री मोदीले यसविषयमा जवाफ दिनुपर्ने माग राखेका छन्। यसको जबाफ प्रधानमन्त्रीले संसदबाटै दिनुपर्ने पनि उनीहरूको माग छ।
राहुल गान्धीले अदानीले भारत सरकार चलाइरहेको आरोप लगाउँदै आएका छन्। अमेरिकाले अभियोग लगाएपछि गान्धीले अदानीलाई तुरून्तै गिरफ्तार गर्नुपर्ने माग गरेका थिए।
अमेरिकी बजारसँग सम्बन्ध भए अमेरिकी कानुनले उसलाई विदेशका भ्रष्टाचार मामलाको पनि छानबिन गर्ने अधिकार दिन्छ। अदानीले घुस खुवाएर ठेक्का जितेर अमेरिकी लगानी भित्र्याउन खोजेको भन्दै अमेरिकाले उनीमाथि भ्रष्टाचारको मुद्दा लगाएको हो।
भ्रष्टाचारको मुद्दा लगाएपछि अदानीको सम्पत्ति अरबौं डलरले घटेको छ।
भर्खरै अमेरिकाको राष्ट्रपति निर्वाचित भएका डोनाल्ड ट्रम्पको सरकारले के गर्छ भन्ने कुराले यो मुद्दा कसरी अगाडि बढ्छ भन्ने निर्धारण गर्ने भए पनि अदानीको अन्तर्राष्ट्रिय महत्वकांक्षामा भने यसले असर गर्ने मानिन्छ।
भिडिओः