फ्रान्सका प्रधानमन्त्री मिशेल बर्नियेरविरूद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव पारित भएको छ।
बुधबार फ्रान्सको संसदले प्रधानमन्त्री बर्नियेरविरूद्धको अविश्वास प्रस्तावलाई भारी मतले पारित गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अविश्वास प्रस्ताव पारित गर्न २८८ भोट आवश्यक रहेकोमा ३३१ जनाले पक्षमा मतदान गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।
अविश्वास प्रस्ताव पारित भएसँगै प्रधानमन्त्री बर्नियेरले बिहीबार राजीनामा दिनसक्ने बताइएको छ।
फ्रान्समा सन् १९६२ पछि पहिलोपटक अविश्वास प्रस्तावबाट प्रधानमन्त्री हटाइएको हो। फ्रान्समा उनी सबैभन्दा कम समय प्रधानमन्त्री बन्ने व्यक्ति बनेका छन्।
गत जुलाईमा सम्पन्न आम निर्वाचनबाट फ्रान्समा कुनैपनि दलले बहुमत नल्याएपछि राष्ट्रपति म्याक्रोले तीन महिनाअघि मात्रै बर्नियेरलाई प्रधानमन्त्री बनाएका थिए।
बर्नियेरले संसदमा मतदान नगरी विशेष अधिकार प्रयोग गरेर बजेट पास गरेपछि दक्षिणपन्थी र वामपन्थी पार्टीका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेका थिए।