धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बिहीबार धरानमा पत्रकार सम्मेलन राखे।
खोज पत्रकारिता केन्द्रले हालसालै प्रकाशित गरेको 'हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान' मा समेटिएका विषयबारे जबाफ दिन उनले पत्रकार सम्मेलन राखेका थिए।
साम्पाङलाई पत्रकारले मेयरको शैली केही परिवर्तन गर्नुपर्ने समर्थकहरूको सुझाव छ नि भन्ने विषय राखेका थिए। त्यसमा जबाफ दिएका मेयर साम्पाङले भने, ‘म त अझै धारिलो बन्ने हो, जनतालाई यस्तै मनपर्छ।’
उनले अझै थपे, ‘मीठो बोलेर भ्रष्टाचार गरिदिऊँ त? खाइदिऊँ कमिसन?’
मेयर साम्पाङले धराने जनताले पिरो मेयर चुनेको पनि बताए।
‘धराने जनताले चुनेकै पिरो मेयर हो। तीतो, टर्रो र पिरो थियो त्यसमा पिरो छान्यो मुख पोलिरहेको छ,’ साम्पाङले भने, ‘के गर्ने, मन पराउँदैनन् भने ठिक छ के गर्नु त मैले, जबरजस्ती गर्दिनँ।’
उनले आफूले बेथिती नमच्चाएको दाबीसमेत गरेका थिए।
बेलायत भ्रमणमा जाँदा उपमेयरलाई कार्यवाहक नदिई वडाध्यक्षलाई दिएको विषयबारे पनि साम्पाङलाई प्रश्न गरेका थिए। साम्पाङले २०८१ कात्तिक १ गते बेलायत जाने क्रममा उपमेयरलाई कार्यवाहक नदिई वडाध्यक्षलाई दिएका थिए।
‘कसलाई दिनुपर्थ्यो कार्यवाहक? उपमेयरले शुभयात्रा भन्यो? शुभयात्रासम्म नभन्ने उपमेयरलाई कार्यवाहक दिन्छु त म? शुभयात्रा भन्नुपर्दैन?,’ उनले प्रश्न गरे, ‘ऐनले भन्यो भनेर हुन्छ त्यस्तो ऐन त हामी बनाउँछौं, निर्वाचित मान्छे हौं।’
मेयरको अनुपस्थितिमा उपमेयरलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्था छ। मेयर साम्पाङले उपमेयर अईन्द्रबिक्रम बेघालाई कार्यवाहक नदिएर नाता पर्ने वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्रकुमार फागुलाई कार्यवाहकको जिम्मेवारी दिएपछि विवाद भएको थियो।
यो पनि:
धरान र चितवनमा पत्रकारहरूमाथि धम्की र कुटपिट, महासंघको भर्त्सना
मेयर साम्पाङले उपमेयर हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक दिएपछि विवाद