धरानका मेयर हर्क साम्पाङले बिहीबार पत्रकार सम्मेलन डाकेर लगभग आधा घन्टा पत्रकारहरूविरूद्ध आक्रोश पोखे। पत्रकारहरूले 'खानै नपाएर' आफूविरूद्ध लाञ्छना लगाएको आरोप पनि लगाए।
धेरै बेर आफू बोलेका र केही प्रश्न पनि लिएका मेयर साम्पाङले आफू विश्वकै लागि उदाहरण बनिरहेको दाबी गर्दै अपशब्द प्रयोग गरेर पत्रकारहरूलाई गाली गरेका थिए।
पत्रकार सम्मेलनमा व्यक्त उनको आक्रोशमा प्रवेश गर्नुअघि यो कार्यक्रम कसरी डाकिएको थियो, सुरूमा त्यसबारे चर्चा गरौं।
सामाजिक सञ्जाल फेसबुकमा सक्रिय रहने मेयर साम्पाङले बुधबार दिउँसो केही बेरको अन्तरमा दुईवटा स्ट्याटस लेखेका थिए।
पहिलो स्ट्याटस थियो —
'खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल या कोही प्रतिनिधि भोलि १० बजे तुरून्तै धरान-१८ को ग्रिन टीमा हाजिर हुनू। अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन! बुझिस् चोर-फटाहा!'
त्यसको केही बेरपछि उनले अर्को स्ट्याटस लेखे —
'भोलिको १० बजेको पत्रकार भेटमा मलाई आरोप लाउने त्यो खोज पत्रकारिता गर्ने पत्रकार पनि आउनुहोला! नत्र तँ मूलाको यस्तो बेइज्जत गर्छु कि शिर ठाडो पारेर हिँड्न सक्दैनस् नेपालमा! जनकऋषि भन्ने पनि आउनू! निक्कै फुरफुर गरिस् तिमेरूले, ऐना हेर्दा थुक्ने बनाइनछु भने मेरो नाम हर्क साम्पाङ होइन!'
धरानलाई आधार बनाएर लामो समयदेखि पत्रकारितामा सक्रिय गोपाल दाहाल र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईविरूद्ध मेयर साम्पाङले धम्कीपूर्ण स्ट्याटस लेख्नुको कारण थियो, उनका बारेमा लेखिएको समाचार।
मंसिर १४ गते शुक्रबार 'हिमालखबर' अनलाइनमा पत्रकार गोपाल दाहालको 'हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान' शीर्षकको स्टोरी छापिएको थियो। खोज पत्रकारिता केन्द्रको सहयोगमा तयार पारिएको स्टोरीमा साम्पाङले गरिरहेको मनमौजी शासनको व्याख्या गरिएको छ। लामो न्यूज-स्टोरीमा हर्कको धरान उपमहानगर चलाउने शैली र आर्थिक पारदर्शितादेखि उनले लहडमा अनावश्यक योजनाहरू बुनेको र राज्यकोषको रकम दुरूपयोग गरेको उल्लेख छ।
पत्रकार दाहालले डेढ दशकअघि नक्कली माओवादी प्रकरणमा हर्क मुछिएको विषय उधिन्दै त्यसलाई पनि सार्वजनिक गरेका छन्। उनले लेखेका छन्, 'साम्पाङलाई इमानदार ठान्दै देश-विदेशबाट करोडौं रूपैयाँ चन्दा आएको छ। तर आर्थिक रूपमा उनको विगत स्वच्छ छैन। त्यसबारे जान्न डेढ दशकअघिको घटना बुझ्नुपर्छ।'
दाहाल अगाडि लेख्छन्, '२०६२ सालतिर धरानमा माओवादीका नाममा चन्दा उठाउने गिरोह सक्रिय थियो। शान्ति प्रक्रियापछि पनि नक्कली माओवादीको चन्दा आतंक रोकिएन। माओवादीका नाममा चन्दा माग्ने, लुट्ने र लागुऔषध सेवन गर्नेलाई कारबाही गर्न त्यस बेला माओवादीको युवा दस्ता वाइसिएलले धरानमा अभियान नै सञ्चालन गरेको थियो। त्यही क्रममा माओवादीका तत्कालीन इन्चार्ज प्रवेश राईलाई नक्कली माओवादीले चन्दा मागेको खबर आयो। प्रवेशकै योजनाअनुसार चन्दा माग्नेलाई पैसा लिन धरानको वाणिज्य बैंकअगाडि बोलाइयो। पहेँलो र सेतो रङको करिज्मा मोटरसाइकल चढेर पैसा उठाउन आउने उनै हर्क साम्पाङ थिए, जो अहिले धरानका मेयर छन्।'
पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईविरूद्ध खनिनुको कारण भने उनले यही स्टोरी फेसबुकमा सेयर गरेकाले हो।
यी दुई पत्रकारलाई सार्वजनिक धम्की दिँदै बिहीबार डाकेको पत्रकार सम्मेनलमा मेयर साम्पाङले के भने त?
'मैले यहाँहरूलाई सर्ट नोटिसमा बोलाएँ। आइदिनुभयो। कुरा चाइने सिधासिधी जानुपर्छ,' उनले भने, 'म श्रमदानतिर गइरहँदा कहिले हो एउटा खोज पत्रकारिता केन्द्र भन्नेले एउटा आर्टिकल निकालेछ। धरान उपमहानगरको प्रमुख, मेरो विषयमा खोज गरेछ। म चाहिँ काममै धेरै फोकस हुन्छु। त्यस्ता न्यूजहरू हेर्दिन। सामान्य रूपमा हेर्छु, पढ्दिनँ। धेरै गम्भीर हुन्नँ। आरोप के लगाएको रहेछ भने नक्कली माओवादी बनेर चन्दा उठायो अनि कारबाही गरेको भनेर भनेको रहेछ।'
यसबारे आफूले पहिले पनि फेसबुकमा लेखेको भन्दै साम्पाङले कार्यक्रममा पत्रकार दाहाल र जनकऋषि आएका छन् कि छैनन् भनेर खोजेका थिए।
'यहाँ खोज पत्रकारिताबाट कोही प्रतिनिधि, के दाहाल अरे, आको छ?' उनले सोधे, 'जनकऋषि भन्ने मान्छे आको छ? उसको कोही प्रतिनिधि आको छ? उसले पनि सेयर गरेर हाल्दैथ्यो।'
दुवै जना कार्यक्रममा नभएको थाहा पाएपछि साम्पाङले भने, 'कुनै पनि कुरा उठान गरेपछि जबाफदेही हुनुपर्छ। लिड गर्न सक्नुपर्छ। गाडी हाँक्दा हाँकेर मात्र हुँदैन, कन्ट्रोल गर्नुपर्छ। यस्तो कोही कसैले पत्रकारिता नगर्नुहोला।'
यति भनेर उनले आफूमाथि लागेको नक्कली माओवादीको आरोपबारे बोल्न थाले।
पत्रकार दाहालले २०६२ सालतिर भनेर उल्लेख गरेको विषयलाई साम्पाङले २०६४ को संविधानसभा चुनावपछिको घटना भएको दाबी गरे। उनका अनुसार त्यस बेला उनी 'पर्फेक्ट ल्याङ्ग्वेज एन्ड कम्प्युटर सेन्टरको प्रबन्ध-निर्देशक थिए। साथीहरूले सधैं आफ्नो बाइक लैजाने गरेकाले माओवादीहरू झुक्किएर आफूमाथि दुर्व्यवहार गरेको उनले बताए।
'म पुतलीलाइनमा सेन्टर खोलेर सञ्चालन गरिरहेको थिएँ। सबैको साथी हुन्छ। म खोटाङमा जन्मेँ, एसएलसी त्यहीँ गरेको। धरान-१७ को सम्पूर्ण राई नजिकको साथी थियो। उसैले मलाई इन्द्र राईसँग चिनजान गराएको हो,' साम्पाङले भने, 'म आइसोलेट भएर हिँड्ने मान्छे होइन। सबैसँग मित्रवत् व्यवहार गर्छु। साथीभाइ जसलाई पनि आत्मीयतापूर्क स्विकार्ने गर्छु। उहाँसँग भेट भयो। मेरो बाइक उहाँहरूले लिएर जानुहुन्थ्यो। बेलुका मात्रै ल्याउनुहुन्थ्यो।'
'यसरी बिहान गएको बाइक बेलुका मात्रै आउन थाल्यो। एकदिन सोल्टी बाइक दिनू भन्दै आए। ल्याइदिहाल्छु सोल्टी भन्दै आए। मैले बरू मै पुर्याइदिन्छु भन्दै गएँ। पुर्याउन जाँदा मलाई माओवादीहरूले दुर्व्यवहार गरे। मेरो फुल हेलमेट थियो। त्यो खोलेपछि अरे, तपाईं सम्पूर्ण होइन भनेर सोधे। मैले होइन भनेपछि उनीहरूले मसँग माफी मागे,' साम्पाङले भने।
आफूलाई नचिनेर मात्र माओवादीले दुर्व्यवहार गरेको भन्दै हर्कले थपे, 'मेरो छेमा पर्नेकी छोरी (लक्ष्मी राई, जो माओवादी नै थिइन्) सँग इन्द्रको लेनदेन थियो क्यारे। त्यो बहिनीले पनि मसँग माफी मागेको अवस्था छ। मलाई जुन दुर्व्यवहार भयो, त्यसका लागि वाइसिएलले माफी पनि मागेको छ।'
आफूले चन्दा उठाएको अस्वीकार गर्दै उनले भने, 'मैले किन चन्दा उठाउनु? दुई-तीन सय स्टुडेन्ट थिए मेरा। खानै नपाएकाको परिवारबाट आएको मान्छे होइन म। लाहुरे परिवारको मान्छे हुँ। मैले चाहेँ भने जुनसुकै बेला देश छाडेर जानसक्छु। त्यसको (चन्दा उठाउनुपर्ने) कुनै आवश्यकता थिएन।'
यति भनिसकेपछि उनले आफ्नो प्रशंसा आफै गरे, 'म धरानलाई अग्रगति दिने मान्छे, सारा विश्वलाई पोजिटिभ मेसेज दिएर काम गर्न सक्ने। पार्टी जुनसुकै होस्, देश ठूलो हो नि!'
त्यसपछि उनी पत्रकारहरूप्रति खनिए, 'मलाई आरोप लगाउनेहरूको सम्पत्तिको स्रोत के हो? खुलाउन चुनौती दिन चाहन्छु। कस्तो जग्गामा बसेको छ? कसरी घर बनायो? कसरी भात खाइरहेको छ? प्रश्न गर्न चाहन्छु। म त देश बनाउन दुःख गरिरहेको छु।'
धरानमा बेथिति बढेको भन्ने विषयमा झनै आक्रोशित सुनिए उनी।
'धरानमा बेथिति बढ्यो। केको बेथिति बढ्यो? जनतालाई काम गर्नुपर्छ भनिरहेको छु। कुनै ठेकेदारसँग सेटिङ मिलाउनु थिति हो? यो भन्न सक्ने मान्छे, यस्तो निष्ठाका साथ काम गर्ने मान्छेले चन्दा उठाउँछ? भोग-विलासतिर लाग्थेँ भने यस्तो हुन्थ्यो मेरो शैली?'
उनी यतिमै रोकिएनन्।
'म देशलाई ऋणमुक्त गर्ने व्यक्ति हो। मेरैविरूद्ध लेखेर पत्रकारले आफै पतित हुने काम गरेको छ,' उनले भने, 'नदीनाला बेचिएको, असमान सन्धि-सम्झौताबारे किन खोजी गर्दैन? खोज पत्रकारिता किन गर्दैन? हर्क साम्पाङले गरेको विकास देखेन तेल्ले? फटाहा, चोर, गधा? देख्यो कि देखेन तेल्ले?'
'कहाँ मच्चायो बेथिति? एक रूपैयाँ कमिसन खायो?' अदालतसित पनि रिसाएको छनक दिँदै साम्पाङले भने, 'मैले कर्मचारी सबैलाई अनुशासित राखेर काम गरेको छु। अदालत र प्रहरीले साथ दिने हो भने एक दिनमा यी फटाहाहरूलाई तह लगाउँछु।'
मेयर साम्पाङले पत्रकारहरूलाई पेसागत दायित्व सम्झाउन पनि पछि परेनन्।
'पत्रकारहरू समाजका आँखा हुन्। जस्तो छ, त्यस्तै लेख्नुपर्छ। खाली नहुने नहुने कुरा गरेर हुँदैन,' उनले भने, 'मलाई खसाउन खोज्ने धेरै छन्। मलाई खसाउँदा केही हुन्न। यो देश खस्यो भने के हुन्छ? हर्कले गरेको काम देशको हितमा छ कि छैन? त्यो हेर्नुपर्दैन?'
आफ्नै कारणले देशमा स्वतन्त्र उम्मेदवार, विकास र श्रमदानको लहर चलेको दाबी गर्दै उनले भने, 'देशमा आएको लहरको कारण मै हुँ।'
उनले पत्रकारको घर कसरी चलिरहेको छ, उनीहरूको आर्थिक जीवन के हो, के गर्दैछन्, भात कसरी खाँदै होलान् भन्नेबारे खोज पत्रकारिता गर्नुपर्ने बताए।
'म त सम्पत्ति छानबिन गरौं, मेरैबाट सुरू गरोस् भनिरहेको छु,' उनले भने, 'कसैको साहस छ? पहिले मेरै गोजी छामुम्, अनि अरूको पनि छामौं भनेको हुँ। दलीय सेटिङमा चल्ने पत्रकारको काम छैन। मेरो लोकप्रियता घटाउने ध्येयमा लाग्दा सन्तानले तिमीहरूलाई धिक्कार्छ। छोराछोरीको अघि इज्जत जान्छ। हेर फटाहा भन्छ। गाली खाने काम नगर्नू।'
उनले फेरि पत्रकारहरूलाई सोधे, 'मेरो विरोधमा लेख्ने पत्रकारले बिना बजेटको विकास यसरी गरेको छ? त्यस्तो गरेको छ? गर्नसक्छ? खातेपाते पत्रकारहरूले गर्न सक्छ? कोकाहलबाट पानी ल्याएर देखाओस्। आफूलाई कसैले पत्याउँदैन, अनि अरूको जूठो खाएर बाँचेकाहरू मेरो विरोधमा लेख्छ।'
यति भनिसकेपछि उनले भने, 'आज शैली अलि कडा भयो। विषय नै त्यस्तो थियो।'
पत्रकारहरूले उनलाई सोधे, 'त्यस बेला चन्दा उठाउने नक्कली माओवादी को थियो?'
जबाफमा उनले भने, 'यो देशमा सक्कली माओवादी छ? सबै नक्कली माओवादी हुन्। माओको सिद्धान्तअनुसार छ र? (पत्रकारले) खानु नपाएर गरेको हो।'
समाचारमा चित्त नबुझे कानुनी उपचारमा जान भन्दै पत्रकारले सोधेको प्रश्नमा हर्कले भने, 'यही मेरो कानुनी उपचार हो।'
उनले अदालतप्रति आफ्नो भर नभएको बताउँदै भने, 'कानुनको ठेली पक्रिने चाहिँ स्वतन्त्रको पक्षमा छ? मैले अघि भनेँ नि, अदालत र पुलिसले साथ दिए एकै दिनमा ठिक लाइदिन्छु चोर, फटाहा, गधाहरूलाई।'
साम्पाङलाई पत्रकारले मेयरको शैली केही परिवर्तन गर्नुपर्ने समर्थकहरूको सुझाव छ नि भन्ने विषय राखेका थिए। त्यसमा जबाफ दिएका मेयर साम्पाङले भने, 'म त अझै धारिलो बन्ने हो, जनतालाई यस्तै मनपर्छ।'
उनले अझै थपे, 'मिठो बोलेर भ्रष्टाचार गरिदिऊँ त? खाइदिऊँ कमिसन?'
मेयर साम्पाङले धराने जनताले पिरो मेयर चुनेको पनि बताए।
'धराने जनताले चुनेकै पिरो मेयर हो। तीतो, टर्रो र पिरो थियो; त्यसमा पिरो छान्यो, मुख पोलिरहेको छ,' साम्पाङले भने, 'के गर्ने, मन पराउँदैनन् भने ठिक छ। के गर्नु त मैले, जबर्जस्ती गर्दिनँ।'
उनले आफूले बेथिति नमच्चाएको दाबीसमेत गरेका थिए।
बेलायत भ्रमणमा जाँदा उपमेयरलाई कार्यवाहक नदिई वडाध्यक्षलाई दिएको विषयबारे पनि साम्पाङलाई प्रश्न गरिएको थियो। साम्पाङले २०८१ कात्तिक १ गते बेलायत जाने क्रममा उपमेयरलाई कार्यवाहक नदिई वडाध्यक्षलाई दिएका थिए।
'कसलाई दिनुपर्थ्यो कार्यवाहक? उपमेयरले शुभयात्रा भन्यो? शुभयात्रासम्म नभन्ने उपमेयरलाई कार्यवाहक दिन्छु त म? शुभयात्रा भन्नुपर्दैन?' उनले प्रश्न गरे, 'ऐनले भन्यो भनेर हुन्छ? त्यस्तो ऐन त हामी बनाउँछौं, निर्वाचित मान्छे हौं।'
मेयरको अनुपस्थितिमा उपमेयरलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्था छ। मेयर साम्पाङले उपमेयर अइन्द्रबिक्रम बेघालाई कार्यवाहक नदिएर नाता पर्ने वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्रकुमार फागुलाई कार्यवाहकको जिम्मेवारी दिएपछि विवाद भएको थियो।
हामीले साम्पाङले लगातार निशाना साँधिरहेका पत्रकार गोपाल दाहालसँग पनि सम्पर्क गरेका छौं।
'आजको पत्रकार सम्मेलनमा जानुभयो?' सेतोपाटीको यो प्रश्नमा दाहालले भने, 'म गइनँ।'
यसअघि हर्कबारे लेख्ने, बोल्ने पत्रकारहरूमाथि अस्पतालमै उनका समर्थकले आक्रमण गरेका थिए। आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएपछि हर्क आफै सडकमा ओर्लेर प्रदर्शन गर्दै आक्रमणकारी छुटाउनुपर्ने बताउँथे।
'विगतमा उनको र समर्थकको व्यवहार हेर्दा पनि त्यहाँ जान उचित लागेन,' दाहालले भने, 'मैले महासंघ र प्रहरीसँग सुरक्षा माग गरेको छु।'